काठमाडौं। उन्नत लोकतन्त्र मानिने गणतान्त्रिक शासन व्यवस्थामा जनताका गुनासा सुनिने नेतृत्वको सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अहंका कारण निहत्था १९ युवा गोली हानेर मारिए। जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्द खुलाउन माग गर्दै माइतीघर मण्डलाबाट बानेश्वर मार्चपार्स गरिरहेका बेला गोली चलाउने आदेश दिएपछि प्रधानमन्त्री ओली र उनको पार्टी एमाले यतिबेला आन्दोलनकारीकाे टार्गेट बनेको छ।
आन्दोलनलाई भुसोनो मान्ने ओली प्रवृत्तिले अन्ततः सत्ता गुमाउने मात्रै नभई कानुनी कठघरामा समेत उभिनुपर्ने देखिँदै छ। प्रजातन्त्रमा नागरिकका माग सम्बोधन गर्नुको साटो खिसीट्युरी गर्ने र दमनको बाटो अँगाल्ने प्रधानमन्त्रीले सत्ता मात्रै नभएर एमालेलाई पनि रसातालमा पुर्याउने देखिएको छ।
निहत्था युवाको मृत्युपछि सल्किएको आगोले सत्तारुढ एमाले र कांग्रेसका कार्यालय मात्रै नभएर शीर्ष नेताहरूका आलिशान बंगलासमेत आन्दोलनकारीको निशानामा परेका छन्। समाचार लेख्दासम्म एमाले अध्यक्ष केपी ओली निवास बालकोट, कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार आन्दोलनकारीको चपेटामा आइसकेका छन्।
निवर्तमान गृहमन्त्री रमेश लेखक, ओलीका वफादार सञ्चारमन्त्री, अर्थमन्त्रीसहितका निवास पनि जलाइँदै छन्। देशमा सुशासन माग्दै सुरु भएको आन्दोलन सातै प्रदेशका मुख्य सहरमा फैलिइसकेको छ। आज बिहानदेखि जिल्ला–जिल्लामा प्रदर्शन हुन थालेको छ।
सोमबार काठमाडौं र इटहरीमा भएको प्रदर्शनमा १९ जनाको अकाल मृत्यु मृत्यु भएको थियो। कांग्रेस सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान साढे ११ बजेदेखि आगजनी भएको छ। परराष्ट्र मन्त्रीसमेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवा पनि मन्त्री निवासमा नबसी सोही घरमा बस्दै आएकी थिइन्। देउवाको धनगढीस्थति घरमा पनि आगजनी भएको छ।
यस्तै, ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको छ। मंगलबार प्रदर्शनकारीले ऊर्जा मन्त्री खड्काको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा आगजनी र तोडफोड भएको छ। ललितपुरको ढोलाहिटीस्थित गुरूङको घरमा मंगलबार बिहान आगजनी र तोडफोड भएको हो।
मओवादी केन्द्रका अध्यक्ष दाहालको निवासमा पनि तोडफोड भएको छ। खुमलटारस्थित निवासमा तोडफोड भएको हो। १९ युवाको ज्यान लिने दोष लागेका निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ। लेखकको नैकापस्थित घरमा आज प्रदर्शनकारीले सामान निकालेर जलाएका थिए। सो क्रममा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।
यस्तै, ओली निकट एमाले सचिव रघुवीर महासेठको घरमा तोडफोड भएको छ। महासेठको जनकपुरस्थित निवासमा मंगलबार प्रदर्शनकारीले तोडफोड गरेका छन्। आन्दोलनकाकारीले वर्तमान सरकारका मन्त्री निवास र संघसंस्थालाई टार्गेट बनाएका छन्। आरजु देउवा अध्यक्ष रहेको ललितपुरस्थित युलेन्स स्कुलमा पनि आगजनी भएको छ।
यस्तै, एमाले मुख्यालय, कांग्रेस मुख्यालय पनि टार्गेटमा परेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने एमाले झापाको बिर्तामोड पार्टी कार्यालयमा तोडफोड भएको छ।
निहत्था नागरिक मार्ने ओली सरकारको कदमप्रति असहमति जनाउँदै कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् भने कांग्रेस नेता शेखर समर्थक मन्त्रीले पनि केही बेरमा राजीनामा दिँदै छन्।
यसबाट प्रधानमन्त्री ओली एक्लिनेछन् भने नागरिक मृत्युको न्यायिक कठघरामा पनि उभिनुपर्नेछ। नागिरक आवाजमाथि बेवास्ता गर्ने ओली सरकार अन्ततः विघटनकाे डिलमा पुगेकाे छ। एमालेभित्र पनि बैठक बाेलाउन माग बाक्लिँदाे छ। राजनीतिलाई जनताप्रति समर्पण नगर्दाकाे परिणाम लाेकतन्त्रका लागि बलिदानी दिँदै अाएकाे कांग्रेसमेत अान्दाेलनकारीकाे निशानामा पर्नुपरेकाे छ।
दमनकाे बाटाे लिएकै कारण ओली सरकारविरुद्ध जनस्तरबाटै प्रतिराेध सुरू भइसकेकाे छ। जनताले जेनजी अान्दाेलनलाई साथ दिएका छन्। राजनीतिक दलका शीर्ष नेताहरू ज्यान जाेगाएर बस्नुपर्ने अवस्था छ। यसले पनि देखाउँछ, युवा पुस्ताकाे मागलाइर् सरकार वा राजनीतिक दलले बेवास्ता गर्नुकाे परिणाम अहिले छताछुल्ल भएकाे हाे।