काठमाडौं। नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारीकरण र भारतमा कार्यालय खोल्नेलगायतका लक्ष्यसहित आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ।
बोर्डको कार्यकारी समितिको असार ३१ को बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमिति संयोजक ऋषिराम भण्डारीले बताए।
बोर्डले अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको संयोजक भण्डारीको भनाइ छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बजेट समयमै पारित गर्न सफल भएको उल्लेख गरे।
पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जन बढाउने गरी रोजगारी अवसर सिर्जना गर्न बजेट केन्द्रित भएको बताए।
चालू आर्थिक वर्षमा पर्यटकबाट हुने समग्र आय कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने, ५० वटा स्रोत बजारमा प्रवर्द्र्धनात्मक कार्यक्रम गर्ने, पर्यटन व्यवसायका लागि आवश्यक थप ५ हजार जनशक्ति उत्पादन गर्ने, २५ वटा नयाँ पर्यटन पूर्वाधार संरक्षण गर्न बोर्डको लक्ष्य छ।
बोर्डको सेवा विस्तारका लागि कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने र भारतमा कार्यालय खोलिने भएको छ। भारत नेपालको प्रमुख पर्यटक स्रोत बजार हो, जहाँबाट सन् २०२४ मा मात्र ४ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए। भारतीय बजारलाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न, दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
यस्तै, बैठकले प्रादेशिक कार्यालय स्थापना गर्न ११ करोड ६६ लाख र पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनका लागि ४३ करोड ६१ लाख विनियोजन गरेको छ।
अमेरिका, चीन, जापान, कोरिया, अस्ष्ट्रेलिया, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड र युरोपका विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ।