काठमाडौं। नयाँ होटलसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ काठमाडौंको लाजिम्पाटमा सञ्चालित पाँचतारे होटल र्याडिसनले आफ्ना कोठाहरु धमाधम रेनोभेट गरिरहेको छ। कुल २६० वटा कोठामा ४० वटा मर्मतको चरणमा रहेको र बाँकी ६० वटा पनि गर्ने तयारी थालिएको जनाएको छ।
४० वटा कोठाको मर्मत गर्नुपर्दा ओरियन्टल होटल्स (र्याडिसन होटल)ले साढे आठ महिनामा अपेक्षाकृत आम्दानी गर्न नसकेको जनाएको छ। आर्थिक वर्ष २०२४/२५ को साढे आठ महिनामा ७५ करोड ८० लाख रुपैयाँ बढीको आम्दानी गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर दुरीमा रहेको र्याडिसन ओरियन्टल होटल्सद्वारा सञ्चालित होटल हो। सन् १९९४ बाट सञ्चालनमा आएको यो होटल करिब ६ हजार ५ सय वर्ग मिटरमा रहेको छ।
होटलमा २६० कोठा र ३० वटा सर्र्भिस अपार्टमेन्टहरु छन्। यो होटल विश्वव्यापी चेन र्याडिसन ग्रुप अफ होटल्सको फ्रान्चाइजी हो। ओरियन्टल होटल्सले सर्वसाधारणमा समेत सेयर जारी गरिसकेको छ।

नेपाली आथित्य सत्कारको क्षेत्रमा छुट्टै पहिचान बनाएको र्याडिसन होटलले खाना पेय पदार्थ अन्य मनोरञ्जनमा कार्यक्रम, एयरपोर्ट लाउन्स सेवाहरु प्रदान गर्छ। जसले गर्दा होटलको आम्दानीलाई विविधिकृत गरेको छ।
ओरियन्टल होटल्सले एक अर्ब ८० करोड ६० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालसँग गराएको रेटिङमा दीर्घ कालिन कर्जामा ‘एलबिबिबी’ र अल्पकालिन कर्जाको लागि ‘एथ्रिप्लस’ पुनः पुष्टी भएको छ। यसअघि ओरियन्टल होटल्ससले एक अर्ब ६० करोड ३० लाख रुपैयाँ बैंकिङ कर्जाको रेटिङ गराएको थियो। उक्त समयमा प्राप्त रेटिङलाई इक्राले पुनः पुष्टी गरेको हो।
ओरियन्टलले प्राप्त गरेको रेटिङमध्ये दीर्घ कालिन कर्जाको ‘एलबिबिबी’ले वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको सुरक्षा रहेको र अल्पकालिन कर्जाको ‘एथ्रिप्लस’ले कम क्रेडिट जोखिम रहेको संकेत गर्छ।

इक्राले ओरियन्टललाई वित्तीय अवस्था र सञ्चालनको अवस्था, चालु पुँजीको अवस्थालाई मूल्यांकन गर्दै वित्तीय जोखिमको रेटिङ गरेको उल्लेख गरेको छ। रेटिङ रिपोर्टअनुसार ओरियन्टलको समीक्षा अवधिमा खुद सम्पत्तिमा कर्जा अनुपात ०.७ गुणा रहेको भने सञ्चालन नाफा ऋण अनुपातमा ३.१ गुणा मात्रै रहेको छ।
यद्यपि, होटलको अकुपेन्सी दर गत वर्ष ४३ प्रतिशत रहेकोमा चालु वर्षको साढे ८ महिनासम्म ३६ प्रतिशत मात्रै रहेको छ। र्याडिसनको कुल २६० वटा रुममा ४० वटा मर्मतको चरणमा रहेको हुँदा पनि अकुपेन्सी दर घटेको हो। होटलले आगामी वर्षमा थप ६० वटा रुम मर्मत गर्ने योजना बनाएको छ। चाँडै निर्माण सम्पन्न गरेर अकुपेन्सी दर बढाउँदै नाफामा सुधार गर्ने होटलको योजना छ।