काठमाडौं। नेपालको सवारी साधन बजारमा पछिल्लो समय दुई पांग्रे बाइक र स्कुटरको माग तीव्र रूपमा बढ्दै गएको छ। तर, यसबीच विद्युतीय सवारी (ईभी)को वृद्धि दर इन्धन सवारीभन्दा धेरै तीव्र भएको देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विद्युतीय बाइक र स्कुटरको बिक्री ६६ प्रतिशतले बढ्दा इन्धन दुई पांग्रे भने १६ प्रतिशतले बढेको छ। भन्सार विभागको यो वृद्धिदरले उपभोक्ताको ध्यान विद्युतीयतर्फ मोडिँदै गएको संकेत गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनाको अवधिमा १० अर्ब १० करोड ८३ लाख रुपैयाँ बराबरको ७९ हजार ६८३ युनिट इन्धन दुई पांग्रे सवारी साधन आयात भएको हो। उक्त आयातबाट सरकारले ९ अर्ब ९० करोड ९७ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
चालु आर्थिक वर्षको तीन महिनाकै अवधिमा ४४ करोड १८ लाख ६३ हजार रुपैयाँ बराबरको ४ हजार २६४ युनिट विद्युतीय बाइक तथा स्कुटर आयात भएको भन्सार विभागले जनाएको छ। उक्त आयातबाट सरकारले १५ करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। 
गत आर्थिक वर्ष २०८१/८२ को तिन महिनाको अवधिमा ८ अर्ब १० करोड ४८ लाख रुपैयाँ बराबरको ६८ हजार ५३२ युनिट इन्धन दुई पांग्रे सवारी साधन आयात भएको थियो। उक्त आयातबाट सरकारले ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। 
चालु आर्थिक वर्षको तीन महिनाकै अवधिमा २९ करोड ६० लाख रुपैयाँ बराबरको २ हजार ५६८ युनिट दुई पांग्रे विद्युतीय बाइक तथा स्कुटर आयात भएको थियो। उक्त आयातबाट सरकारले ९ करोड ८२ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो। 
पछिल्लो पाँच वर्षको दुई पांग्रे सवारी साधन आयात
	
		
			| आर्थिक वर्ष | विद्युतीय बाइक तथा स्कुटर | इन्धन बाइक तथा स्कुटर | 
		
			| २०७७/७८ | २२६५ युनिट | ३५३५३४ युनिट | 
		
			| २०७८/७९ | ३६१० युनिट | २७८४८१ युनिट | 
		
			| २०७९/८० | ७१५५ युनिट | १०४१८० युनिट | 
		
			| २०८०/८१ | ७७४७ युनिट | १३४५३४ युनिट | 
		
			| २०८१/८२ | ११३२० युनिट | २०१९५२ युनिट | 
		
			| २०८२/८३ हालसम्म | ४२६४ युनिट | ७९६८३ युनिट | 
	
पछिल्लो समय चार पांग्रे ईभी सँगै दुई पांग्रे ईभीको आयात पनि बढ्दै गएको छ। कुनै समय न्युन आयात हुने गरेको ईभी बाइक तथा स्कुटर अहिले भने हजारौंको संख्यामा आयात हुने गरेको छ। 
पछिल्लो ५ वर्षमा दुई पांग्रे सवारी साधनमा स्कुटरको बजार हिस्सा ३० प्रतिशतबाट बढेर झण्डै ५९ प्रतिशत हाराहारी पुगेको छ। भन्सार विभागको तथ्यांकअनुसार दुई पांग्रे ईभी र इन्धन दुवैमा स्कुटरको हिस्सा बढेको छ।