काठमाडौं। सामान्यतया दसैं र तिहारको बेला जहाजको टिकटको मूल्य महँगो हुन्छ। अन्य समयको तुलनामा यी पर्वमा जहाज टिकट मूल्य महँगो भएको भन्दै एयरलाइन्स कम्पनीहरुको चर्को आलोचना पनि हुन्छ।
सामान्य समयभन्दा चाडपर्वको बेला किन भाडा महंगो हुन्छ त? यति एयरलाइन्सका अकाउन्टेबल म्यानेजर युवराज विष्टका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको अधिकतम र न्यूनतम मूल्यभित्र रहेर टिकट बिक्री हुने गर्छ।
‘दसैं र तिहारमा एकतर्फी मात्र यात्रुहरु बढी हुने भएकाले दुई तर्फको हिसाब मिलाउनका लागि अधिकतम मूल्यमा टिकट खुला गरिएको हुन्छ,’ अकाउन्टेबल म्यानेजर विष्टले भने, ‘सिस्टम्अनुसार बुकिङ खुलाउँदा धेरैको इन्क्वारी आउने भएकाले महँगोको मात्र पाउने गरेका हुन्छन्।’
बुद्ध एयरका प्रवक्ता रुपेश श्रेष्ठले टिकटको माग अत्याधिक बढ्ने हुँदा त्यो बेला मूल्य बढ्ने प्रक्रिया सामान्य रहेको बताए। ‘चाडबाडको बेला मूल्य बढेको भनेर हल्ला हुने मात्र हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘एयरलाइन्सको टिकट मात्र हैन, सबै बस्तुको माग जति बढ्छ उति मूल्य बढेको हुन्छ।’
सामान्यतया एयरलाइन्सले सार्वजनिक यातायातमा जसरी दसैं-तिहारका लागि भनेर छुट्टै बुकिङ खुल्ला गर्ने नगरिएको बुुद्ध एयरका प्रवक्ता श्रेष्ठको भनाइ छ। यात्रुहरुले दसैं र तिहारको बेलामा टिकट नपाउने भएकाले छिटो बुकिङ गर्ने गरेको उनको भनाइ छ।
एयरलाइन्सका अनुसार न्यूनतम मूल्य अर्थात सस्तो टिकटक लगभग सकिएको र अधिकतम मूल्यका टिकट मात्र बाँकी रहेको छ।
‘जति बेला धेरै माग बढ्यो, त्यो बेला न्यूनतम मूल्यको टिकट सकिएर अधिकतमको बिक्री हुँदै जान्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘दसैं र तिहारको बेलाको अवस्था पनि त्यही हो।’
अहिले एयरलाइन्सहरुको अग्रिम टिकट बुकिङ धमाधम भइरहेको छ। यति एयरलाइन्सको हालसम्म ३० देखि ३५ प्रतिशत बुकिङ दसैंको बेलाका लागि भइसकेको जनाएको छ। यस्तै, बुद्ध एयरको ३५ देखि ४० प्रतिशत टिकट बुक भएको जनाएको छ। श्री एयरलाइन्सको पनि सोही हाराहारीमा बुक भएको छ।
एयरलाइन्सका अनुसार न्यूनतम मूल्य अर्थात सस्तो टिकटक लगभग सकिएको र अधिकतम मूल्यका टिकट मात्र बाँकी रहेको छ। ‘जति धेरै ढिला बुक ग¥यो उति महँगो हुँदै जान्छ,’ यति एयरलाइन्सका अकाउन्टेबल म्यानेजर विष्टले भने, ‘दसैं र तिहारमा मात्र हैन, जति बेला सडक मार्ग बिग्रिन्छ, त्यो बेला पनि अत्याधिक माग हुँदा टिकटको मूल्य बढेकै हुन्छ।’
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयरलाइन्सहरुको टिकट मूल्य अधिकतम र न्यूनतम निर्धारण गरेकाले त्यहीअनुसार शुल्क लिने गरेको पाइएको बताए।
यदि, कुनै एयरलाइन्सले सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिएको पाइएमा प्राधिकरणलाई खबर गर्न यात्रुहरुलाई अनुरोध गरे। 'निर्धारण दरभन्दा माथि गएर मूल्य लिएको प्रमाण भए हामीलाई दिनुस्, हामी कारबाही गर्छौं,' सूचना अधिकारी भुलले भने।