काठमाडौं। पछिल्लो एक वर्षमा ३२ वटा पाँचतारे होटल थपिएको पर्यटन विभागले जनाएको छ।
बर्खामास, बाढीपहिरो, अफ सिजनलगायत कारण पर्यटक संख्या घटिरहेका बेला होटलमा लगानी बर्सेनि बढिरहेको देखिएको हो।
विभागका अनुसार एकदेखि पाँचतारे होटलको संख्या २१४ पुगेको छ। पछिल्लो एक वर्षमा ३ हजार २७० बेड थपिएका छन्। तारे होटलमा बेड संख्या २० हजार ३४३ पुगेको विभागको तथ्यांकमा उल्लेख छ।
विवरणअनुसार तारेबाहेक पर्यटकस्तरीय होटल १ हजार ३६४ वटा छन्। यीमध्ये एक वर्षमै १३० वटा थपिएका छन्।
यस्तै, पर्यटक स्तरीय होटल होटलमा ४२ हजार २२९ वटा बेड रहेका छन्।
-1746604234.jpg)
अफ सिजन र सडक दुरवस्थाका कारण पर्यटक नआएपछि मुख्य पर्यटकीय स्थलमा रहेका होटलले छुट सुविधा दिइरहेका छन्। होटल सुनसान बनेपछि व्यवसायीले पर्यटकलाई छुट अफर ल्याइरहेका बेला विभागले होटल र बेड संख्या बढिरहेको तथ्यांक सार्वजनिक गरेको हो।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डेले अहिले सौराहा क्षेत्रका होटल १० प्रतिशत पनि बुक नभएको बताए। भारतीय पर्यटक आउने समय भए पनि बुटवल–नारायणगढ सडक खण्डको अवस्था नाजुक हुँदा चितवन, काठमाडौं, पोखराका होटलसमेत सुस्ताएको व्यवसायीको गुनासो छ।
सौराहा, भैरहवा, भरतपुर, पोखरा, काठमाडौंलगायतका स्थानमा होटल व्यवसाय गर्दै आएका पाण्डेले पर्यटक संख्या घटिरहेको बताए।
पर्यटक आउन छाडेपछि क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेले होटलको कोठा ५० प्रतिशत छुट दिएर बुक गर्न सकिने अफर ल्याइएको जानकारी दिए। साउनभर बुक गरे चैतसम्म कुनै पनि समयमा आएर बस्न पाइने व्यवस्था रहेको उनले बताए।