काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग व्यवसायमा भएको ठूलो क्षतिप्रति गहिरो पीडा व्यक्त गर्दै पनि व्यवसायीहरूलाई निराश नहुन र पुनर्निर्माणमा लाग्न आह्वान गरेका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत् आफ्नो अनुभूति व्यक्त गर्दै भनेका छन्, “देश बनाउने सपना साँचेर शून्यबाट सुरु गरेको यात्रामा आज म जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण मोडमा छु। अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति हुँदा आँसु थाम्न कठिन भए पनि हाम्रा आत्मबल र हौसला कहिल्यै जल्दैनन्।”
उनले २० हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको आफ्नो व्यवसाय मात्र नभई देशभरका उद्योग–व्यवसाय आक्रमणमा परेका घटनाले सम्पूर्ण निजी क्षेत्रलाई मर्माहत बनाएको बताए। दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका व्यवसायहरू फेरि संकटमा परेको उनले स्मरण गरे।
तर यावत् प्रतिकूलताबीच पनि ढकालले आशा र हौसला नखोसी उठ्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ, थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ। चुनौतीलाई मुलुकको आर्थिक सुधारको अवसरका रूपमा लिनुपर्छ।”
उनले नयाँ पुस्तालाई पनि सन्देश दिँदै निजी क्षेत्र नै मुलुकको अर्थतन्त्रको इन्जिन भएको र कुल रोजगारको ८६ प्रतिशतभन्दा बढी सिर्जना गर्ने शक्तिको रूपमा रहेको बताए। “निजी क्षेत्र बिना समृद्ध नेपाल सम्भव छैन,” उनले जोड दिए।
ढकालले उद्यमी–व्यवसायीहरूलाई निराश नहुन आग्रह गर्दै भने, “आगोले इँटा र काठ जलाए पनि हाम्रो आत्मबल र साहस छँदैछ। गुमाएको सामग्री फेरि जुटाउन सकिन्छ। हामी उद्यमीहरू एक्ला छैनौँ, सबैको दुखलाई आफ्नै ठानी अझ सबल भएर उठ्नुपर्छ।”
उनले भविष्यप्रति आशावादी रहन आग्रह गर्दै निष्कर्षमा भने, “विश्वास गरौँ, सुनौलो विहानी आउने नै छ। आउनुहोस् सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ।”