काठमाडौं। भारतको प्रसिद्ध खाजाजन्य उत्पादन कम्पनी बिकाजी फुड्स इन्टरनेसनल अब नेपाल भित्रिएको छ। बिकाजीले नेपालको चर्चित औद्योगिक समूह चौधरी ग्रुपसँग संयुक्त लगानीमा काम गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
सम्झौताअनुसार बिकाजी र सीजी फुड्सले ५०र५० प्रतिशत स्वामित्व रहने गरी संयुक्त लगानी कम्पनी स्थापना गर्नेछन्। उक्त कम्पनीले नेपालमै अत्याधुनिक उत्पादन केन्द्र निर्माण गरी भुजिया, नमकीन, पापड, प्याक गरिएका मिठाई तथा खाजाजन्य वस्तु उत्पादन, व्यापार तथा प्रचार गर्नेछ।
बिकाजी फुड्स इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपक अग्रवालले भने, ‘नेपाल बिकाजीको विश्वव्यापी विस्तारको यात्रामा एक महत्त्वपूर्ण रणनीतिक बजार हो। चौधरी ग्रुपको स्थानीय बजारमा पकड र बुझाइसँग मिलेर हामी नेपाली उपभोक्तालाई प्रिमियम गुणस्तरका उत्पादन उपलब्ध गराउनेछौं। यो साझेदारी केवल व्यापारमा सीमित छैन, यसले समुदाय सशक्तीकरण, आपूर्ति शृंखला मजबुत र नेपालको खाद्य प्रणाली सुदृढ गर्न पनि योगदान पुर्याउनेछ।’
सीजी फुड्स नेपालका निर्देशक वरुण चौधरीले भने, ‘बिकाजीसँगको सहकार्यले नेपालमा विश्वस्तरीय खाद्य नवप्रवर्तन ल्याउने हाम्रो प्रतिबद्धता झल्काउँछ। यसले रोजगारी सिर्जनादेखि आपूर्ति प्रणाली बलियो बनाउन मद्दत पुर्याउनेछ। हामी भारतका समृद्ध स्वादलाई नेपालीका दैनिक खाजामा सहज रूपमा समेट्ने लक्ष्य राख्छौं।’
संयुक्त लगानीमा दुवै कम्पनीले आवश्यक लगानी चरणबद्ध रूपमा गर्नेछन्। नेपालमै उत्पादन केन्द्र स्थापना गरिने भएकाले नेपाली उपभोक्ताले छिटो र ताजा उत्पादन उपभोग गर्न सक्नेछन्। यसले देशको खाद्य क्षेत्रको विकासमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।