काठमाडौं। नेपालको नवीकरणीय ऊर्जा र ठूला स्तरका ऊर्जा परियोजनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फण्डसँगको सहकार्यमा १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ। यसका लागि एनआईआईएफले डोल्मा इम्प्याक्ट फण्डको अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व ग्रहण गरेको हो।
यो लगानीले नेपालको वैकल्पिक ऊर्जा स्रोतको उपयोग गर्दै आन्तरिक ऊर्जा माग पूरा गर्न, आयातित इन्धनमा निर्भरता घटाउन र दीगो ऊर्जा भविष्यमुखी लक्ष्य हासिल गर्न सहयोग गर्नेछ।
सोलार फार्म लिमिटेडले लम्जुङको बेलथोकमा ५ मेगावाट क्षमताको सौर्य फोटोभोल्टाइक प्लान्ट स्थापना गरिसकेको छ भने ५० मेगावाटको सोलार फार्म तानाहुन र ४० मेगावाटको सोलार फार्म बुटवलसहितका १० मेगावाटका सौर्य परियोजनाको विकास योजनामा सक्रिय छ।
यो परियोजनामा एनआईआईएफको लगानीले सौर्य ऊर्जामा अन्तर्राष्ट्रिय स्तरका ठूला लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसअघि एनआईआईएफले २५ मेगावाटको पशुपति रिन्युब्लबल्स, ६.८ मेगावाटको जी.आई. सोलार र अन्य सौर्य कम्पनी घाम पावरमा पनि लगानी गरिसकेको छ।
एनआईआईएफका अध्यक्ष डा.मिनु थापाले भने, “सोलार फार्म लिमिटेड र यसका सहयोगी कम्पनीहरूलाई १० मेगावाट क्षमताको परियोजना विकासका लागि गरिएको यो लगानीले नेपालको दीगो ऊर्जा विकासमा टेवा पुर्याउनेछ।
जलविद्युत्मा भर पर्ने हाम्रो ऊर्जा संरचनामा सन्तुलन ल्याउँदै सौर्य ऊर्जाले नेपालका प्रमुख ऊर्जा चुनौतीहरू समाधान गर्नेछ। यसले स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्दै ऊर्जा सुरक्षामा योगदान पुर्याउनेछ र जलविद्युत् परियोजनाको तुलनामा छोटो समयमै निर्माण सम्पन्न गर्न सकिने फाइदा पनि दिनेछ।”
यो संयुक्त लगानीले सौर्य ऊर्जा उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने मात्र नभई राष्ट्रिय ऊर्जा मिश्रणमा विविधता ल्याई दीगो विकास लक्ष्य पूरा गर्न मद्दत पुर्याउने एनआईआईएफको विश्वास छ।