काठमाडौं। नेपाली हवाई उड्डयन क्षेत्रका लागि परिचित मनाङ एयर तीन दशक पूरा हुन थालेकाे छ। सन् १९९७ मा स्थापना भएको हेलिकोप्टर कम्पनी मनाङ एयरले २७ वर्षपछि ब्रान्ड नाम परिवर्तन गरकेाे छ।
हिमाली क्षेत्रमा उडान, खोज तथा उद्धार र आकस्मिक उडान गर्दै आएको मनाङ एयरले करिब तीन दशकपछि आफ्नो ब्राण्ड नाम परिवर्तन गरेको हाे। दुई वटा हेलिकोप्टरमार्फत उडान गर्दै आएको मनाङले नयाँ ब्रान्डमामा सञ्चालन गरेको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
‘दशकौंदेखि चलेको ब्राण्डलाई चटक्क छोडेर नयाँ नाममा उडान गर्ने निर्णयमा पुग्दा हामीलाई पनि केही असज भएको छ,’ अध्यक्ष मल्लले भने, ’हाम्रो सेवालाई विस्तार गर्दै लैजाने सोचका साथ बेसक्याम्प राखेका हौं।’
‘मनाङ भन्ने बित्तिकै एउटा जिल्ला र समुदाय केन्द्रित मात्र हुने जस्तो देखिएकोले सबैको साझा क्षेत्र बेसक्याम्पलाई नामकरण गरिएको हो,’ अध्यक्ष मल्लले भने ‘अधिकाशं समय हरेक हिमालको बेस क्याम्पमै पुगिरहनुपर्ने भएकोले पनि सबैलाई सहज होस् भन्ने उद्देश्य हामीले राखेका हौं।’
दुर्घटनाको छाप मेटाउँदै
२०८० असोजमा तीन महिनाकै बीचमा दुईवटा हेलिकोप्टर दुर्घटनामा परेको थियो। दुईवटै हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान इजाजतपत्र (एओसी) नै निलम्बन गरेको थियो।
मनाङले दुर्घटनाको पिडालाई भुल्दै करिब १ अर्ब रुपैयाँ लगानी गरेर तीनवटा हेलिकोप्टर ल्याउने घोषणा गर्याे। हाल मनाङसँग २ वटा हेलिकोप्टर सञ्चालनमा छन्।
यो वर्षको ब्यापारको आधारमा अर्को वर्ष १ वटा हेलिकोप्टर थप्ने गरी तयारी अगाडी बढाएको अध्यक्ष मल्लले जानकारी दिए। नयाँ ब्राण्ड राख्नुमा दुर्घटनाको छाप मेटाउन मात्र नभई सबैलाई सुहाउने खालको नाम राखिएको अध्यक्ष मल्लको भनाइ छ।
मनाङ भन्नेबित्तिकै दुर्घटना बढी हुने हेलिकोप्टर कम्पनीको रुपमा धेरै चर्चा हुने भएकोले त्यसको नकारात्मक सन्देश मेटाउनका लागि नयाँ ब्राण्डमा राखिएको चर्चा पर्यटन व्यवसायीमाझमा रहेको छ। तथापि, अध्यक्ष मल्लले नकारात्मक सन्देशलाई मेटाउन भन्दा नयाँ ब्राण्डिङ मात्र गरिएको दाबी गरेका छन्।
सिम्रिक एयर बनेको थियो गुण
हुन त, यसरी नयाँ ब्राण्डमा एयरलाइन्स सञ्चालन भएको नयाँ भने हाेइन। यसअघि सिम्रिक एयर बिक्री भएपछि राजेन्द्र शाक्यको गुण समूहले एयरलाइन्सको नाम गुण एयर राखेकाे छ।
सुरुमा गुण एयरकै ब्राण्डमा सञ्चालनमा रहे पनि क्याप्टेन रामेश्वर थापाले सिम्रिक एयरका जहाज खरिद गरेका थिए। त्यसपछि बन्द भएको गुण एयर पुनः शाक्य परिवार आएपछि पुरानै नाममा सञ्चालनमा आएको हो।