काठमाडौं। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको पृष्ठभूमिमा नेपालमा ‘नेपो बेबी’ नामक नयाँ अभियान सुरु भएको छ। यो अभियान सामाजिक सञ्जालमा नेता, न्याय क्षेत्रका व्यक्ति तथा सरकारी अधिकारीहरूका सन्तानको आलिसान जीवनशैली सार्वजनिक गर्दै, करदाताको पैसाको दुरुपयोगविरुद्ध आवाज उठाइरहेको छ।
अभियान विशेषगरी टिकटक, इन्स्टाग्राम र रिडइटमार्फत अघि बढिरहेको छ। यसैक्रममा सोमबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवन अगाडि र माइतीघरमा ‘जेनजी’ पुस्ताका युवाहरूले भ्रष्टाचार र परिवारवादविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन्। उपत्यकाबाहिरका जिल्लामा पनि सोही दिन सीडीओ कार्यालय अगाडि प्रदर्शन हुने तयारी छ।
नेता सन्तानको जीवनशैली सार्वजनिक
अभियानमा सहभागीहरूले प्रमुख राजनीतिक दलका नेताहरूका सन्तानका महँगो शौक र विदेश यात्राबाट भरिएका तस्बिर तथा भिडियो सार्वजनिक गरिरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा र नातिनी स्मितासहित पूर्वप्रधानन्यायाधीश र पूर्वप्रहरी प्रमुखका सन्तानहरूको जीवनशैलीमाथि पनि प्रश्न उठाइएको छ।
कलाकार र कन्टेन्ट क्रियटरहरूले समेत अभियानलाई साथ दिँदै भिडियो र सामग्री सार्वजनिक गरिरहेका छन्। उनीहरूका अनुसार भ्रष्ट नेताको कारण आफ्नो भविष्य बर्बाद भएको महसुस भएकाले अब मौन नबस्ने बताइएका छन्।
‘नेपो बेबी’ अभियान के हो?
‘नेपो बेबी’ भन्नाले नातावाद वा परिवारवादका कारण विशेष अवसर, पद वा सम्पत्ति पाउने सन्तानलाई जनाइन्छ। योग्यता वा क्षमता भन्दा पनि शक्तिशाली परिवार र नातागोतालाई आधार बनाएर सफल हुने प्रवृत्तिलाई व्यङ्ग्यात्मक रूपमा सो शब्द प्रयोग हुन्छ।
यो अवधारणा विश्वव्यापी चर्चित बनेको हो। इन्डोनेसियामा राष्ट्रपति जोको विडोडो (जोकोवी) का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि ‘नेपो बेबी’ अभियान तीव्र भयो। त्यहाँ राजनीतिक परिवारवादको विरोधमा सुरु भएको आन्दोलन फिलिपिन्स हुँदै नेपालसम्म फैलिएको हो।
फिलिपिन्समा यो अभियान नेताका छोराछोरीले देखाएको महँगो जीवनशैली र भ्रष्टाचारमा जोडियो। बाढी नियन्त्रणको बजेटमा भएको दुरुपयोग र ठेकदार–नेता गठजोडले ‘नेपो बेबी’ अभियानलाई झनै जनस्तरमा लोकप्रिय बनायो।
नेपालमा आन्दोलनको रूप
नेपालमा समेत यही प्रभाव देखिएको छ। सामाजिक सञ्जालमार्फत सुरु भएको यो अभियान अहिले सडक आन्दोलनसम्म पुगेको छ। युवाहरूले ‘सामाजिक सञ्जालमा लाइक–कमेन्ट गरेर मात्र परिवर्तन नहुने’ भन्दै प्रत्यक्ष आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका छन्।
सामाजिक सञ्जालमाथि सरकारले हालसालै २६ वटा प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि युवाहरूको आक्रोश झन् चुलिएको छ। उनीहरूले यसलाई ‘भ्रष्टाचार लुकाउने प्रयास’ भन्दै सडकमा उत्रन थालेका छन्।
‘नेपो बेबी’ अभियानले नेपालमा परिवारवाद, करको दुरुपयोग र नेताका सन्तानको अकूत विलासितामाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताको असन्तोषलाई सडकसम्म ल्याएको छ। अन्तर्राष्ट्रिय स्तरमा फैलिएको यो अवधारणा अहिले नेपालमा पनि व्यापक बहस र आन्दोलनको रूप लिन थालेको देखिन्छ।