काठमाडौं। नेपाल सरकारले अघि बढाइरहेको शिक्षा सुधार अभियानमा संयुक्त राज्य अमेरिकाले सहकार्य र सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच बुधबार भएको शिष्टाचार भेटवार्तामा शिक्षा र खेलकुद क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको हो।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा दुई पक्षबीच नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध, शिक्षा क्षेत्रमा जारी सहकार्य तथा आगामी दिनमा प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षाको विकासका लागि साझेदारी अझ प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले सरकारले विद्यालय शिक्षामा व्यापक सुधार अघि बढाइरहेको जानकारी दिँदै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, व्यवहारिक शिक्षामा जोड, विद्यालय तहदेखि खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने तयारी तथा विद्यालयको भौतिक पूर्वाधार मूल्यांकनका आधारमा बजेट विनियोजन गर्ने योजना रहेको बताएका थिए।
उनले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता अभिवृद्धि, विद्यालय स्वास्थ्य र पोषणजस्ता क्षेत्रमा अमेरिकासँग थप सहकार्य गर्न सकिने प्रस्ताव पनि राखेका थिए।
कार्यवाहक राजदूत अर्बमले नेपाल सरकारले शिक्षा क्षेत्रमा थालेका सुधारका कार्यक्रमप्रति अमेरिका सकारात्मक रहेको उल्लेख गर्दै द्विपक्षीय समझदारीमार्फत आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले सार्वजनिक विद्यालय शिक्षा सुधार, प्राविधिक शिक्षा तथा क्षमता विकासका क्षेत्रमा अमेरिकाले नेपालसँग सहकार्य गर्न सदैव तयार रहेको बताए।
अमेरिकाले विगतदेखि नै अमेरिकी सहयोग नियोग (युएसएआईडी)मार्फत प्रारम्भिक कक्षा पढाइ सिकाइ कार्यक्रम, शिक्षक शिक्षा तथा शैक्षिक क्षमता विकासलगायत क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ। पछिल्लो भेटलाई पनि शिक्षा सुधारमा दुवै देशबीचको सहकार्यलाई थप मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ।