काठमाडौं। नेपालमा चार दशक ४० वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र पोखरामा ‘रिडफाइन योर लिमिट’ नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ।
यस भव्य कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा नेपाल ल्युब आयल लिमिटेडका संचालक समितिका सदस्य र अन्य प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टनरको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी दिनहरूको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। यस कार्यक्रम विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका गल्फका पार्टनरलाई सम्मान गरिएको थियो।
यस अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू १९ क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ। नेपाली क्रिकेटमा उदाउँदै गरेको प्रतिभा महतोले हालै आईसीसी यू १९ महिला विश्वकप २०२५ को ‘बेस्ट १२’मा स्थान बनाउन सफल हुँदै उक्त सम्मान प्राप्त गर्ने एकमात्र एसोसिएट राष्ट्रकी खेलाडीको रूपमा इतिहास रचेकी छन्।

कम्पनीका अनुसार पूजा महतो नेपाली क्रिकेटको उदयीमान तारा हुन्। उनको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाईमा पुर्याएको छ। यो सहकार्यले कम्पनी र महतो दुवैलाई मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटसमेत लाभ पुग्ने हाम्रो विश्वास छ।
ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि आफ्नो भावना व्यक्त गर्दै पूजा महतोले भनिन्, ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो। जुन उच्च प्रदर्शन र गुणस्तरको लागि परिचित छ। यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु। यसले मलाई मात्र होइन, भविष्यमा अरु महिला क्रिकेटरलाई पनि यस्तै अवसर मिल्ने प्रेरणा दिनेछ भन्ने आशा गर्दछु।’
कम्पनीका एमडी र सिईओ तथा नाडाका अध्यक्ष करण चौधरीले लुब्रिकेन्सको व्यवसाय धेरै चुनौतीपूर्ण हुँदै गएको बताए। नेपाल ल्युव आयल लिमिटेडले सदैव गुणस्तर, सर्वसुलभ र पार्टनर्सलाई ध्यान दिँदै आएकाले बजारमा गल्फ आगामी दिनमा अझ गतिशील हुने उनको विश्वास थियो।