काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारणले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको दसैंमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न नसक्ने भएको छ। आगामी दसैंका लागि १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखिएको भए पनि उपत्यकामा दसैंका लागि खसी, बोका तथा च्याङ्ग्रा आपूर्ति गर्न नसकेकाले खाद्य कम्पनी विक्री गर्न नसक्ने भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार जिल्लाका मुख्य बजारहरूमा खसी, बोका तथा च्याङ्ग्राको आपूर्तिका लागि समन्वय गरिए पनि अशान्त परिस्थितिका कारण ल्याउन भने सकिएको छैन। कम्पनीले भदौ १७ गतेदेखि दसैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको थियो। च्याङ्ग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी तथा बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लिएर बुकिङ खुला गरिएको थियो, तर अब सो रकम खाद्य कम्पनीले फिर्ता गर्ने प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए।
जेनजीको आन्दोलनका कारणले ५१ जनाको मृत्यु र दर्जनौं सरकारी तथा निजी कार्यालयमा आगलागी तथा तोडफोड भएको छ। सरकारले पर्वलक्षित सञ्चालनमा ल्याउने सुपथ मूल्य पसलहरू प्रभावित भएका छन्। देशभर सञ्चालन हुने शहरी क्षेत्रका सुपथ मूल्य पसलहरू अवस्था हेरेर मात्रै सञ्चालन हुने भएका छन् भने ग्रामीण क्षेत्रका सहुलियत पसलहरू नियमित सञ्चालन हुने भएका छन्। यही भदौ ३० गतेदेखि सञ्चालनमा आउने शहरी क्षेत्रका सुपथ मूल्य पसलहरूको अवस्था अनिश्चित देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार पर्वका बेलामा वार्षिक मूल्य नियन्त्रण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। यो वर्ष दसैं, तिहार र छठका लागि देशभर १४९ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको योजना थियो। तर २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारणले हालसम्म जारी रहेको निषेधाज्ञा र कर्फ्यूका कारणले प्रभावित हुने सरोकारवालाहरूले बताएका छन्।
च्याङ्ग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी तथा बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लिएर बुकिङ खुला गरिएको थियो, तर अब सो रकम खाद्य कम्पनीले फिर्ता गर्ने प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए।
खाद्य कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भनिएको छ। तर शहरी क्षेत्रमा अवस्था हेरेर मात्रै सञ्चालन गरिने र ग्रामीण क्षेत्रमा भदौ ३० गतेदेखि नियमित रूपमा सो सुपथ मूल्यका पसलहरू सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले बताउँछन्।
"ग्रामीण क्षेत्रको सहुलियत पसल सञ्चालनमा ल्याइने छ, तर मुख्य बजार काठमाडौं, पोखरा, वीरगञ्ज जस्ता सहरहरूमा परिस्थिति हेरेर मात्रै सञ्चालन गरिनेछ," उनले भने।
साल्ट ट्रेडिङले पनि देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भन्दै आफू तयारी अवस्थामा रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताएका छन्। "हाम्रो कार्यालय भएको स्थानमा ३० गतेदेखि सुपथ मूल्य पसल नियमित सञ्चालन हुन्छ," उनले भने, "तर जहाँ घुम्ती पसलका रूपमा सुपथ मूल्यका पसलहरू सञ्चालन गरिने छ, त्यो अवस्था हेरेर मात्रै सञ्चालन गरिनेछ।" उनका अनुसार प्याकेजिङ र आउटसोर्सिङको खाद्य वस्तु संकलन बाँकी रहेको छ।
सरकारले पर्वलक्षित सञ्चालन गर्ने सुपथ मूल्यका पसलहरूबाट विभिन्न खाद्यान्न प्रति किलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट रहेको छ। परिस्थिति अनुसार यी पसलहरू सञ्चालन गरिएपनि मूल्य भने उही रहने सरोकारवालाहरूले जनाएका छन्।
खाद्यले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट चामलमा प्रति किलो ५ रुपैयाँ छुट उपभोक्ताले पाउनेछन्। यस्तै, गहुँ, चिनी, दाल, भटमास, केराउ लगायतका अनाजहरूमा प्रति किलो ५/५ रुपैयाँ छुट उपभोक्ताले पाउने खाद्यले जनाएको छ। यस्तै, चिउरा, आटा, पिठो, मैदा जस्ता खाद्य वस्तुहरूमा प्रति किलो ७ रुपैयाँ छुट पाउनेछन्। यसैगरी जिरा, धनियाँ, चियापत्ती मसलामा प्रति किलो १०/१० रुपैयाँका दरले छुट दिइने खाद्यले उल्लेख गरेको छ। यसैगरी खाने तेल, तोरीको तेल, सनफ्लावर र भटमासको तेलमा ७/७ रुपैयाँ छुट दिइनेछ।
साल्ट ट्रेडिङले पनि देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भन्दै आफू तयारी अवस्थामा रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताएका छन्।
रैथाने खाद्यवस्तुहरूमा १०/१० रुपैयाँ छुट दिइने जनाएको छ, जसमा कर्णालीको सिमी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी तथा बासमती समावेश छन्। यस्तै, साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रति किलो २ रुपैयाँ, चिनीमा प्रति किलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दालमा प्रति किलो ७ रुपैयाँ छुट दिने ट्रेडिङका सूचना अधिकारी राजभण्डारीले बताए।
खाद्यले कोशी प्रदेशका ११ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। मधेस प्रदेशमा तीन स्थानमा, बागमती प्रदेशमा पाँच स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ। यस्तै, गण्डकी प्रदेशमा ७ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ भने लुम्बिनी प्रदेशमा १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ। यस्तै, कर्णाली प्रदेशमा ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ। सुदूरपश्चिममा २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। यसमध्ये काठमाडौं उपत्यकामा कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर, सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ। यसैगरी तीनवटा घुम्ती पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङले जनाएको छ। तर पछिल्लो समयको परिस्थिति हेरेर मात्रै यी पसलहरू सञ्चालनमा आउनेछन्।