काठमाडौं। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बढाएको सेयर धितो कर्जाको एकल ग्राहक सीमा र बैंकहरूको ब्याजदर घटेसँगै हाम फाल्न थालेको सेयर बजार यो साता रेकर्ड ब्रेक नजिक पुग्यो।
राष्ट्र बैंकले सेयर धितो कर्जाको एकल ग्राहक सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याएसँगै आर्थिक वर्ष २०८२/८३ सुरु भएको साउन पहिलो दिन १ गते नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखियो। बिहीबार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७० बिन्दुमा पुगेको छ। नेप्सेमा भएको यो वृद्धि गत फागुन १९ यताकै उच्च हो। फागुन १९ मा नेप्से २८७६ बिन्दुमा थियो।
गत बिहीबार कारोबार रकम पनि करिब एक वर्षयताकै उच्च भएको छ। बिहीबार बजारमा १६ अर्ब ५९ करोड रुपैया“को कारोबार भएको थियो। यसअघि २०८१ भदौ ११ मा १८ अर्ब ६४ करोडको कारोबार भएको थियो।
नेप्से परिसूचक उकालो लाग्नासाथ सर्वसाधारण र सेयर बजारका खेलाडी हौसिन थालिहाल्छन्। जाने–बुझेकाले सेयर बजार कारोबारलाई ‘वाच’ गर्छन् भने सूचक हरियाली हुनासाथ सर्वसाधारणमा भने एक किसिमको अन्योल हुन सक्छ। अतः सेयर खरिद गर्दा गल्ती गर्नुहुन्न भन्ने सामान्य जानकारी हुनैपर्छ।
ट्रेडिङ मिस्टेक कहाँबाट कसरी हुन्छ ? आफ्नै स्वभाव र कार्यले गल्ती हुने हो कि? नोक्सानी सहनुपर्ने हो कि? सेयर बजार लगानीकर्ताले बारम्बार यस्ता समस्या झेल्नुपर्छ। बजार आफूले सोचेअनुरूप जाँदैन। बिहान बढेको बजार बेलुका घट्न सक्छ। बेलुका घटेर बन्द भएको बजार भोलिपल्ट बढ्न सक्छ ।
बजारको स्वभाव नै यस्तो हुन्छ । मूल्य बढेको घट्नका लागि हो, मूल्य घटेको बढ्नका लागि हो भन्ने बुझ्नुपर्ने हो। तर, बजार बढेका बेला बढिरहन्छ जस्तो लाग्छ। घटेका बेला झन् घट्छ भन्ने सोच्छ ट्रेडरले। विगतका ट्रेन्ड विगत नै हो । कहिले त्यो निरन्तर हुन्छ, कहिले विपरीत। यसैले सबै ट्रेड सफल हुन सक्दैनन् । बजार जहिले पनि उसको नियमअनुरूप नै चल्छ। बिग्रने त ट्रेडरको अहंकारले हो।
मूल्य बढ्छ भनेर किनेको घट्न थाल्यो भनेपछि त्यसबाट निस्किने सके घाटा कम हुन्छ। मूल्य घट्छ भनेर घट्नेतिर किनेको मूल्य बढ्न थालेपछि बिक्री गरेर निस्किए नोक्सानी कम हुन्छ। आइसकेको नाफा बुक गरे नाफालाई नगदमा रुपान्तरण गर्न सकिन्छ। यसो नगरी मैले किन्ने निर्णय गरेको नै ठीक छ। बढ्छ भनेर बस्दा नोक्सानीमा परिन्छ। मैले बेच्ने निर्णय गरेकै ठीक छ। मूल्य घट्छ भनेर बस्दा घाटा हुन्छ।
बजारले पटक–पटक नाफा बुक गर्ने र घाटा कम गर्ने अवसर दिन सक्छ। त्यतिबेला पेलेर आफूले चाहेअनुरूप नै हुन्छ भनेर बस्नु एक किसिमको अहंकारै हो। यो अंहकारले नोक्सानी र पीडा दिन्छ। यस्तो अंहकारले सानो नोक्सानीलाई ठूलो घाटामा परिणत गरिदिन्छ। भइसकेको नाफा नोक्सानीमा परिणत हुन सक्छ। यसो गर्दा आफ्नो निर्णयमा अडिग भएर क्षणिक सन्तुष्टि त मिल्छ तर यसले नोक्सानीको पीडा दिएर जान्छ । यसकारण अहंकारलाई नत्यागेसम्म गल्ती भइरहन्छन्।
बजारको गति हेर्नुभन्दा आफूले सोचेकै ठिक छ भनेर बस्दा मिस्टेक हुने हो। बजारमा मूल्य जता गइरहेको छ, त्यहीअनुरूपको ट्रेड गर्नुको सट्टा आफ्नो सोचाइअनुरूप दिन, साता र महिना बिताउँदा घाटा बेहोर्नुपर्ने हुन्छ। बजार नै गलत छ भन्ने सोचले नोक्सानी दिने हो। बजारअनुरूप चलेर नै गल्ती कम गर्ने हो। ‘ट्रेन्ड इज फ्रेन्ड’ भनरे त्यत्तिकै भनिएको होइन।
बजार जता पनि जान सक्ने हुँदा त्यहीअनुरूप चल्ने ट्रेडर नाफा निकाल्न सफल हुने हो। बजारको गति विपरीत चल्नु भनेको गल्ती गर्नु हो र नोक्सानीमा पर्नु हो। विवेक प्रयोग गर्ने ट्रेडरले विगत अनुभवलाई प्रयोग गर्छन्, बजारको गतिलाई पछ्याउँछन्, कमाउँछन्।
कुनै योजना नबनाई ट्रेडिङ गर्नेले गल्ती गर्छ । प्रवेश चाँडो गर्नु र ढिला निस्कनुले पनि गल्ती बढाउँछ। ढिलो प्रवेश पनि नोक्सानीको कारण बन्छ। ट्रेडिङका बेलामा अन्यत्र ध्यान केन्द्रित हुँदा पनि गल्ती हुन्छ।
एकपटक नोक्सान भएपछि त्यसलाई उठाउँछु भनेर गरिने जबर्जस्तीको ट्रेडिङले पनि झन् तनाव थप्छ । घटिरहेको सेयरलाई अब बढ्छ भन्ने सोचेर कारोबार गर्नु पनि घाटा बढाउनु हो।
जबसम्म घटिरहेको सेयर बढ्ने बाटोमा अग्रसर हुँदैन र सपोर्ट तहमा पुग्दैन, तबसम्म त्यसलाई बढ्छ भन्ने सोच्नु नै गलत हो। बजारसँग बदला लिन खोज्ने पनि नोक्सानीमा पर्छन्। बजारले जता लैजान्छ, त्यतै दौडन सक्नेले नै गल्ती कम गर्ने हो।
अतः ट्रेडिङका लागि सही मानसिकता, धैर्य राख्न सक्नुपर्छ, किनभने बजारमा अल्पकालीन उतारचढाव स्वाभाविक हुने गर्छ। भावनात्मक निर्णय लिनहुन्न। सबै पक्षमा बुझेर मात्र सेयर बजारमा हाम फाल्दा आफ्नो लगानीलाई सुरक्षित र दिगो बनाउन सकिन्छ।