काठमाडौं। पोल्ट्री क्षेत्रमा लामो समयदेखि समस्याका रूपमा रहेको बर्ड फ्लुको प्रकोप नियन्त्रणका लागि खोप ल्याउने तयारी भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु सेवा विभागको सिफारिसमा कुखुरामा लाग्ने फ्लुलाई नियन्त्रण गर्न पन्छीमा लाग्ने इन्फ्लुएन्जाविरुद्धको खोप ल्याइने भएको हो।
कुखुरामा लाग्ने इन्फ्लुएन्जाविरुद्धको खोप आयातमा सरकार सकारात्मक भएसँगै कुखुरापालक किसानहरूलाई ठूलो आर्थिक क्षति हुनबाट जोगिने देखिएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार, नेपालमा कुखुरामा लाग्ने बर्ड फ्लु रोग नियन्त्रणका लागि नभएर अन्य सामान्य प्रकारको लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एलपीएआई)विरुद्ध खोप ल्याउने तयारी भइरहेको छ। हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एचपीएआई) का लागि भने यो खोप प्रयोग नहुने उनको भनाइ छ।
डा. श्रेष्ठका अनुसार, इन्फ्लुएन्जा भाइरसका चार मुख्य प्रकार ए,बी, सी, र डीमध्ये कुखुरामा इन्फ्लुएन्जा भाइरस-ए को संक्रमण देखिन्छ। यो भाइरसका विभिन्न उपप्रकारहरू हुन्छन्। जसमध्ये हेमाग्लुटिनिन (एच) नामक प्रोटिनका १६ वटा प्रकार हुन्छन्। तीमध्ये एच-५ र एच-७ भाइरसलाई हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भनिन्छ। यीबाहेक बाँकी एच-१, एच-२, एच-३, एच-४, एच-६, एच-८, एच-९, एच-१०, एच-११, एच-१२, एच-१३, एच-१४, एच-१५ र एच-१६ लाई लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भनिन्छ।
बर्ड फ्लुको परिभाषा
एच-५ र एच-७ भाइरसले कुखुरामा धेरै क्षति पुर्याउने र मानिसहरूमा समेत संक्रमण सर्न सक्ने भएकाले यसलाई बर्ड फ्लु भनेर परिभाषित गरिने श्रेष्ठ बताउँछन्। सरकारले एच-५ र एच-७ भाइरसको बर्ड फ्लु लागेमा मात्र किसानहरूलाई क्षतिपूर्ति दिने गरेको छ। नेपालमा हाल एच-५ को भाइरस मात्रै पुष्टि भएको छ भने एच-७ अहिलेसम्म देखिएको छैन।
नेपालमा ल्याउन लागिएको खोप भने लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भाइरसका लागि हो। लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भाइरसमा एच-९ भाइरस मात्रै नेपालमा देखा परेको छ। कुखुराहरूमा तुलनात्मक रूपमा कम क्षति पुर्याउँछ र यो बर्ड फ्लुको परिभाषाभित्र पर्दैन।
'नेपालमा एच-५ र एच-७ बाहेकका १४ प्रकारका एभियन इन्फ्लुएन्जामध्ये एच-९ को संक्रमण बढी देखिएको छ,' श्रेष्ठले भने, 'यही कारणले गर्दा एच-९ विरुद्धको खोप ल्याउने तयारी गरिएको हो।'
नियमावली र सीमितता
नेपालमा बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ ले एच-५ र एच-७ लाई मात्र बर्ड फ्लुको रूपमा परिभाषित गरेको छ। त्यसैले, अहिले ल्याउन लागिएको खोपले कुखुरामा लाग्ने एभियन इन्फ्लुएन्जाका अन्य प्रकारलाई नियन्त्रण गरे पनि यसले घातक मानिने बर्ड फ्लु एच-५ र एच-७ लाई प्रत्यक्ष रूपमा नियन्त्रण गर्ने छैन।
उद्योगको माग
ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धरका अनुसार, पोल्ट्री व्यवसायीले करिब ७-८ वर्षदेखि पोल्ट्री क्षेत्रलाई जोगाउन बर्ड फ्लुविरुद्धको खोपको माग गर्दै आएका थिए। नेपालमा करिब तीन हजार ३ सयदेखि तीन हजार ५ सय पोल्ट्री फार्म सञ्चालनमा छन्। बर्ड फ्लुका कारण हरेक वर्ष अर्बौं रुपैयाँको क्षति व्यहोर्नु परेको छ।
अध्यक्ष मानन्धरले अन्तर्राष्ट्रिय बजारमा पाइने बर्ड फ्लुको खोप नेपालमा पनि आयात गरी प्रयोग गर्न पाउनुपर्नेमा जोड दिँदै आएका थिए। भारत र बंगलादेशमा यी खोपको प्रयोग भइरहेको छ। बर्ड फ्लु एक भाइरल रोग हो। जसको कुनै औषधि छैन। एक पटक रोग लागेपछि कुखुरा बचाउन मुस्किल पर्छ। रोग सर्न नदिन संक्रमित कुखुरालाई नष्ट गर्नुपर्ने हुन्छ। जसले किसानहरूलाई ठूलो आर्थिक क्षति पुर्याउँछ।
आयात र वितरणको तयारी
हाल नेपालमा बर्ड फ्लुविरुद्धको खोप उत्पादन हुँदैन। भारत र चीनमा कुखुरामा लाग्ने इन्फ्लुएन्जा खोप उत्पादन भएर प्रयोगमा छन्। नेपालमा पनि यही मुलुकबाट खोप भित्र्याउने तयारी रहेको विभागका महानिर्देशक डा. राम नन्दन तिवारी बताउँछन्।
'खोप ल्याउनका लागि परीक्षण परीक्षा भइसकेको र अब व्यावसायिक रूपमा यसको आयात तथा वितरण तयारीमा छौँ,' उनले भने, 'यो खोप सरकारले निःशुल्क उपलब्ध गराउँदैन, व्यवसायीले अनुमति लिन पाउने र किसानले खरिद गर्न पाउने छन्।'
रोगका लक्षण र फैलावट
डा. श्रेष्ठका अनुसार बर्ड फ्लु सबै प्रजातिका पन्छीमा लाग्ने एक प्रकारको विषाणुजन्य रोग हो। पन्छीमा यो रोग लागेपछि खाना खान छोड्ने, ढ्यार-ढ्यार गर्ने, टाउकोको सुन्निने, सियुर र लोटी निलो हुने लक्षण देखा पर्छन्। पन्छीमा रगत श्रावले खुट्टामा निलो दाग देखाउनुका साथै झोक्राएर बस्ने र हरियो सुली छर्ने हुन्छन्।
यो रोग प्रायः जाडो मौसममा देखिने र फैलिन्छ। ४ देखि ५ डिग्री सेल्सियस तापक्रममा यो फैलिन सजिलो वातावरण हुन्छ। नेपालमा आउने पाहुँना चराबाट, संक्रमित कुखुराको सुलीबाट, मानिसको आवतजावतबाट, दाना र भाँडाकुँडाबाट पनि यो रोग सर्ने डा. श्रेष्ठ बताउँछन्।
रोकथाम र उपचार
बर्ड फ्लु लागेका कुखुरालाई नष्ट गर्नुपर्ने डा. श्रेष्ठ बताउँछन्। रोग पुष्टि भएको क्षेत्रको तीन किलोमिटरसम्मको क्षेत्रमा भएका अण्डा, दाना, सुली नष्ट गरी उचित तरिकाबाट व्यवस्थापन गरिन्छ र ४२ दिनसम्म कुखुराहरू पाल्न नमिल्ने गरी सिल गरिन्छ। रोग लाग्नै नदिन जैविक सतर्कता अपनाउनु उत्तम हुने डा. श्रेष्ठको सुझाव छ।
अरू पन्छीसँग बजारबाट ल्याइएका पन्छी मिसाएर राख्न नहुने र करिब १४ दिन वथानबाट टाढा राख्नुपर्ने उनको भनाइ छ। फार्मबाहिर ५० प्रतिशत र भित्र सतप्रतिशत भाइरस संक्रमणको डर हुने भएकाले स्प्रे गर्दा फार्म र वरपर राम्ररी छर्किने तथा खोरमा आउजाउ गर्न छुट्टै जुत्ता प्रयोग गर्न पनि उनले सुझाव दिए।