काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवाको अनुमति लिएकाबाहेक अन्य सेवा प्रदायकले वाइफाई मोबिलिटी सेवा सञ्चालन गर्न नपाउने जनाएको छ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै यी तीन सेवा अनुमति पाएकाबाहेक हकमा एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राका लागि वाइफाई हटस्पट सेवा सञ्चालन गर्न भनेको हो।
‘दूरसञ्चार सेवामा पहुँच विस्तार गरी सेवालाई सर्वसुलभ बनाउन यस प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवा को अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले मात्र वाईफाई को माध्यमबाट समेत अविच्छिन्न, रोमिङ र मोबिलिटी प्रदान गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ।
यस्ता सेवा सञ्चालन गर्दा प्राधिकरणको वाइफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ को विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाइफाई हटस्पट सञ्चालन गर्न सक्ने र विनियम ५ (१) एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राको लागि वाइफाई हटस्पट सेवा प्रयोग गर्न सक्ने जस्ता सर्तको पालना गरी मात्र वाइफाई हटस्पट सेवा सञ्चालन गर्न सक्ने व्यहोरा जानकारी गराएको छ।
साथै, वाइफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहोल, ब्याकबोन र रेस्टिकेशन जस्ता शर्तहरू अनिवार्य रुपमा पालना गर्न भनेको छ।
यस्ता सेवा प्रदान गर्ने सेवा प्रदायकले प्राधिकरणबाट टाइफ अप्रभल भएको रेडियो उपकरण मात्र प्रयोग गर्न वा गराउन जानकारी गराएको छ। अन्यथा, प्रचलित कानुनबमोजिम कारवाही गरिने प्राधिकरणले बताएको छ।
यसअघि इन्टरनेट सेवा प्रदायकले विभिन्न स्थानमा वाइफाई उपकरण राखी फ्रि वाइफाई सञ्चालन गर्दै आएका थिए। एपमार्फत पनि वाइफाई उपलब्ध गराउँदै आएका थिए। मोबाइल सेवामार्फत डाटा बिक्री गर्दै आएका मोबाइल सेवा प्रदायकको व्यवसायमा प्रभाव परेको भन्दै विवाद हुँदै आएको थियो।
प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालका अनुसार यस्ता सेवा सञ्चालन गर्नु गैरकानुनी भएकाले त्यस्ता सेवा सञ्चालन नगर्न भनिएको बताए। उनका अनुसार प्राधिकरणले तोकेको मापदण्डमा रहेर यस्ता सेवा सञ्चालन गर्न पाइन्छ, सर्तभन्दा बाहिर गएरसमेत सेवा सञ्चालन भइरहेकाले रोक लगाइएको हो।