काठमाडौं। राजधानी तथा वरपरका हरेक रेस्टुराँमा साँझ परेसँगै पाइलै टेक्ने ठाउँ पाइँदैन। लाजिम्पाट, महाराजगञ्ज, नक्साल, दरबारमार्ग, बानेश्वर तथा करिडोर वरपरका हरेक रेस्टुराँका मुख्य ग्राहक हुन्- आईटी इन्जिनियर।
सातामा ५ दिन काम, त्यो पनि आरामदायी। मनग्य आम्दानी र विलासी जीवन जिउन सहज बनाइदिएको छ, विश्व बजारले। सञ्चालकले पनि नेपाली शैली र विदेशी परिकार पस्किएकाले अधिकांश आईटी कम्पनीमा काम गर्नेहरुको बेलुकीको गन्तव्य बनिरहेका छन्, रेस्टुराँ तथा होटलहरु।
पर्याप्त कमाइ र दिलै खोलेर खर्चिने जमातले जोगाइदिएका छन्, काठमाडौं, पोखरा, भैरहवा, चितवनलगायतमा खुलेका रेस्टुराँलाई। नेपालमा बसेर विदेशी कम्पनीका लागि काम गर्ने र डलरमा आम्दानी हुने भएपछि उनीहरुको जीवनशैली नै कायापलट भएको छ। ब्रान्डेड पसल, महँगा रेस्टुराँ इन्जिनियरको जमघट थलो हो।
नेपालमा एकपछि अर्को आईटी कम्पनी खुलेसँगै नेपाली युवक-युवतीको विकसित मुलुक जाने योजनासमेत रोकिएको छ। विश्वप्रख्यात कम्पनी नेपालमै आएका र तिनले दिएका सेवा-सुविधाले उनीहरुलाई विलासी सुविधा उपभोग गर्ने अवसरसमेत जुटाइदिएको छ। विश्वमा आईटी इन्जिनियर एकदमै महँगा हुँदै गइरहेको परिवेशमा नेपाल संसारको गन्तव्य मुलुक बनिरहेको छ। त्यसको फाइदा धेरै भए पनि नेपालले पाइरहेको छ।
इन्स्टिच्युट फर इन्टेग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले सन् २०२३ मा प्रकाशित गरेको ‘अनलिसिङ आईटीः एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’अध्ययन प्रतिवेदनले सन् २०२२ मा नेपालले ६७ अर्बको सूचना प्रविधि सेवा (आईटी सर्भिसेस) निर्यात गरेको तथ्यांक बाहिर ल्यायो।
यो तथ्यबारे नेपाली आईटी उद्योगसँग सम्बद्ध सरोकारवाला जानकारै थिए। तर, नीति निर्माता तथा कर्मचारीतन्त्रका लागि भने अनौठो थियो। आयातमा आधारित अर्थतन्त्र भएको मुलुकमा निर्यातको नयाँ औजार भेटिँदा अनौठो लाग्नु स्वाभाविक पनि हो। निजी क्षेत्रको करिब दुई दशक लामो एकल प्रयासलाई आईआईडीएसले तथ्यांकमै सार्वजनिक गरेपछि मात्रै सरकारी अधिकारी तथा निकायका बोलीमा ’आईटी सर्भिसेस निर्यात’ भन्ने शब्द बारम्बार आउन थालेको छ।
नेपाली आईटी कम्पनी हाल अमेरिका, युरोप र जापानलगायत मुलुकका ठूला कम्पनीका लागि काम गरिरहेका छन्।
आर्थिक वर्ष २०८१/८२ को संघीय बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि निर्यातलाई बजेटमै समावेश गरे। उनले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने तथा आगामी १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने एवं सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाइने महत्त्वाकांक्षी योजनाको समेत घोषणा गरे।
नेपालको परम्परागत प्रमुख निर्यात वस्तु तयारी पोसाक, पस्मिना, गलैंचा, हस्तकलाका वस्तु, खानेतेल र छुर्पीलाई प्रमुख मानिँदै आएकामा पछिल्ला वर्षदेखि ऊर्जा र सूचना प्रविधिलाई पनि लिन थालिएको छ। तर, सरकारी तथ्यांकले सूचना प्रविधिलाई निर्यात हुने वस्तुको सूचीमा भने राखिसकेको छैन।
नेपाली आईटी कम्पनी हाल अमेरिका, युरोप र जापानलगायत मुलुकका ठूला कम्पनीका लागि काम गरिरहेका छन्। नेपालमा कार्यालय स्थापना गरेर ग्लोबल क्लाइन्टका लागि काम गर्नेमा सेडार गेट, फ्युजमेसिन्स, लिपफ्रग टेक्नोलोजी, डियरवाक, लगपोइन्ट नेपाल, इकेबाना, क्लाउड फ्याक्ट्री, इन्फोडेभलपर्स, एफवन सफ्ट, रारा ल्याब्स, ब्रेन डिजिटल आइटी, भेरिक्स् नेपाल, सफ्ट नेपाल, जानकी टेक्नोलोजीजस्ता आईटी कम्पनी पर्छन्। यस क्षेत्रका कम्पनी दिनानुदिन बढ्दै जाँदा यसले अन्तर्राष्ट्रिय बजारका सम्भावना मात्रै खोलेका छैनन्, स्थानीय व्यापार, व्यवसायलाई समेत टेवा दिइरहेका छन्।
चियापसलदेखि तारे होटलसम्मलाई बिजनेस
आईटी कम्पनीले केवल डलर मात्रै देशमा भित्र्याएका छैनन्, चियापसलदेखि तारे होटलसम्मको बिजनेस बढाएका छन्। नेपालमा सञ्चालन भइरहेका कम्पनीमा आंशिक तथा पूर्णकालीन (पार्ट टाइम/फूल टाइम) कर्मचारी आबद्ध छन्। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनी (नास आईटी)का अध्यक्ष सन्तोष कोइरालाले बेलायतस्थित नेपाली दूतावासमा आयोजित नेपाल–युके टेक फोरममा बताएअनुसार यस क्षेत्रमा करिब ९० हजार बढी युवा जनशक्ति कार्यरत छ।
केही ठूला कम्पनीले हजारौं कर्मचारी कार्यालयमै राखेका छन्, जसले त्यस वरपरका स्थानीय चियापसलदेखि भान्साघरसम्मको व्यापार बढाएका छन्। कम्पनीले कार्यालयभित्र खाना ‘मेस’ सेवा सञ्चालन गर्न इन-हाउस, आउटसोर्सिङ, हाइब्रिड, फुड ट्रक र डिजिटल मोडल प्रयोग गरेका छन्। यसले कर्मचारीको सुविधा बढाउँदै स्थानीय व्यवसायीलाई आर्थिक रुपमा सहयोग पुर्याएको छ।
हाल नेपालमा झन्डै एक लाख बढी युवा कुनै-कुनै माध्यमबाट यो क्षेत्रमा सक्रिय रहेको, यसलाई आगामी पाँच वर्षमा पाँच गुणाले बढाउन सकिने र यो सम्भव भएको पाण्डे बताउँछन्।
नास आईटी उपाध्यक्ष गौरव पाण्डे यो क्षेत्र उद्योगकै रुपमा विस्तार हुँदै गएकाले पनि एउटै उद्योगले धेरै प्रकारका आर्थिक गतिविधि बढाउने बताउँछन्। ’यो क्षेत्र उद्योग बनिसेकको छ। उद्योगले एउटा क्षेत्रलाई मात्रै समेट्दैन। यसमा अन्य धेरै कुरा जोडिन्छन्,’ उनले भने, ’आईसीटी क्षेत्रमा धेरै युवा पुस्ता (२०-३५ उमेर)छ र आम्दानी पनि राम्रै छ। यो समूह अन्यको तुलनामा स्वतन्त्र र खर्चालु पनि हुन्छ। यसले अन्य क्षेत्रका आर्थिक गतिविधिमा स्वतः प्रभाव पार्छन्।’
हाल नेपालमा झन्डै एक लाख बढी युवा कुनै-कुनै माध्यमबाट यो क्षेत्रमा सक्रिय रहेको, यसलाई आगामी पाँच वर्षमा पाँच गुणाले बढाउन सकिने र यो सम्भव भएको पाण्डे बताउँछन्। उनका अनुसार नेपालमा शाखा विस्तार गरेका कम्पनीका मुख्यालयबाट आउने आगन्तुक तथा नेपाली कम्पनीमा उच्च ओहोदा एवं राम्रो आम्दानी भएकाले तारे होटलको बिजनेसमा समेत टेवा पुर्याइरहेका छन्। ’ठूलो आम्दानी हुने क्षेत्रको भएपछि सुविधा पनि उच्च नै उपभोग गर्न चाहन्छन्। यसले ठूला होटल तथा रिसोर्टको बिजनेसमा समेत सहयोग पुगेको छ,’ पाण्डेले भने।
अर्थविद् डा. डिल्लीराज खनाल आईटी क्षेत्रले विदेशी डलर मात्रै भित्र्याएको नभई आन्तरिक बजारलाई नै चलायमान बनाउन सक्ने भएकाले यसको आम्दानी र व्यवसायलाई विविधीकरण गर्न सक्नुपर्ने बताउँछन्। यसले उत्पादन एवं राजस्व मात्रै नभई आन्तरिक बजार माग र आकार बढाउने उनको भनाइ छ।
’यसले आन्तरिक बजारको आकार र माग बढाउँछ। त्यसैले डलरमा आम्दानी गरिरहेका क्षेत्रलाई आन्तरिक बजारमा खर्चिने ठाउँ पनि बनाइदिनुपर्छ। जुन बाटो आएको हो, त्यही बाटो जान दिनु भएन,’ उनले भने। विदेशमा लगानी गरेर कमाएको नाफाको केही हिस्सा नेपाल ल्याउनुपर्ने भनेजस्तै नेपालमा आएको आम्दानीलाई पनि पुँजी विस्तारमा लगाउनुपर्ने उनको सुझाव छ।
मार्टदेखि खाद्यान्न पसलको बिजनेस बुम
सहरका विभिन्न स्थानमा खुलेका आईटी कम्पनीका कारण पछिल्लो समय मार्ट, मदिरा, रेस्टुराँदेखि खाद्यान्न पसलको व्यापारमा टेवा पुगेको छ। कम्पनीहरुले ठूलो समूहमा काम गर्ने भएकाले कार्यालयभित्रै क्याफे, क्यान्टिन, कफीसपलगायतका व्यवसाय सञ्चालन गरिरहेका छन्। यति मात्रै होइन, यसले किराना पसलदेखि मार्टसम्मको व्यवसायमा सहयोग गरेको छ।
कम्पनीले आफ्नो कार्यालयमा दैनिक मेन्यू नै सेट गरेका छन्। जसले कार्यालयमा कुन परिकार बन्दै छ भन्ने जानकारी कर्मचारीलाई उपलब्ध हुन्छ।
बानेश्वरमा माई मार्ट सञ्चालन गर्दै आएका व्यवसायी अशोक सुवेदीका अनुसार उनको व्यापारको आधा हिस्सा आईटी कम्पनीले धानेका छन्। ‘कोरोनाअघि व्यापार सामान्य थियो। त्यसपछि यहाँ नजिकै केही आईटी कम्पनी आए। धेरै कर्मचारी भएका कम्पनीले कार्यालयभित्रै क्याफे, क्यान्टिन, कफीसप चलाएका छन्। तीन वटा यस्ता कम्पनीले मार्टबाट सामान लैजान्छन्। महिनामा एउटै कम्पनीले ५ देखि ७ लाखसम्म सामान लैजान्छन्’, उनले भने।
कम्पनीले आफ्नो कार्यालयमा दैनिक मेन्यू नै सेट गरेका छन्। जसले कार्यालयमा कुन परिकार बन्दै छ भन्ने जानकारी कर्मचारीलाई उपलब्ध हुन्छ। साप्ताहिक रुपमा काठमाडौंमा नाम चलेका फुडिङ सेवा दिने होटलले कार्यालयमै बुफे सञ्चालन गरेका छन्।
अमेरिका, भियतनाम र बेलायतमा कार्यालय नै राखेर काम गरिरहेको लिपफ्रग टेक्नोलोजीको नेपालको कार्यालयमा मात्रै ४ सय ५० बढी कर्मचारी काम गर्छन् भने हजारौं कर्मचारी अप्रत्यक्ष जोडिएका छन्। कम्पनीको क्यान्टिनमा मात्रै थप २५ बढी कर्मचारीले काम गरिरहेका छन्। यस्ता कम्पनी अहिले देशभर सयौंको संख्यामा छन् ।
‘फुड डेलिभरी र इटिङ आउट कल्चर’
लिपफ्रग टेक्नोलोजीका इन्जिनियर पवन लामिछानेका अनुसार निजी क्षेत्रको जागिरमध्ये अहिले सबैभन्दा राम्रो यही आईटी छ। तुलनात्मक रुपमा आम्दानीसमेत राम्रो र सातामा पाँच दिन काम, दुई दिन बिदा सुविधाका कारण परिवार, साथीभाइसँग रमाइलो गर्ने घुमफिरमा समेत सहभागी हुने गरेको उनले बताए।
कार्यालयले चौमासिक रुपमा आउट डिनर (बाहिर खाने) र वार्षिक रुपमा भ्रमण (आउटिङ)का लागि भन्दै केही रकमसमेत दिने गरेको उनको भनाइ छ। अन्य समय कार्यालयभित्रै खाना, खाजा चिया, कफी, कुकिजको पनि उस्तै राम्रो व्यवस्था हुने गरेको छ।
आईटी कम्पनीमा काम गर्ने युवाको औषत आय ५० हजारदेखि २ लाख रुपैयाँसम्म हुन्छ। उनीहरु नियमित रुपमा क्याफे, रेस्टुराँ र डेलिभरी सेवा प्रयोग गर्छन्। युवा कर्मचारीको बढ्दो संख्या र उच्च आम्दानीले सहरी क्षेत्रमा नयाँ खपतकर्ता विस्तार गरेको छ।
युवाहरुले आफ्नो आयको ठूलो भाग खाना, कफी, मनोरञ्जन र अन्य सेवामा खर्चिंदा स्थानीय व्यवसायलाई बलियो आर्थिक टेवा दिइरहेका छन्। यसले साना चियापसल, क्याफे, भान्साघर होटल, रेस्टुराँ र मनोरन्जन केन्द्रको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ।
पछिल्लो समय कर्मचारीमा काम गर्दै घुम्ने प्रचलनसमेत बढेको पाइन्छ, जसले पोखरा, नगरकोटका होटल तथा क्याफेको अक्कुपेसन बढेको छ।
नजिकका चियापसलले डिजिटल पेमेन्ट, वाईफाई र प्रिमियम स्न्याक्स थपेका छन्। बढ्दो ‘वीकेन्ड पार्टी र डिनिङ आउट कल्चर’मा यस क्षेत्रका युवाको आबद्धता बढी छ। कर्मचारीले सातामा दुई-तीन पटक रेस्टुराँमा डिनर गर्छन्, जसले ठमेल, जमल र पोखराका म्युजिक बारको व्यापार अपार छ। यस्ता कम्पनीका वरपर सञ्चालन भएका विभिन्न क्याफे तथा रेस्टुराँमा समेत विशेष छुटसहित खर्चालु ग्राहक तान्ने प्रयास भइरहेका छन्।
कतिपय कम्पनीमा काम गर्ने कर्मचारीले विभिन्न फुड डेलिभरी सेवा दिने होटल रेस्टुराँबाट इच्छाअनुसारको खाजा लिने हुँदा यसले डेलिभरी सेवा दिने कम्पनीको आम्दानीमा समेत वृद्धि भइरहेको छ। उच्च आम्दानी र खर्चका क्षेत्रसमेत विस्तार हुँदा कन्सर्ट, गेमिङ र स्ट्रिमिङजस्ता क्षेत्रमा समेत कर्मचारीले खर्च गरिरहेका छन् भने कतिपय गेमिङ फेस्टिभलमा आईटी कर्मचारी लक्षित गरी टिकट बिक्री हुने गरेको छ।
कर्मचारीले जिम, योगा स्टुडियो र हेल्थ क्लबमा नियमित खर्च गर्दा यस्ता क्षेत्रले समेत ग्राहक पाएका छन् भने आम्दानीसमेत बढाएका छन्। नेपालको अर्थतन्त्रमा नयाँ खपतकर्ता वर्ग सिर्जना गरेको छ। यी युवाको उच्च आय र खर्चने प्रवृत्तिले साना व्यवसायलाई नयाँ जीवन दिएको छ। यो प्रवृत्ति जारी रहे नेपालको सेवाक्षेत्र अझै बलियो हुने निश्चित छ।
घुम्दै काम गर्ने संस्कृति
गत वर्ष काठमाडौंको कीर्तिपुरमा स्थानीय तहको उपनिर्वाचनताका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गरेको एउटा भाषण सामाजिक सन्जालदेखि चियापसलसम्म चर्चा र बहसको विषय बन्यो। यसलाई कसैले राम्रो, कसैले हावादारी गफको संज्ञा दिए। उनले त्यो चर्चित भाषणमा भनेका थिए, ’ल्यापटप लिएर कीर्तिपुरको डाँडोमा बसेर काम गर्दै नेपाली युवाले महिनाकै ४/५ लाख कमाउन सक्छन्।’ थापाको त्यो भाषणको परिवेशलाई राजनीतिर नमोड्ने हो प्रसंगले ठ्याक्कै मेल खान्छ।
काम गर्दै घुमफिर गर्नेमा आईटी क्षेत्रको जनशक्ति बढी रहेको सूचना प्रविधि विज्ञ हेमपाल श्रेष्ठ बताउँछन्।
पछिल्लो समय कर्मचारीमा काम गर्दै घुम्ने प्रचलनसमेत बढेको पाइन्छ, जसले पोखरा, नगरकोटका होटल तथा क्याफेको अक्कुपेसन बढेको छ। ’कार्यालय समयबाहेक केही व्यक्तिगत रुपमा पनि काम गरिरहेको हुन्छु। सातामा दुई दिन शनिबार र आइतबार बिदा हुने गर्छ। बिदाको दिन प्रायः नगरकोट, लेलेतिर जाने गर्छु। रिफ्रेसमेन्ट पनि हुने, आफ्नो काम पनि हुने,’ एक आईटी कम्पनीमा कार्यरत इन्जिनियरले भने।
काम गर्दै घुमफिर गर्नेमा आईटी क्षेत्रको जनशक्ति बढी रहेको सूचना प्रविधि विज्ञ हेमपाल श्रेष्ठ बताउँछन्। ’अन्यको तुलनामा यस क्षेत्रमा काम गर्नेको आम्दानी राम्रो छ। घुमफिर गर्दै काम र आम्दानी पनि हुने भएकाले धेरैले काम गरिरहेका छन्। यसरी घुमन्तेले एक केजी काँक्रो होस् या सुन्तला। जे खरिद गरिदिए पनि स्थानीय उत्पादनको खपत बढेको छ,’ उनले भने, ‘भन्दा सामान्य लाग्ला तर यस्तै गतिविधिले आन्तरिक अर्थतन्त्रको चेनलाई सहयोग गरेका हुन्छन्।’
‘आईटी प्रोफेसनल टुरिजम’को सम्भावना
नेपालमा सूचना प्रविधि विकाससँगै आईटी प्रोफेसनल टुरिजमको विकास सम्भावना देखिएको विज्ञ श्रेष्ठ बताउँछन्। आईटी क्षेत्रमा काम गर्नेलाई गुणस्तरीय इन्टरनेट नेटवर्क हुने हुँदा जुनसुकै स्थानमा बसेर गर्न सकिने र पछिल्लो समय विदेशीले समेत नेपालमा पर्यटकको रुपमा काम गरिरहेको पाइएकाले यो नयाँ सम्भावनाको क्षेत्र भएको उनले बताए। यो पेसामा आबद्धले शान्त वातावरणमा बसेर काम गर्न रुचाउने भएकाले त्यस्ता पर्यटक नेपाल आउने गरेको उनको बुझाइ छ।
’पर्यटकले नेपालका डाँडाकाँडामा रहेका रिसोर्टमा हप्तौंसम्म बसेर काम गरिरहेको पाइन्छ। यसले पर्यटन व्यवसाय र हस्पिटालिटी सेवामा राम्रो योगदान गरेको छ,’ उनले भने, ‘नगरकोट क्षेत्रमा जाँदा त्यस्ता पर्यटक धेरै देखेको छु।’ उनका अनुसार त्यस्ता पर्यटकको बसाइँ लम्ब्याउने, पटक–पटक आउन प्रेरित हुने खाले कार्यक्रम सरकारले ल्याउनुपर्ने सुझाव श्रेष्ठले दिए।
रेमिट्यान्सको विकल्प आईटी कम्पनीको मुनाफा
नेपालका सूचना प्रविधिसम्बन्धी प्रतिनिधि संस्था नास आईटीका अध्यक्ष सन्तोष कोइरालाले केही समयअघि बेलायतस्थित नेपाली दूतावासमा आयोजित नेपाल-युके टेक फोरममा हाल ८० करोड अमेरिकी डलर बराबरको आम्दानी आईटी क्षेत्रबाट भइरहेको उल्लेख गरे।
नेपाल राष्ट्र बैंकले पछिल्लो पटक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गरी यस क्षेत्रका कम्पनीलाई कानुनी सहजता बनाइदिएको छ।
’नेपालले हाल ८० करोड अमेरिकी डरल बराबरको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरिरहेको छ। हाम्रो कुल निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अबको चार/पाँच वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौं’, उनले भने। उनले यस क्षेत्रमा करिब ९० हजार युवा कार्यरत रहेको जानकारी दिएका थिए।
नेपाल राष्ट्र बैंकले पछिल्लो पटक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गरी यस क्षेत्रका कम्पनीलाई कानुनी सहजता बनाइदिएको छ। विदेशमा लगानी गरी प्रतिफल नेपाल ल्याउने वातावरण बन्दा यसले देशमा ठूलो मात्रामा डलर भित्र्याउन मद्दत गर्ने हुँदा रेमिट्यान्सको विकल्प बन्ने पाण्डेको भनाइ छ।
‘नेपालको सञ्चित विदेशी विनिमयमा रेमिट्यान्सको हिस्सा धेरै छ। नेपाल राष्ट्र बैंकले गरेको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधनले नेपाली कम्पनीले लगानी लैजाने मात्रै होइन, मुनाफा (डिभिडेन्ट) पनि भित्र्याउनेछन्। यसले सरकारको डलर सञ्चितिमा रेमिट्यान्सलाई सहयोग पुर्याउँछ,’ पाण्डेले भने।
रेमिट्यान्स पठाउने व्यक्ति सोही ठाउँमा जानुपर्ने तर आईटी क्षेत्रका कर्मचारीले यहीँबाटै विदेशको आम्दानी र खर्च पनि स्वदेशमै गर्ने भएकाले आन्तरिक बजारलाई अझै धेरै योगदान हुने सूचना प्रविधि विज्ञ श्रेष्ठ ठान्छन्।
अर्थतन्त्रमा योगदान
मन्दीको मारमा परेकै अवस्थामा थाइल्यान्डले आईटी कम्पनीलाई विदेशमा लगानी गर्न सुविधा दिएको र त्यसले मन्दीबाट तंग्रिन सहयोग गरिरहेको उदाहरण पाण्डे दिन्छन्।
नेपालमा जनसंख्या कम हुनु र डिजिटल साक्षरतामा विकास हुनसमेत अझै समय लाग्ने भएकाले यसले तत्कालै ठूलो प्रतिफल दिने सम्भावना कम भएको उनको बुझाइ छ। ’हामीले आईटी-आईटी भनिरह्यौं। अब यसले देशको कुल राष्ट्रिय उत्पादन (जीडीपी) मा पनि कसरी बढीभन्दा बढी योगदान गर्न सक्छ भन्नेमा बहस हुन जरुरी छ,’ उनले भने।
आईटी क्षेत्रले देशको जीडीपीमा एक प्रतिशत मात्रै प्रत्यक्ष योगदान गरिरहेको छ। यसले बढीमा पाँच प्रतिशत योगदान गर्न सक्ला गर्ला। तर, यो क्षेत्र विस्तार गर्न सके अन्यत्रबाट पनि अप्रत्यक्ष जीडीपीमा सहयोग पुग्न सक्छ। नेपालको कृषि र पर्यटन ठूला योगदान कर्ता हुन्। यी क्षेत्रलाई आईटीले अझै ग्रुम गर्न सहयोगी हुन सक्ने पाण्डे बताउँछन्।
कृषि, पर्यटनबाहेक यातायात, स्वास्थ्य, शिक्षा, हस्पिटालिटी, निर्माण, उद्योग, बिमालगायका क्षेत्रबाट अर्को २० प्रतिशत योगदान बढाउन आईटीले सहयोग गर्न सक्ने उनको भनाइ छ। अत्यधिक रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र भनेकै निर्माण र उत्पादनमा आधारित उद्योग हुन्। त्यसैले यस क्षेत्रमा समेत केही न केही प्रविधि प्रयोग जरुरी भइसकेको पाण्डे औंल्याउँछन्।
यति मात्रै होइन, यसले डाटा प्रोसेसिङ र कोडिङका लागि आवश्यक उच्च क्षमताका कम्प्युटर डिभाइसको बजारसमेत बढाएको छ।
आईआईडीएसको तथ्यांकले आईटी सर्भिसेस निर्यातले मुलुकको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत र विदेशी विनिमय सञ्चितिको ५.५ प्रतिशत अंश ओगटेको तथ्य आईआईडीएसको अध्ययनले देखायो। यसपछि खासै अध्ययन भएका छैनन् तर, नेपालबाट झन्डै खर्ब हाराहारीको आईटी सर्भिस निर्यात हुने गरेको अनौपचारिक अनुमान छ।
ऊर्जा खपत बढाउन सकिन्छ
यति मात्रै होइन, यसले डाटा प्रोसेसिङ र कोडिङका लागि आवश्यक उच्च क्षमताका कम्प्युटर डिभाइसको बजारसमेत बढाएको छ। पछिल्ला केही वर्षदेखि देशमा विद्युत् उत्पादन बढ्दो छ। सरकारले ऊर्जा निर्यात गरिरहेको छ भने आन्तरिक बजारसमेत खोजिरहेको छ।
अत्यधिक विद्युत् खपत गरी ऊर्जा संकट पार्न सक्ने विषय बनेका ठूला प्रविधि कम्पनीका डेटा सेन्टर तथा कृत्रिम बुद्धिमत्ता (एआई) मोडल प्रशिक्षण केन्द्र स्थापना गर्न सके ऊर्जा खपतसमेत बढाउन सकिने देखिन्छ। नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई परिचालन गरी विश्वस्तरीय डेटा सेन्टर निर्माण गर्न सकिने डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले टेक फोरममै बताएका थिए।
गोचरको विचारसँग विज्ञ श्रेष्ठ पनि सहमत छन्। आईटी क्षेत्रले गरेको आम्दानी र विज्ञतालाई डेटा सेन्टर तथा एआई मोडल विकासमा लगाई क्षेत्रगत विस्तार गर्न सक्नुपर्ने उनको सुझाव छ।
यता, नास आईटीका उपाध्यक्ष पाण्डे भने ऊर्जा, हिमाली भेग हुँदैमा ठूला डेटा सेन्टर सञ्चालन गर्न भू-संरचनाका कारण सहज नभएको बताउँछन्। ’हाम्रो भू–संरचना कमजोर छ। ठूला डेटा सेन्टर निर्माण तथा सञ्चालन गर्न सोहीअनुरुपको खर्च हुन्छ। पूर्वाधारमा हुने लगानीमा ऊर्जाको प्रयोगले ‘ब्यालेन्स’ गर्छ कि गर्दैन भनेर हेरिनुपर्छ। त्यति सहज भने देखिँदैन,’ उनले भने।
नियामककै अन्यौल
२०८० चैतमा राजस्व अनुसन्धान विभागले सूचना प्रविधि (आईटी)सेवा निर्यात गर्ने कोटीभिटी नेपाल प्रालिले भ्याट छलेको भन्दै बिगो र जरिवानासहित साढे १० अर्ब रुपैयाँको मुद्दा दायर गरेको थियो। एकल सेयरधनी रहेको अमेरिकी कम्पनी कोटीभिटी इंक ६ सय बढी आईटी इन्जिनियरलाई रोजगारी दिइरहेको नेपालकै सबैभन्दा ठूलोमध्येको आईटी कम्पनी थियो।
त्यस्तै, अवस्था अर्को ठूलो प्रविधि कम्पनी नेपाल क्यान मुभको छ। यो कम्पनीलाई विभागले १ अर्ब ३६ करोड ८८ लाख बढी बिगो र ब्याजसमेत दिनुपर्ने भन्दै मुद्दा दायर गर्यो। विभागले मुद्दा हालेपछि यो क्षेत्र आतंकित बनिरहेको छ।
हाल यो क्षेत्रलाई लगानी लैजाने तथा भित्र्याउनेलगायत काममा राष्ट्र बैंकले नियमन गरिरहे पनि आधिकारिक नियामक तथा प्रवद्र्धक निकाय नहुँदा बेलाबेला आउने यस्ता समस्यामा मध्यस्थता गर्न समस्या भइरहेको उपाध्यक्ष पाण्डे बताउँछन्। पर्यटन बोर्ड, वैदेशिक रोजगार बोर्डजस्तै साझा निकायको गठन तथा व्यवस्थापन हुनुपर्ने उनको धारणा छ।
’आईटीमा पनि पर्यटन बोर्ड, वैदेशिक रोजगार बोर्डजस्तै साझा निकाय भइदिए सहज हुने थियो। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सातै प्रदेशमा आईटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आईटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना रहेको बताउनु भएको सुनेको छु। छिट्टै काम अगाडि बढोस्,’ पाण्डेले भने।
श्रेष्ठले बोली र कागजमा मात्रै सहजीकरण भएको तथा हाल भइरहेका केही सुधार अलि सतही भएको बताए। ’नेपालमा कम्पनी खोल्नेदेखि विदेशमा शाखा खोल्नेसम्मका कुरा आएका छन्। केही नीतिमा आए तर व्यवहारमा छैनन्,’ श्रेष्ठले भने, ’सम्बन्धितको दिमागमा यो क्षेत्र पर्यो तर व्यवहारमा आएन। कोटीभिटीको समस्या यथावत् नै छ।’