काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज नेपालका लागि एसियाली विकास बैंक (एडिबी)को राष्ट्रिय साझेदारी रणनीति (२०२५/२०२९) सार्वजनिक गरेका छन्।
एडिबीको सञ्चालक समितिबाट यसै वर्ष असार ३ (तद्नुसार १७ जुन २०२५)मा स्वीकृत भएको राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ।
रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाहरूका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ।
अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरे।
एडिबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो। यो सहकार्यमा आधारित विकास योजनामा महत्वपूर्ण कोसेढुंगा सावित भएको छ।
आफ्नो विशेष मन्तव्य राख्दै उपप्रधान तथा अर्थमन्त्रीले भने, ‘एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै ६ दशक लामो हाम्रो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको छ। १६औँ योजनासँग तादम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खास गरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने छ। आर्थिक रूपान्तरणको हाम्रो यात्रामा एडिबीको निरन्तर सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।’
राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं बञ्चितीकरणमा परेका साथै जोखिममा रहेका समूहको सशक्तीकरणजस्ता अन्तर विषयगत प्राथमिकता समावेश गरेको छ। जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्दछ।
एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजना प्रस्तुत गरे। कार्यक्रममा प्रस्तुत गरिएको संक्षिप्त श्रव्यदृश्य सामग्रीमा एडिबी र विश्व बैंक समूहले रणनीति तयार गर्ने क्रममा विभिन्न सरोकारवाला समेत सातै प्रदेश र संघीय निकायसँग गरेको व्यापक परामर्शलाई समेटेको थियो।
राष्ट्रिय साझेदारी रणनीति सार्वजनिकीकरण कार्यक्रममा नेपाल सरकार प्रतिनिधि, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, प्राज्ञिक क्षेत्र र सञ्चारकर्मीको उपस्थिति रहेको थियो। कार्यक्रम प्यानल छलफलका साथै अन्तर्क्रियात्मक प्रश्नोत्तरसँगै समापन भएको थियो।
एडिबी एसिया प्रशान्त क्षेत्रमा, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। यसका सदस्य र साझेदारसँग मिलेर जटिल चुनौती समाधानका लागि काम गरिरहेको एडिबीले जनजीविकामा रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नवप्रवर्तित वित्तीय औजार एवं रणनीतिक साझेदारीको परिचालन गर्दछ।
सन् १९९६ मा स्थापना भएको एडिबीमा ६९ सदस्यको स्वामित्व रहेको र तीमध्ये ५० एसिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन्।