काठमाडौं। नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक) को व्यापार पौने २६ प्रतिशतले खुम्चिएको छ। विद्युतीय ट्रान्सफर्मरको व्यापार गर्ने निकको व्यापार एक वर्षमै २५.७० प्रतिशतले घटेर सन् १ अर्ब ८३ करोड रुपैयाँमा समेटिएको हो।
कम्पनीले सन् २०२३ मा २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो। सन् २०२२ मा १ अर्ब ४४ करोड ७० लाख र सन् २०२१ मा ५५ करोड ९० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो।
सन् १९९१ मा हेटौंडाको थाना भर्याङमा प्लान्ट रहेको निकले ट्रान्सफर्मर उत्पादन गरी आन्तरिक बजारसँगै विभिन्न देश निर्यात गर्छ। कम्पनीको प्रतिवर्ष १८ हजार युनिट उत्पादन क्षमता रहेको छ भने हाल १ केभिएदेखि १० एमभिएसम्म र १३२ केभीसम्मको भोल्टेजका ट्रान्सफरर्मर निर्माण गरिरहेको छ।
कम्पनीमा कुशकुमार जोशी प्रबन्ध निर्देशक र अजयकुमार मुडभरी निर्देशक छन्। उनीहरु दुवै निर्माण व्यवसाय र ट्रान्सफर्मर उत्पादन तथा बिक्री क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्।
कम्पनीले रेटिङ एजेन्सी इन्फो मेरिक्समा कुल १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि गराएको रेटिङमा अल्पकालीन कर्जामा ‘बीबी’ र दीर्घकालीन कर्जामा ‘ए फोर’ प्राप्त गरेको छ।
कम्पनीले प्राप्त गरेको अल्पकाकाली कर्जाको ‘बीबी’ले वित्तीय दायित्व वहनमा मध्यम स्तरको जोखिम र दीर्घकालीन कर्जामा ‘ए फोर’ले उच्चस्तरको वित्तीय दायित्व भुक्तानी क्षमता रहेको संकेत गर्छ। कम्पनीको उक्त रेटिङ अघिल्लो रेटिङमा स्तरोन्नति भएको हो।
निकलाई इन्फोमेरिक्सले रेटिङ स्तर बढाउनुमा कम्पनीको ट्रयाक रेकर्ड राम्रो, स्थापित ब्रान्डको थप बलियो बजार उपस्थिति र स्थिर बिक्रीलाई मुख्य कारक मानेको छ।
कम्पनीले करिब ३ दशकदेखि सरकारको पूर्वाधार विकास र विद्युतीकरणको लक्ष्यबाट पनि आफ्नो व्यापार विस्तार गरेर लाभ उठाउँदै आएको छ। कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको हुँदा ट्रान्सफर्मरको माग सधंै उच्च हुने गरेको छ।
कम्पनीको आम्दानी गत वर्षमा खुम्चिए पनि अघिल्लो वर्षमा राम्रो रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। गत वर्ष कम्पनीको चालू खर्च बढेको कारण आम्दानी खुम्चिएको हो।
साथै, निकको कुल आम्दानीमध्ये ८३ प्रतिशत मुख्य १० ग्राहकमा निर्भर रहेको छ। केही समस्या भए आम्दानीमा नकारात्मक प्रभाव पार्ने सक्ने हुँदा कम्पनीले ग्राहक विविधीकरण गर्नुपर्ने देखिन्छ।