काठमाडौं। सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ। यही प्रयासअन्तर्गत हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ।
एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित गर्यो। कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए। विद्यार्थीले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए।
कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भने, 'एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ। प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो। विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन। सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिले विद्यार्थीमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ।'
न्युमेरेसी विकमा विभिन्न गतिविधि समावेश गरिएका थिए। जसमा गणित कथा वाचन- जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए। त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड- गतिशीलता र द्रुत सोचको संयोजनलगायत तत्काल गणित बोल सूत्र- जसले विद्यार्थीलाई गणितीय विचारबारे सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो।
एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ। कठोर लाग्ने अवधारणालाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै, संस्थाले विद्यार्थीको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ।