बागलुङ। ९ वर्षदेखि कालोपत्रे नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनुपरेको छ।
बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरवस्थाका कारण सवारी फसेर यात्रुले सास्ती खेप्ने गरेका हुन्। हिउँदमा धुलाम्य र बर्खा लागेपछि हिलाम्य सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ।
बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि दुई खण्डमा विभाजन गरेर ९ वर्षअघि ठेक्का लगाइएको थियो। बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्रे भएको छैन। आठ वर्षमा कालोपत्रे नभएपछि ठेक्का तोडिएको थियो।
ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ। चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनीट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे।
ट्रक मात्रै हैन, दर्जनौं कार तथा जिप सडकमा फस्ने गरेका छन्। लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्रे भइसकेको छ। बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयको छ।
नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्य भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताइन्। ‘पुनः ठेक्का लगाएको एक वर्ष भयो।
२१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ। अहिले पूर्वाधारको काम गरिरहेको र बर्खा लागेकाले सडक हिलाम्य छ’, मिश्रले भनिन्, ‘निर्माण व्यवसायीलाई बर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ।’
बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ असार २१ मा दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्रे सम्पन्न गर्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाखमा पुनः ठेक्का सम्झौता गरिएको थियो।–रासस