काठमाडौं। सरकारले असार ३२ मा ३० व्यवसायीलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मान गर्यो।
देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० जना व्यवसायीलाई सम्मान गरिरहँदा ऊर्जा, उड्डयन, कृषि, बैंक र आईटी क्षेत्रका उद्यमीको सूची भने देखिएन।
सम्मानितको सूचीमा उद्योग र वाणिज्यका व्यक्ति बढी मात्रामा देखिँदा मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँदै आएका आईटीलगायत क्षेत्रका व्यक्ति छुटाइएपछि आलोचना सुरु भएको हो। सरकारी स्तरबाट हुने सम्मानमा क्षेत्रगत विभेद हुनु राम्रो नभएको व्यवसायीको भनाइ छ।
होटल एसोसिएन अफ नेपाल(हान)का पूर्व अध्यक्ष एवं एसीई ग्रुपका अध्यक्ष योगेन्द्र शाक्यले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने व्यवसायीलाई गरिने सम्मानमा विभेद गर्न नहुने बताउँछन्। सामान्यतया सीआईपी सम्मानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक सूचना प्रकाशन गरेको हुन्छ।
कतिपय अवस्थामा सबै व्यवसायीले सार्वजनिक सूचना थाहा नपाउने र सम्मान पाउनकै लागि निवेदन लिन नमिल्ने तर्क पूर्वअध्यक्ष शाक्यको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्की सीआईपी सम्मानका लागि ऊर्जा क्षेत्रलाई योग्य नठान्नु सरकारको ठूलो गल्ती भएको बताउँछन्। ‘सुरुदेखि नै सम्मानको कार्यविधि बनाउनेको संकुचन सोचका कारण ऊर्जा क्षेत्र सीआईपी सम्मानबाट छुटिरहेको छ,’ अध्यक्ष कार्कीले भने, ‘अर्बौं रुपैयाँको विद्युत निर्यात गर्ने र मुलुकलाई पनि अर्बौं रुपैयाँ राजश्व तिरेर रोजगारी सिर्जना गर्ने क्षेत्रलाई छुट्याउनु उपयुक्त भएन।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले कार्यविधि बनाउँदा नै ऊर्जासहित उड्डयन, आइटी र कृषिलगायत क्षेत्र छुटेकाले याे वर्ष सम्मान गर्न नसकिएको बताए। ‘लामो समय रोकिएको सम्मान यो वर्ष गरेका हौं,’ प्रवक्ता बस्नेतले भने, ‘आगामी दिनमा सम्मानको कार्यविधि संशोधन गरेर छुटेका क्षेत्रलाई समेट्दै जानेछौं।’
सरकारको नजरमा सबै क्षेत्र समान रहेको बताउँदै कार्यविधिलाई टेकेर काम गर्दा छुटेको उनले स्वीकारे।
सीआईपी सम्मानको व्यवस्थापन गर्दै आएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सूचना अधिकारी रवीन्द्र दुवाडीले ऊर्जा, उड्डयनलगायत क्षेत्र कार्यविधिमै नरहेकाले छुटेको बताए। आइटी सहभागी नभएको र अन्य क्षेत्रलाई समेट्न कार्यविधि नै नबनेकाले छुटेको उनको भनाइ छ।
सीआईपी सम्मानका लागि केन्द्रले सार्वजनिक सूचना जारी गर्ने र कार्यविधिभित्र पर्नेलाई मात्रै सम्मान गर्दै आएको उनले जानकारी दिए। आगामी दिनमा छुटेका क्षेत्रलाई पनि समेट्ने गरी कार्यविधि संशोधन गर्न मन्त्रालयसँग छलफल भइरहेको उनले बताए।
सीआईपी सम्मानितले यस्तो पाउँछन् सुविधा
-त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन तथा प्रस्थान कक्षमा रहेको सीआईपी लाउञ्च र नेपालका अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिका लागि व्यवस्था गरिएको भीइआपी लाउञ्ज प्रयोगको सुविधा।
-सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका समारोह तथा कार्यक्रममा प्राथमिकताका साथ आमन्त्रण तथा आसनको विशेष व्यवस्था।
-विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको सहभागितामा प्रतिनिधित्व गर्न प्राथमिकता।
-सार्क क्षेत्रको भ्रमणका लागि सार्क भिसा उपलब्ध गराउन सिफारिस।