काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र सिङ्गापुरको इन्फ्राको एसियाको लगानीमा निर्माण सुरु भएको कावेली ‘ए’ जलविद्युत आयोजना अनिश्चित बनेको छ ।
सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी झिझ्याङ्गले काम गर्न नसकेर ठेक्का तोडिएपछि आयोजना अनिश्चित भएको हो । आयोजनाको जडित क्षमता ३७.६ मेगावाट छ ।
गत अप्रिलमा चिनियाँ कम्पनीसँग ठेक्का तोडिएपछि आयोजनाको काम अवरुद्ध भएको छ । आयोजनामा भएको ढिलाइले लागत बढ्ने सम्भावना छ । इलेक्ट्रो मेकानिकलका लागि सीडब्लूटीडब्लू चिनियाँ कम्पनी छनोट भएका थिए ।
बीपीसीको सहायक कम्पनी कावेली इनर्जी लिमिटेडले नयाँ ठेकेदार चयनको प्रक्रिया सुरु गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेरसिंह भाटले बताए । नयाँ ठेकेदारको चयन भएपछि मात्र आयोजनाले गति लिने उनले बताए । उनले ठेकेदार चयन कहिलेदेखि हुन्छ बताएनन् । हालसम्म आयोजनाको २० प्रतिशत काम सकिएको भाटले जानकारी दिए ।
मुख्य ऋण लगानीकर्ता विश्व बैङ्कले तोकेको मापदण्डअनुसार चिनियाँ कम्पनीले काम गर्न नसकेपछि उसलाई हटाइएको उनले बताए । आयोजनामा विश्व बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र अन्तर्राष्ट्रिय विकास निकाय (आइडीए) को ७ अर्ब रुपैयाँ ऋण लगानी रहेको छ ।
सन् २०२१ को मार्चदेखि बिजुली उत्पादन लक्ष्य लिएकोमा अब अनिश्चित भएको छ । ठेकेदार चयन भएपछि आयोजना सम्पन्न हुने नयाँ मिति तय हुने सीईओ भाटको भनाई छ । आयोजना बनाउन १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विश्व बैङ्क समूहबाट सात करोड ८६ लाख डलर लगानी हुनेछ । बाँकी स्वपुँजी (इक्विटी) लगानी हुने छ ।
आयोजनाको कूल लागत ९ करोड ९५ लाख डलर करिब १० अर्ब रुपैयाँ छ । प्रति मेगावाट लागत झण्डै ३० करोड रुपैयाँ छ । यो निजी क्षेत्रबाट निर्माण हुन लागेको सर्वाधिक महंगो आयोजना हो । आयोजना ७७.५ ऋण र २२.५ प्रतिशत स्वपुँजी लगानी छ । काबेलीमा बीपीसीको ५६ र सिङ्गापुरको इन्फ्राको एसियाको ४४ प्रतिशत सेयर लगानी छ ।
आयोजनाका लागि आइडीएले ४ करोड, आइएफसीले ३ करोड ८१ लाख १२ हजार डलर ऋण उपलब्ध गराएका छन् । हाइड्रोइलेक्ट्रि इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) मार्फत सो ऋण लगानी भएको छ ।
पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने काबेली नदीको पानी प्रयोग गरेर जिल्लाको अमरपुर र पञ्चमीमा आयोजना निर्माण हुनेछ । पाँचथरको अमरपुर–५ ठूलो धुसेनीमा बाँधबाँधी काबेलीको पानी ४.३२ किलोमिटर लामो सुरुङबाट अमरपुर–९ स्थित पिनासीघाटमा खसालिनेछ ।
काबेली ‘ए’ जलविद्युत आयोजना अर्धजलासय (पिकिङ रन अफ दी रिभर) आयोजना हो । प्रतिस्पर्धाबाट बीपीसीले सन् २००६ मा कावेली आयोजना प्राप्त गरेको हो । सस्तोमा बिजुली दिने शर्तमा कावेली बीपीसीले पाएको हो ।