पोखरा। सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ।
सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । सरकारले यसअघि हप्तामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने गरेको थियो।
दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले यो बिदाबाट होमस्टे (घरबास)देखि ठूला होटलसम्म पर्यटक बढ्ने गरेको बताउनुभयो । यसले आर्थिक क्षेत्र चलायमान बनाउने उनीहरुको भनाइ छ।
विशेषगरी आन्तरिक पर्यटकमा निर्भर रहेको पोखराको पर्यटन क्षेत्रले लगातार दुई दिन बिदा दिने सरकारको निर्णयलाई व्यवसाय पुनःरुत्थानको रुपमा एउटा बलियो सम्भावनाको रुपमा हेरेको छ। त्यसो त यसअघि पनि सरकारले परीक्षणका रूपमा सातामा दुईदिन बिदा दिने निर्णय गरेको थियो तर त्यसको पूर्ण कार्यान्वयन भने हुन सकेको थिएन् ।
तर, यसपटकको निर्णयलाई प्रभावकारी रूपमा अघि बढाउन सके पर्यटन क्षेत्रमा गुणात्मक र सकारात्मक परिवर्तन आउने अपेक्षा भने व्यवसायीको छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुईदिनको बिदाले ‘विकएन्ड ट्राभल’ को संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे। ‘यसअघि पनि यस्तो घोषणा भयो तर कार्यान्वयनमा समस्या देखियो, अहिलेको सरकारले यसलाई इन्धन खपतमा मात्र केन्द्रित नगरेर पर्यटकीय दृष्टिकोणबाट दीर्घकालीन रूपमा लैजान सके यसले ठूलो सकारात्मक प्रभाव पर्यटनमा पर्नेछ”, उनले भने।
अध्यक्ष सुवेदीले यसअघिको अवस्थामा नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा ५० प्रतिशत पर्यटक बढ्ने गरेको उल्लेखगर्दै आन्तरिक पर्यटकलाई घुमफिरका लागि मिल्दो समयको अभाव हुँदै आएकामा यो बिदाले लाभ मिलेको बताए। उनले भने, ‘अन्य दिनको तुलनामा बिदाको दिनमा पर्यटक बढ्ने गर्छ, सँगै दुई दिन बिदा हुँदा पक्कै पर्यटक बढ्छ।’
उनले दसैँ तिहारजस्ता लामो बिदामा पोखराका होटलहरू ९० प्रतिशतसम्म भरिने गरेको अनुभव सुनाउँदै दुईदिने बिदाले घुम्ने संस्कृतिको विकास हुने र साना तथा मझौला होटललाई समेत राहत पुग्ने बताए। यद्यपि अहिले देखिएको इन्धनको मूल्यवृद्धिले अन्य क्षेत्रमा पनि प्रभाव पार्ने भएकाले यो चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सहज र सन्तुलित वातावरणको खाँचोसमेत आँैल्याए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारापहारीले दुईदिने बिदाको व्यवस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए। अन्तरराष्ट्रिय अभ्यासको उदाहरण दिँदै उहाँले भन्नुभयो, “विभिन्न विकसित देशहरूमा ‘विकेन्ड कल्चर’ ले नै पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ। छोटो समयमै यात्राको योजना बनाउन सहज हुने भएकाले पोखराजस्ता प्राकृतिक र शान्त गन्तव्यमा पर्यटकको चाप बढ्नेछ।’ तत्काल केही समस्या देखिए पनि यो बिदाले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मकता ल्याउने विश्वास उनको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले दुईदिने बिदाको अभ्यासले गण्डकी प्रदेशमा, विशेषगरी पोखरामा सकारात्मक सङ्केतहरू देखिएको बताए। उनले भने, “बिदाको प्रभाव देखिँदैछ, पोखरासँगै प्रदेशका अन्य जिल्ला मुस्ताङ, नवलपुर, तनहुँ, पर्वतलगायत आसपासका ग्रामीण पर्यटकीय गाउँहरुमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालिसकेको छ।
अब यसको दिगोपनाका लागि सेवाको गुणस्तर सुधार र नयाँ गन्तव्यहरूको प्रवद्र्धन आवश्यक छ।’ उहाँले पर्यटन बोर्डले निजी क्षेत्रसँग मिलेर ‘विकएन्ड टुरिज्म’ लाई व्यवस्थित बनाउन योजनाहरू बनाइरहेको बताए।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बिदाको निर्णयसँगै पर्यटनमैत्री नीतिको पनि खाँचो रहेको औँल्याए। उनले भने, “बिदाले ‘सर्ट ब्रेक ट्राभल’ को विकास त गर्छ, तर राज्यले केवल बिदा घोषणा गरेर मात्र पुग्दैन। पूर्वाधार विकास, यातायात सहजता र प्रभावकारी प्रचारप्रसारलाई पनि सँगसँगै लैजानुपर्छ। दीर्घकालीन नीतिले मात्र पर्यटनलाई दिगो बनाउँछ।’
गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले दुईदिने बिदाले ग्रामीण पर्यटनका लागि नयाँ अवसर सिर्जना गरेको बताए। “विकएन्डमा छोटो समय निकालेर नजिकका गाउँ–गन्तव्यतर्फ जाने क्रम विस्तारै बढ्दो देखिन्छ”, उहाँले भने, “विशेषगरी पोखरा आसपासका गाउँहरूमा होमस्टे र स्थानीय पर्यटन गतिविधिमा केही सकारात्मक प्रभाव परेको छ।’
उनले कोरोना पछि आन्तरिक पर्यटकमा घुम्न संस्कृतिको विकास हुँदै गएको बताउँदै दुईदिने बिदाले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “हामीले ग्रामीण पर्यटनलाई विकएन्ड टुरिज्मसँग जोड्दै स्थानीय रोजगारी र आम्दानी बढाउने दिशामा काम गरिरहेका छौँ ।” अध्यक्ष सापकोटाले यसलाई दिगो बनाउन पूर्वाधार सुधार, सेवा गुणस्तर र उचित प्रचारप्रसार आवश्यक रहेको औल्याए।
व्यवसायीमाझ उत्साहसँगै केही संशय पनि छन्। सरकारको यो निर्णयको मूल जड इन्धन खपत घटाउनु हो। यदि इन्धनअभाव नै भयो र सवारीसाधन सञ्चालनमा कडाइ गरियो भने निजी सवारीमा यात्रा गर्ने पर्यटक पोखरा आउन नसक्ने जोखिम पनि उत्तिकै रहन्छ। यसले पर्यटनमा उल्टो असर पार्न सक्ने चिन्ता पनि व्यवसायीमा छ।
अर्कोतर्फ, नेपालमा नीतिगत अस्थिरता दीर्घकालीन विकासका लागि चुनौतीपूर्ण समस्याका रूपमा रहँदै आएको छ । विगतमा पनि हप्तामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय पटक–पटक लागू र खारेज भएका उदाहरणले नीति निरन्तरतामाथि प्रश्न उठाएका छन्।
पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले भने, ‘यदि यस्तो नीति बारम्बार परिवर्तन भइरह्यो भने होटलहरूले दीर्घकालीन प्याकेज तयार गर्न सक्दैनन्, ट्राभल कम्पनीले स्पष्ट योजना बनाउन पाउँदैनन् र पर्यटकमा पनि अनिश्चितता बढ्छ ।” उहाँले पोखरा केवल एउटा सहर मात्र नभई अन्नपूर्ण क्षेत्रको प्रमुख प्रवेशद्वार हो।
फेवाताल, प्याराग्लाइडिङ, ट्रेकिङलगायत गतिविधिले यसलाई अन्तर्राष्ट्रियस्तरको आकर्षक गन्तव्य बनाएको छ भन्नुभयो । ‘वीकएन्ड टुरिज्म’लाई व्यवस्थित रूपमा विकास गर्न सकिएमा क्याफे सञ्चालक, ट्राभल गाइड, ट्याक्सी चालकदेखि लघुउद्यमीसम्मले प्रत्यक्ष लाभ लिन सकिने उनको भनाइ छ।
उनका अनुसार विश्वका धेरै देशहरूमा लामो समयदेखि दुईदिने साप्ताहिक बिदाको अभ्यास छ, जहाँ मानिसहरू परिवारसँग समय बिताउने, घुमफिर गर्ने र मानसिक शारीरिक रूपमा स्फुर्ति हुने अवसर पाउँछन् । नेपालका कूटनीतिक नियोगहरूमा समेत यो लागू छ, त्यसैले पाँच दिन प्रभावकारी काम र दुईदिन विश्रामको अवधारणा श्रम उत्पादकता, स्वास्थ्य र पारिवारिक सम्बन्ध सुदृढीकरणका दृष्टिले पनि उपयुक्त मानिन्छ। यसलाई केवल आर्थिक वा व्यावसायिक दृष्टिकोणबाट मात्र होइन, सामाजिक र सांस्कृतिक अवसरका रूपमा पनि हेर्नुपर्ने उनको भनाइ छ।
उनले भने, “नयाँ ठाउँको भ्रमणले मानिसलाई विविध संस्कार–संस्कृतिसँग परिचित गराउँछ, जीवनप्रतिको दृष्टिकोण फराकिलो बनाउँछ र आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुर्याउँछ।”
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सातामा दुईदिन बिदा दिने निर्णयले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा सञ्चार गरेको बताउनुभयो । “यो व्यवस्थाले विशेषगरी नेपाललाई विश्वभर चिनाउने पदयात्रा (ट्रेकिङ) पर्यटनमा उल्लेख्य टेवा पुग्नेछ, दुई दिने बिदाले छोटो समयमै नजिकका पदमार्गमा जाने संस्कृतिलाई प्रोत्साहन गर्छ”, उनले भने, “अन्नपूर्ण क्षेत्रका छोटा ट्रेकहरू, गाउँगाउँ जोडिएका पदमार्ग र होमस्टे गन्तव्यमा सहज रूपमा अनुभव गर्न सकिने भएको छ, जसले आन्तरिक पर्यटकलाई ट्रेकिङतर्फ आकर्षित गर्छ।”
उनले यो निर्णय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एउटा सुनौलो अवसर हो भन्दै यसको सफलता इन्धन आपूर्ति र यातायातको सहजता, नीतिको दीर्घकालीन निरन्तरता र ट्रेकिङमैत्री पूर्वाधार तथा सुरक्षासम्बन्धी व्यवस्थामा निर्भर रहने बताए।
अध्यक्ष आचार्यले यी पक्षहरू सन्तुलित रूपमा व्यवस्थापन गर्न सकिए पोखरा दक्षिण एशियाकै उत्कृष्ट ‘विकएन्ड ट्रेकिङ डेस्टिनेशन’का रूपमा स्थापित हुनसक्ने विश्वास व्यक्त गरे।