काठमाडाैं। पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले आफ्नो खेतमा रोपाइँ गरेको पनि एक महिना बितिसक्यो। तर, अहिले पनि उनलाई आवश्यक पर्ने मलखाद (रासायनिक मल) भने प्राप्त गर्न सकेका छैनन्। “एक त खडेरी लागेर यहाँको धानको रोपो जोगाउनै मुस्किल भयो,” उनले भने, “अहिले भने धानमा हाल्नुपर्ने मलको भने चर्काे अभाव छ।”
उनले धानखेती गर्नका लागि आवश्यकता अनुसारको मल नपाइरहेको गुनासो गरे। “सोझासिधा कृषकलाई कहिले त पानीको समस्या हुने गर्छ,” उनले भने, “गाउँका टाठाबाठाले त सोर्सफोर्स लगाएर भए पनि जसरी पनि मलको जोहो गर्छन्। हामी त कसलाई भन्नु भनेर बसिरहनुपरेको छ।”
अहिले तराई–मधेसका कृषकले धानमा युरिया मल छर्ने बेला भएको छ। तर, यहाँ युरिया मल प्राप्त गर्न भने धेरै मुस्किल पर्ने गर्छ। उनी मात्रै होइन, वीरगञ्ज महानगरपालिका–२८ बगहीका चार बिघा धान खेप्ती गर्दै आएका गेनालाल पटेल पनि अकासेपानी परेसँगै कृषकमा आशाको तन्द्रा जगाएको बताए।
“यहाँ पानी परेपछि अलिकति धान हुन्छ कि भन्ने आशा जगाउने काम भइरहेको छ,” उनले भने, “सुक्खाग्रस्त हुँदा त धानको रोपो तथा बीउ पनि सुकिसकेको थियो। बीउ र धानको रोपो दुवै पलाउने आशा त जगाएको छ।”
उनले पछिल्ला दिनमा अकासेपानी परे पनि मलखादको समस्याले अर्काे तनाव सिर्जना गरेको गुनासो गरे। “कृषि कर्म गर्नेलाई कहिल्यै पनि शान्त भएर बस्न पाइँदैन,” उनले भने, “हामी त अभावै अभाव झेल्दै आइरहेका छौँ। कहिले पानीको अभाव, कहिले मलखादको अभाव यो त सामान्य जस्तै भइसकेको छ।”
कृषि ज्ञान केन्द्र पर्साका अनुसार आव २०७८/७९ मा पर्सा जिल्लामा १६ हजार ९६७ मेट्रिक टन रासायनिक मलको प्रयोग भएको थियो। केन्द्रका अनुसार सो वर्ष युरिया मल १० हजार ९० मेट्रिक टन, डिएपी छ हजार ९६ मेट्रिक टन, पोटास २७५ मेट्रिक टन प्रयोग गरिएको थियो।
पछिल्ला तीन वर्षमा मलको कति प्रयोग गरिन्छ भन्ने यकिन तथ्यांक भने आइसकेको छैन। केन्द्रका प्रमुख रामजीवन ठाकुरले पर्साको कृषियोग्य जमिनको उर्वराशक्ति घटेसँगै रासायनिक मलखाद अत्यधिक प्रयोग हुने गरेको बताउँछन्।
“सरकारी मापदण्डअनुसार प्रतिकट्ठा तीन/चार किलोग्राम मल प्रयोग गर्नुपर्ने हुन्छ तर धेरै खेती उब्जाउने नाममा कृषकले प्रतिकट्ठा आठ÷ १० किलोग्राम रासायनिक मल प्रयोग गर्दछन्,” उनले भने, “कृषकले अत्यधिक मात्रामा मल प्रयोग गर्ने भएकाले पनि अभाव हुने गरेको हो।”