काठमाडौं। लुम्बिनी प्रदेशमा आयोजित पहिलो ह्याकाथनमा सहभागीले म्यानस एआई प्रयोग गरी एक घन्टामै १८ वटा एप, वेबसाइट तथा अन्य विभिन्न प्रोजेक्ट बनाएका छन्।
लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालगन्जमा साउन १६ र १७ मा आयोजित ह्याकाथन कार्यक्रम सिंगापुरमा मुख्यालय रहेको एआई कम्पनी म्यानस एआईसँगको प्रत्यक्ष सहकार्यमा ‘थिंक, बिल्ड, एन्ड स्केल’ नाराका साथ आयोजना गरिएको थियो।
कार्यक्रमले अहिलेको एआई युगमा कसरी कम्प्युटर कोडिङ तथा प्रोग्रामिङको ज्ञान नभएका व्यक्तिले पनि सजिलै एप, वेबसाइट तथा अन्य विभिन्न प्रोजेक्ट बनाउन सक्छन् भन्ने देखाएको थियो।
कार्यक्रमको पहिलो दिन सञ्चालन गरिएकाे एआईसम्बन्धी कार्यशालामा एआईमा उत्सुक लुम्बिनी प्राविधिक विश्वविद्यालयका विद्यार्थी तथा अन्य व्यक्ति गरी ४४ जना एआईका आधारभूत कुरा सिक्न भेला भएका थिए। कार्यशालामा उनीहरूलाई च्याटजीपीटी र जेमिनाईजस्ता एआई मोडल कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने विषयमा सिकाइएको थियो।
सहभागीले आफ्नो एआईको बुझाइको स्तर जाँच्न रमाइलो अन्लाइन क्विज पनि खेलेका थिए। उनीहरूले नोटबुक एलएमजस्ता टुल प्रयोग गरेर ई-बुक, थेसिस र रिपोर्टको सारांश निकाल्ने, किताबका विभिन्न पाठबाट पोडकास्ट बनाउने, जागिरका लागि आवेदन दिएपछि एआईसँग नै कुरा गरेर अन्तर्वार्ताको तयारी गर्ने, एआईसँग प्रश्नोत्तर गरी परीक्षाको तयारी गर्नेजस्ता विधिबारे व्यावहारिक ज्ञान प्राप्त गरे।
कार्यक्रमको मुख्य आकर्षण शनिबार ह्याकाथनको दिन थियो। २५ सहभागीले ह्याकाथनमा भाग लिई एआईलाई आफूले बनाउन चाहेको कुरा प्रम्प्टमार्फत बताएर १८ वटा एप, वेबसाइटजस्ता प्रोजेक्ट बनाएका थिए। ह्याकाथनलाई सहज बनाउन म्यानस एआईले सम्पूर्ण सहभागीलाई महँगो शुल्क तिरेर खरिद गर्नुपर्ने प्रो-एकाउन्ट र पर्याप्त क्रेडिट निःशुल्क उपलब्ध गराएको थियो।
कार्यक्रमले सहभागीलाई एआईमार्फत एप बनाउन कति सजिलो हुन सक्छ र यसले कसरी आफ्ना आइडियालाई सजिलै एपमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाएकाे थियो। नेपालका साना सहरका विद्यार्थीका लागि यस प्रकारका अवसर विरलै प्राप्त हुने गर्छन्।
हालै नासाको ‘हल अफ फेम’मा सूचीकृत मनोज कुमार चौधरीले पनि यस ह्याकाथनमा सहभागी भएर ‘ब्लड बैंक म्यानेजमेन्ट सिस्टम’ निर्माण गरे।
कैलालीबाट सहभागी एक जनाले दैनिक आठ घन्टा लामो आउजाउ गरी दुवै दिन कार्यक्रममा सहभागी हुन आएका थिए। विभिन्न पालिका र सरकारी निकायका सूचना प्रविधि अधिकृतले पनि कार्यक्रममा सहभागिता जनाएका थिए। प्रकाश चौधरीले बनाएको पुरानो पुस्तक नामक परियोजनाले ह्याकाथनमा पहिलो स्थान हासिल गरेकाे थियाे।
विजेताले केही दिनभित्रै म्यानसको मुख्यालय, सिंगापुरबाट प्रमाणपत्र पनि प्राप्त गर्नेछन्। सहभागीलाई प्रशंसापत्र प्रदान गर्दै विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारीले विद्यार्थीको उत्साहको सराहना गरे। उनले विद्यार्थीलाई सिक्न र अगाडि बढ्न सहयोग पुर्याउने उद्देश्यले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा एआई क्लबको आवश्यकता पनि उजागर गरेकाे बताइएकाे छ। विश्वविद्यालयले निकट भविष्यमा विद्यार्थीका लागि एआई क्लब गठन गर्ने योजना बनाएको छ।
२०७९ मा स्थापित लुम्बिनी प्राविधिक विश्वविद्यालयमा करिब २०० विद्यार्थीले आईटी र इन्जिनियरिङ अध्ययन गरिरहेका छन्।