काठमाडौं। नेपालको भुक्तानी प्रणाली सञ्चालक ‘फोनपे पेमेन्ट सर्भिस लिमिटेड’ले २० प्रतिशत सेयर सर्वसाधारण (आइपिओ)मा जारी गर्ने भएको छ। फोन पेले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत आइपीओ जारी गर्न लागेको हो।
फोन पेको आइपीओमा जाने तयारी करिब दुई वर्षदेखिको हो। जसका लागि कम्पनीले आइपीओ प्रक्रियाका लागि आवश्यक परार्मश सेवाको लागि एनएमबी क्यापिटलसँग सम्झौता गरिसकेको छ। २०७७ सालदेखि सञ्चालमा आएको फोन पेको हाल ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। हाल कायम चुक्ता पुँजीकै २० प्रतिशतको आइपीओ जारी गरिने फोन पेका कार्यकारी अधिकृत दिवश कुमार सापकोटाले बताए।
‘गत वर्षको अपरिस्कृत वित्तीय विवरणमात्रै आएको छ। लेखापरीक्षणपछि कम्पनीको वित्तीय अवस्थाअनुसार आइपीओ कुन मोडालिटीमा जारी गर्ने निश्चित गरेर आगामी साधारणसभामा प्रस्ताव गर्छौं,’ फोन पेका सिइओ सापकोटाले क्यापिटल नेपालसँग भने, ‘हाल कायम चुक्ता पुँजीकै २० प्रतिशत आइपीओ जारी गर्छौं, बुक क्लोजर भइसकेपछि इस्यु म्यानेजरले सुझाएअनुसार प्रिमियम मूल्यमा वा साधारण मूल्यमा जाने त्यसपछि तय हुन्छ।’
फोन पेले हाल कायम रहेको चुक्ता पुँजी ५१ करोड रुपैयाँको २० प्रतिशत १० करोड २० लाख रुपैयाँ बराबरको हुन आउँछ। उक्त आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने प्रयासमा फोन पे रहेको छ।
‘सकेसम्म हामी प्रिमियम मूल्यमै जान्छौँ होला। तर जाने वा नजाने बुक क्लोजरबाट थाहा हुन्छ,’ फोनपे सिइओ भन्छन्, ‘प्रिमियममा जानका लागि निर्धारण गरिएअनुसार नेथवर्कलगायत अन्य सूचांकहरु मिलेमा हामी प्रिमियममा आइपीओ जारी गर्छाैं।’
साधारण मूल्य (अंकित मूल्य १०० रुपैयाँ) प्रक्रियामा जानुपर्ने भए फोन पेले आवश्यक प्रक्रिया चाँडै सम्पन्न गरेर आइपीओ जारी गर्ने अन्यथा प्रिमियमा मूल्यमा जारी गर्ने भए केही समय लाग्न सक्ने उनको भनाइ छ।
फोन पेले आगामी दिनमा २० प्रतिशत आइपीओ जारी गर्दा कुन मूल्यांकनमा गर्छ? चासोको विषय हो। तर, कम्पनीले भने हाल कायम चुक्ता पुँजीबाट आइपीओ जारी हुने जनाएको छ।
फोन पेको २० प्रतिशत सेयर राजेन्द्र खेतान समूहले खरिद गर्ने प्रक्रियामा छ। खेतान समूहले २० प्रतिशत सेयर एक अर्ब ४० करोड रुपैयाँमा खरिद गर्न लागेको हो। जसअनुसार कम्पनीको कुल सेयर मूल्यांकन ७ अर्ब रुपैयाँ बराबरको भएको छ।
फोन पेले आगामी दिनमा २० प्रतिशत आइपीओ जारी गर्दा कुन मूल्यांकनमा गर्छ? चासोको विषय हो। तर, कम्पनीले भने हाल कायम चुक्ता पुँजीबाट आइपीओ जारी हुने जनाएको छ।
‘अहिले रहनुभएका सेयरधनीले आफ्नो सेयर बिक्री गर्न खोज्नु भएको हो। त्यो जति मूल्यमा बिक्री भए वा नभए पनि मुख्य चुक्ता पुँजी परिर्वतन हुँदैन,’ सिइओ सापकोटाले भने, ‘त्यसैले हाल कायम पुँजीको २० प्रतिशत आइपीओ जारी हुन्छ।’
सेयर खरिदका लागि खेतान समूहले फोन पेसँग प्रारम्भिक सम्झौता गरिसकेको छ। जसमा आपसी समझदारीमा सेयर मूल्यमा ५ प्रतिशतसम्म नेगोसिएसन (मोलमोलाइ)को ठाउँ राखेर राष्ट्र बैंकमा प्रारम्भिक स्वीकृतिका लागि पठाइएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको सम्बन्धित डेस्कले फोन पेको सेयर स्वामित्व खेतान समूहलाई हस्तान्तरणको लागि स्वीकृत दिने फाइल अध्ययन गरिरहेको छ।
राष्ट्र बैंकले खेतान समूहको ‘फिट एन्ड पर्पर टेस्ट’ गरेर सैद्धान्तिक स्वीकृत दिने छ। राष्ट्र बैंकले सेयर खरिदका लागि स्वीकृति दिए पनि फोन पेले हाल कायम पुँजीकै २० प्रतिशत सेयर जारी गर्ने उनले जानकारी दिए। आइपीओ जारी भएसँगै नेपालको पब्लिकमा सेयर जारी गर्ने फिनटेक कम्पनी फोन पे बन्ने छ।
सम्झौतामा हस्ताक्षर गर्दै फोन पेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले फोन पेले साधारण सेयर जारी गर्ने मात्रभन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका अन्य कम्पनीहरूलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका बताए।
कम्पनीले अन्तरदेशीय भुुक्तानीमा फड्को मारिरहेको छ। कम्पनीले फोन पेको क्युआर स्क्यान गरेर २०८१ फागुनदेखि भारतीय पर्यटकले भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको थियो।
राष्ट्र बैंकबाट २०७७ सालमा स्थापना भएको फोन पे पेमेन्ट सर्भिस लिमिडेट ललितपुरको पुल्चोकमा छ। कम्पनीले अन्तरदेशीय भुुक्तानीमा फड्को मारिरहेको छ। कम्पनीले फोन पेको क्युआर स्क्यान गरेर २०८१ फागुनदेखि भारतीय पर्यटकले भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको थियो।
कम्पनीले हाल चीन, कोरिया, थाइल्याण्ड, सिंगापुरलगायत १३ देशका पर्यटक नेपाल आउँदा विभिन्न १८ वटा अन्तर्राष्ट्रिय वालेटहरुमार्फत नेपालमा क्यूआर भुक्तानी सुरु भएको छ।
फोनपेले आर्थिक वर्ष २०८०/८१ १० करोड पटक १९ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको अन्तर बैंक भुक्तानी कारोबार गरेको थियो। आव २०८१/८२ मा १४ करोड पटक २८ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको अन्तर बैंक भुक्तानी कारोबार गरेको छ।
साथै, फोनपेको क्युआर स्क्यानबाट आव २०८०/८१ मा १६ करोड पटक ४ खर्ब ४५ अर्ब र आव ०८१/८२ मा ३० करोड पटक ७ खर्ब ६६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। फोनपे छोटो समयमै आफ्ना लगानीकर्तालाई समेत राम्रो प्रतिफल दिन सफल भएको छ। फोनपेले आव २०८०/८१ को मुनाफाबाट १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
फोनपेको सर्भिसमा १९ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक, १४ वटा फाइनान्स कम्पनी, ९ वटा वालेट र एक माइक्रोफाइनान्स कम्पनी आवद्ध छन्। फोन पेलाई सूचना तथा सञ्चार प्रविधि (आइटिसी)को क्षेत्रको सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सरकारले सम्मानसमेत गरेको छ। ८औँ आइसीटी दिवसमा सरकारले फोन पेलाई सम्मान गरेको थियो।