काठमाडौं। नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) अध्यक्षमा युवा उद्यमी सुदीप घिमिरे निर्वाचित भएका छन्। शुक्रबार आयोजित मञ्चको २१औं वार्षिक साधारणभाले घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको हो। घिमिरे औद्योगिक तथा व्यावसायिक घराना एसजी ग्रुपका निर्देशक हुन्।
नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा समर्पित मञ्चले उद्यमीलाई सशक्तीकरण गर्न, महत्त्वाकांक्षी उद्यमीलाई फस्टाउन र सफल हुन मञ्च उपलब्ध गराउँदै आएको छ।

कार्यक्रममा सभामुख देवराज घिमिरेले नवप्रवर्तन प्रवर्द्धनमा मञ्चले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै संस्थालाई उच्च घरानामा मात्रै सीमित नगरी समाजको तल्लो तहसम्म पुर्याउन सुझाए। ‘२०६० तिरको संक्रमणकालीन अवस्थामा युवालाई एकीकृत गर्दै उद्यममा लगाउने उद्देश्यले स्थापित यो संस्था अब उच्च घरानियाको मात्रै जस्तो देखिनुहुँदैन। समाजको तल्लो तहसम्मै पुगोस्,’ उनले भने।
उद्यमीका लागि संकटग्रस्त समयबाट अब सहजता तर्फ मुलुक गईरहेको तथा त्यसका लागि सरकारले परम्परागत कानुन संशोधन तथा नयाँ कानुन निर्माण गरिरहेको घिमिरेले बताए। नयाँ आइडिया भएका युवालाई पुँजी अभावका कारण रोकिन नपरोस् भनेरै त्यसतर्फ पनि काम भइरहेको उनको भनाइ छ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा जोशजाँगर र नवप्रवर्तनमा सहकार्य गर्न महासंघ तयार रहेको बताए। त्यसका लागि मञ्चलाई महासंघको पदेन सदस्यतासमेत दिने निर्णय भएको जानकारी गराए।
ढकालले देशमै काम गर्ने वातावरण बन्दै गएको तथा महासंघले आवश्यक पहल गरिरहेको बताए। ‘विशेषगरी देशबाहिर बस्ने युवामा देशमा काम गर्ने वातावरण छैन भन्ने बुझाइ छ, त्यो गलत हो। महासंघ सधैं युवाको साथमा छ। तपाईंहरुको जोश, जाँगर र नवप्रवर्तनको सोचमा महासंघ सधैं तयार छ,’ उनले भने, ‘सरकारले पनि २ वर्षमा ३० बढी कानुन संशोधन गरी वातावरण तयार गरेको छ। अब देशमै नवप्रवर्तनलाई सहज हुँदै छ। विदेशमा रहेका साथीको सीप, ज्ञानलाई पनि जोड्ने कोसिस मञ्चले गर्नेछ।’
नवनिर्वाचित अध्यक्ष घिमिरेले नवप्रवर्तन, स्वदेशी ज्ञान, सीप र उत्पादनलाई विश्वमा पुर्याउन काम गर्ने प्रतिबद्धता जनाए। विदेशमा रहेका युवा उद्यमीलाई जोड्ने, छिमेकी मुलुकमा रहेका मञ्चजस्तै संस्थासँग सहकार्य अगाडि बढाउने, नेपाली नवप्रवर्तनलाई विश्वका ठूला प्रदर्शनीमा लैजाने तथा नेपालमा पनि आयोजना गर्ने जानकारी उनले दिए।
कार्यक्रममा गत वर्ष उत्कृष्ट काम गर्ने तथा सक्रिय च्याप्टरलाई सम्मान गरिएको थियो। मञ्चको सातै प्रदेशमा १४ वटा च्याप्टर छन्।