काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच वर्षभित्रमा पाँचवटा हेलिकोप्टर अनिवार्य पुर्याउनु पर्ने नीति ल्याएसँगै हेलिकोप्टर कम्पनीहरु मर्जरका लागि छलफलमा जुटेका छन्। प्राधिकरणले २०८० भदौमा एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) परिमार्जन गर्दै ९ वटा नयाँ व्यवस्था जारी गरेर पाँचवटा जहाज अनिवार्य पुर्याउनु र्याउनुपर्ने उल्लेख छ।
पाँचवटा पुर्याउनुपर्ने व्यवस्था ल्याएको ५ वर्ष पुग्न अब तीन वर्ष मात्र बाँकी रहँदा समेत धेरै कम्पनीले पुर्याउन सक्ने स्थिति नदेखिएका कम्पनीहरुले मर्जरका लागि छलफलमा जुटेका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबको २ वर्षभित्रमा हेलिकोप्टर र एयरलाइन्स कम्पनीले अनिवार्य रुपमा ५ वटा जहाज वा हेलिकोप्टरको संख्या पुर्याउने बताए। एओसीआरमै आएको विषय भएकोले अहिले केही हेलिकोप्टर कम्पनी हेलिकोप्टर थप्ने तयारीमा लागेको उनको भनाइ छ।
‘केहिले संख्या पुर्याइसकेकाे र अन्य पनि छलफलमै रहेको थाहाँ पाएको छु,’ सूचना अधिकारी भुलले भने, ‘संख्या पुर्याउन नसक्ने मर्जरमा समेत जान सक्ने बाटो खुला गरेका छौं।’
बेसक्याम्प एयरका अध्यक्ष राजेन्द्र मल्लले प्राधिकरणको नीतिअनुसार तत्कालै ५ वटा हेलिकोप्टर पुर्याउन सक्ने स्थिति नभएकोले मर्जरका लागि केही नयाँ व्यवस्था छ कि भन्ने विषयमा छलफल सुरु भएको बताए।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबको २ वर्षभित्रमा हेलिकोप्टर र एयरलाइन्स कम्पनीले अनिवार्य रुपमा ५ वटा जहाज वा हेलिकोप्टरको संख्या पुर्याउने बताए।
‘प्राधिकरणले ५ वटा हेलिकोप्टर पुर्याउन दबाब दिने र अर्कोतर्फ नयाँ-नयाँ कम्पनीलाई पनि दर्ता गराएर दोहोरो नीति अपनाउदै आएको छ’, अध्यक्ष मल्लले भने, ‘अहिलेकै स्थितिमा ५ वटा संख्या पुर्याउन सक्ने स्थितिमा छैनौं।’
एक हेलिकोप्टर सञ्चालकका अनुसार थोरैथोरै संख्या भएका हेलिकोप्टर कम्पनीबीच मर्जरका लागि छलफल भइरहेको छ। ‘नियामक निकायको नीति मान्न अनिवार्य रहेकोले पनि कि त ५ वटा पुर्याउनु पर्याे, कि त मर्जरमा जानुपर्याे’, ती सञ्चालकले भने, ‘मन मिल्ने कम्पनीसँग मर्जरका लागि पटकपटक छलफल भइरहेको छ।’
यसअघि पनि धेरै पटक मर्जरका लागि छलफल भए पनि ठोस निर्णयमा पुगेका थिएनन्। तर, यो पटक भने जहाजको संख्याको कारणले पनि मर्जरमा जानुको विकल्पनै नभएको ती सञ्चालकहरुको भनाइ छ।
नयाँ हवाई नीतिमा पनि तीन वटा जहाज र पाँच वटा हेलिकोप्टर अनिवार्य भन्ने विषयमा समावेश हुँदैछ। त्यसैले अब एयरलाइन्स कम्पनीहरुले त्यहीँअनुसारले अगाडि बढ्नुपर्ने अवस्थामा रहेको व्यवसायीहरुको भनाइ छ। अहिले सिमित हेलिकोप्टर कम्पनीबाहेक अधिकांशको पाँच बटाभन्दा कम छ।
केही हेलिकोप्टर कम्पनीले आगामी तीन वर्षभित्रै पाँच वटा पुर्याउने गरी काम थालेको छ। हाल एक दर्जनभन्दा बढी हेलिकोप्टर कम्पनी र पाँचवटा एयरलाइन्सले आन्तरिक उडान गर्दै आएको छ।