काठमाडाैं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको सुरुआतसँगै लागू गरेका कठोर नीतिका बाबजुद अमेरिकी अर्थतन्त्र अपेक्षाभन्दा मजबुत देखिएको छ। नयाँ तथ्यांकअनुसार महँगी नियन्त्रण, रोजगारी दर स्थिर र स्टक बजार पनि पुनःउकालो लागेको छ।
ट्रम्पले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेपछि आप्रवासन नियन्त्रण, संघीय ठेक्कामा कटौती र विदेशी आयातमा कर वृद्धिलगायतका कडा कदम चालेका थिए। उनका आलोचकले यस्ता नीतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका थिए। तर, तथ्यांकले ती अड्कललाई गलत सावित गरिरहेको देखिन्छ।
८ लाख नयाँ रोजगारी सिर्जना
जनवरीदेखि जुन २०२५ सम्मको अवधिमा अमेरिकामा झण्डै ८ लाख नयाँ रोजगारी सिर्जना भएको अमेरिकी श्रम विभागले जनाएको छ। बेरोजगारी दर ४.१ प्रतिशतमा कायम रहेको छ।
जुन पूर्ण रोजगारीको संकेत मानिन्छ। निजी क्षेत्रको रोजगारी वृद्धिदर केही सुस्त भए पनि राज्य सरकारको पहलमा सार्वजनिक क्षेत्रमा अवसर बढेका छन्।
मूल्यवृद्धि नियन्त्रणमा
अप्रिलमा लागू भएको उच्च ट्यारिफले अमेरिकी बजारमा तत्काल ठूलो असर नपारेको देखिएको छ। उपभोक्ता मूल्य सूचकांक जुन महिनामा २.७ प्रतिशतमा सीमित रहेको छ जुन २०२२ को ९ प्रतिशत महँगी दरको तुलनामा धेरै कम हो।
यद्यपि, इलेक्ट्रोनिक्स र लुगाफाटोजस्ता आयातमा आधारित वस्तुमा मूल्यवृद्धि हुन थालेको संकेत देखिएका छन्। विश्लेषकका अनुसार दीर्घकालमा ट्यारिफको असर बढ्दै जाने देखिएको छ।
फेडरल रिजर्भमाथि दबाब
राष्ट्रपति ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड) माथि ब्याजदर घटाउन दबाब दिँदै आएका छन्। उनले जुलाईमा फेडको मुख्यालयमै गएर ब्याजदरबारे छलफल गरेका थिए। तर, फेडका अधिकारीले सेप्टेम्बरभन्दा अगाडि ब्याजदर परिवर्तनको सम्भावना नदेखिएको जनाएका छन्।
सम्भावित खतरा पनि देखिदैँ
डोनाल्ड ट्रम्पको नीति विवादास्पद भए पनि हालसम्म अमेरिकी अर्थतन्त्रमा स्थायित्व कायम छ। तर, विश्लेषकले दीर्घकालीन असरको मूल्यांकन अझै आवश्यक रहेको जनाएका छन्। अबको चुनौती भनेको महँगी नियन्त्रण, रोजगारी वृद्धिको गति कायम राख्नु र ट्यारिफको असर न्यून पार्नु हो।
अर्थशास्त्रीले सावधानी अपनाउन आग्रह गरेका छन्।उनीहरूका अनुसार ट्रम्पको संघीय खर्च कटौती, आप्रवासी निष्कासन अभियान र ब्याजदरको वातावरणले दीर्घकालीन असर पार्न सक्छ। खासगरी, घरजग्गा बजारमा मन्दी देखा परेको छ। जुन महिनामा पुराना घरको बिक्री दर ९ महिनायता सबैभन्दा न्यून रहेको बताइएको छ।
'६ महिनाको अवधिमा ट्रम्प प्रशासनको नीतिका असर देखिन थालेका छन्, तर अपेक्षित विनाशकारी असर अहिलेसम्म देखिएको छैन,' विश्लेषक थोमस साइमनले भनेका छन्।
अर्का विश्लेषक मौरिस आब्स्टफेल्डले थपे,'हामी सतहमा हेरेर मात्रै अर्थतन्त्रको मूल्यांकन गर्न सक्दैनौं, गहिराइमा लुकेको अस्थिरता पनि महत्वपूर्ण छ।'