काठमाडौं । भारतले आफ्नो मुलुकमा ‘लकडाउन’ गरे पछि दैनिक उपभोग्य वस्तुको कच्चा पदार्थको आयात ठप्प भएको छ । भारतबाट कच्चा पदार्थ आउन छाडेपछि अधिकांश खाद्य उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
नेपाली उद्योगीले मगाएका कच्चा पदार्थ बाटो बाटोमै रोकिएर बसेका छन् । यदि ती सामग्री नेपाल ल्याउन सकिएन भने आउने दिन झन भयाबह हुने उद्योगीहरु बताउँछन् ।
अहिले उद्योगीले आफूसँग मौज्दात रहेको कच्चा पदार्थ प्रयोग गरेर सामग्री बनाइरहेका छन् । ‘उद्योगसँग मौज्दात पनि धेरै हुँदैन्,’ एक खाद्य उद्योगीले भने, ‘अधिकतम एक हप्तासम्मलाई पुग्ने कच्चा पदार्थ हुन्छ । त्यहीबाट दैनिक उपभोग्य वस्तु उत्पादन गरिरहेका छौं । तर, अब सकिन थालेको छ ।’
सरकारले तत्कालै कुटनीतिक पहल गरेर भारतबाट कच्चा पदार्थ छुटाउन नसक्ने हो भने दैनिक उपभोग्य वस्तुको चरम अभाव हुने उद्योगीहरु बताउँछन् ।
एकातिर भारतबाट कच्चा पदार्थ नआएकाले उद्योगीहरु समस्यामा परेका छन् भने अर्कोतिर उद्योगमा काम गर्न कामदार पनि आउन छाडेका छन् । कोरोना भाइरसको संक्रमणको डर भए पछि कामदार आउन छाडेको निम्बस होल्डिङ्सका प्रवन्ध निर्देशक आनन्द बगरियाले बनाए ।
‘अहिले कर्मचारी आउनै मान्दैनन्,’ उनले भने, ‘एकातिर कर्मचारी नआउने र अर्कोतिर कच्चा पदार्थ पनि नभित्रिए पछि देशको अवस्था कस्तो होला ?’
सरकारले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने बताए पनि अहिले नै धेरै उद्योग कामदार र कच्चा पदार्थको अभावले बन्द भइसकेका छन् । सरकारले ती उद्योग सञ्चालन गर्न आवश्यक पर्ने कच्चा पदार्थ नझिकाउने हो भने नेपालमा दैनिक उपभोग्य वस्तुको चरम अभाव हुने उद्योगीहरु बताउँछन् ।
आउनै छाडे कामदार
कोरोना भाइरसको संक्रमणको डर भए पछि उद्योगमा कामदार आउन छाडेका छन् । कामदारका परिवारले काममा नजान आग्रह गरे पछि अधिकांश उद्योगमा कामदारले नआउने बताएर आउन छाडेका छन् । कामदार नआए पछि उद्योग सञ्चालन गर्न सकिँदैन् ।
‘काम भन्दा ज्यान ठूलो भन्दै आफ्ना परिवारले नजानु भने पछि कसको के लाग्छ,’ एक उद्योगीले भने, ‘उनीहरुलाई उद्योगमा ल्याउन सकिएन भने उद्योग आफै बन्द हुन्छ ।’
ट्रक चालक पनि मान्दैनन्, ढुवानी गर्न
विगत केही दिन देखि ट्रक चालकले आफ्नो काम गर्न छाडेका छन् । कोरोना भाइरसको संक्रमण हुने डर बढेपछि उनीहरु सामान ढुवानी गर्न आएका छैनन् । केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक कुमुद दुगडका अनुसार ढुवानीकर्ता नआएकाले उत्पादित सामग्री गोदाममै थन्किएको छ ।
ट्रक चालकहरु कामम फर्किन मानेका छैनन् । त्यसले गर्दा पनि बजारमा सामान आपूर्ति हुन सकेको छैन ।
कच्चा पदार्थको पनि चरम अभाव
सरकारले दैनिक उपभोग्य वस्तु र अत्यावश्यक उद्योग चलाउने निर्णय गरे पनि त्यस्ता सामान उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुकबाट आयात हुन सकेको छैन । अहिले उद्योगीले मौज्दात कच्चा पदार्थबाट सामान उत्पादन गरिरहेका छन् । अब त्यो पनि सकिएको छ । भारतबाट आयात ठप्प भएको र आफूसँग भएको कच्चा पदार्थ सकिएकाले उद्योग बन्द गर्नुको विकल्प नभएको उद्योगीहरु बताउँछन् ।
उद्योगीले मगाएका सामान बाटो बाटोमै रोकिएका छन् । कुनै सामान बन्दरगाहमा रोकिएका छन् भने कतिपय सामान भन्सारमा आएर रोकिएका छन् । ‘सामानलाई जहाँको त्यही छाडेर ट्रक चालकहरु आ–आफ्नो घरमा पुगिसकेका छन् । यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्नु’ एक उद्योगीले प्रश्न गरे ।