काठमाडौं। जेनजी आन्दोलनका कारण भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि भारतबाट आउने एलपी ग्याससमेत आयात हुन नसक्दा अभाव देखिन थालेकाे छ। तीन दिनदेखि भारतबाट कुनै पनि ग्यास बुलेट नआउँदा एलपी ग्यास अभाव हुन थालेको हो।
एलपी ग्यास उद्योग संघ अध्यक्ष शिव घिमिरेले कैलाली र धनगढी भन्सारमा तोडफोड भएका कारण सिस्टम नै नचल्दा ग्यास बुलेट ल्याउन नसकिएको जानकारी दिए। ‘तीन दिनदेखि भारतबाट कुनै पनि ग्यास बुलेट नेपाल ल्याउन सकिएको छैन,’ अध्यक्ष घिमिरेले भने, ‘सीमामा आएका बुलेट पनि फर्किएका छन्।’
सबै ग्यास बुलेट भारतीय नम्बर प्लेटका रहेकाले पनि सुरक्षा जोखिम हुँदा उनीहरु अहिले नेपाल आउन नमानिरहेको उनकाे भनाइ छ। ‘भन्सार क्लियर गर्ने सिस्टम नै तोडफोड भएकाले कार्यालय सञ्चालन नहुँदा समस्या भएको छ,’ अध्यक्ष घिमिरेले भने, ‘यहाँ भएको तोडफोड र आगजनीको त्रासले भारतीय चालक आउन मानिरहेका छैनन्।’
भारतबाट ग्यास बुलेट आउन नसकेपछि काठमाडौंसहित देशभरमा ग्यास अभाव सुरु हुन थालेको अध्यक्ष घिमिरेको भनाइ छ। अहिले नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा पनि एलपी ग्यास ढुवानीमा समावेश नगरिएको र इन्धन मात्र भनेको कारणले उपत्यकाभित्र ढुवानीमा समस्या भएको उनले बताए।
काठमाडौंमा रहेको स्टक चार-पाँच दिनका लागि मात्र रहेकामा केही खाली हुँदै गएको र उपभोक्ताले पनि चाहिनेभन्दा बढी लिन लागेकाले अभाव सिर्जना भएको हुन सक्ने उनले बताए।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार बेलुकासम्म ३०० बुलेट ग्यास नेपाल आउने उनले जनाए। अहिलेसम्म भन्सार र बैंकिङ च्यानल समस्या भएकाले आयातमा समस्या भएको बताउँदै बिहीबार बेलुकासम्म ग्यास हिँडे अभाव नहुने उनको भनाइ छ।
बिहीबार बैंकहरु पनि खुल्ने र बिलिङका लागि समस्या नहुने बताउँदै नेपाली सेनासँग समन्वय गरेर भए पनि एलपी ग्यास ढुवानी गरेर उपभोक्तालाई दिने बताउँदै हतारिएर आवश्यकताभन्दा बढी ग्यास नलिन उपभोक्तालाई उनले अनुरोधसमेत गरेका छन्।
अहिलेको अवस्थामा देशभरका लागि पर्याप्त एलपी ग्यास रहेको बताउँदै अनावश्यक हल्लाका पछाडि लागेर धेरै ग्यास नलिन उनको सुझाव छ।
अहिले दैनिक रुपमा बढ्दै गएको कर्फ्यु र मुलुकमा बढ्दो अस्थिरतापछि सर्वसाधारणले आवश्यकताभन्दा बढी ग्यास लिन थाल्दा विस्तारै अभाव बढ्दै गएको व्यवसायी बताउँछन्। अहिले ग्यास पसलमा ग्यास लिनेहरुको संख्या बढ्न थालेको बताइन्छ।