काठमाडौं। अर्थमन्त्रीको रुपमा अर्थविद् रामेश्वर खनालले सोमबार कार्यभार सम्हाले। अर्थसचिवबाट बिदा लिएका उनले सोमबार अर्थमन्त्रीको कार्यभार सम्हालिरहँदा कर्मचारी वृत्तमा ठूलो खुसीयाली देखिन्थ्यो।
खासगरी अर्थ मन्त्रालय र निजी क्षेत्रसँग निकट रहेर अर्थमन्त्री खनालले यसअघि धेरै कामहरु गरेको र अर्थतन्त्र सुधारका लागि आवश्यक प्रतिवेदनहरु समेत तयार पारेर अर्थ मन्त्रालयमा बुझाइसकेका खनाल कार्यन्वयन गर्ने तहमा पुगेपछि निजी क्षेत्र पनि निकै उत्साहित बनेको छ।
नेकपा एमाले र नेपाली कांग्रेससहितको सरकारले उनै अर्थमन्त्री खनाललाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको संयोजक बनाएर आर्थिक सुधारका सुझाव लिएको थियो। तीमध्ये केही सुझावहरु कार्यान्वयन गरे भने अधिकांश सुझावहरु पेण्डिङमा राखेका थिए।
वर्तमान अर्थतन्त्रबारे पूर्ण रुपमा जानकार रहेको व्यक्ति अर्थमन्त्रीको कुर्सीमा पुगेकाले निजी क्षेत्र आशावादी रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं आइजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठको भनाइ छ।
‘निजी क्षेत्र ज्यादै उत्साहित छ। इमान्दार र अर्थसम्बन्धि राम्रो ज्ञान भएको अर्थमन्त्री पाएकोमा निजी क्षेत्रको लागि भाग्यको कुरा हो,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘उहाँको इमानदारिता र काम गर्ने शैलीले निजी क्षेत्रलाई ठूलो टेवा पुग्न सक्छ।’
उसो त समस्यामा परिरहेको निजी क्षेत्रमा जेनजी आन्दोलनसँगै भएको आगजनी र तोडफोडले तनावमा परेको बेला अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थमन्त्री पाएको भन्दै अहिले चौतर्फी रुपमा स्वागत भइरहेको छ। निजी क्षेत्र ज्यादै चिन्तित भएको व्यक्ति भएकाले पनि अहिलेको अवस्थामा राम्रो हुने छ।
भोइथ ग्रुपका अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले निजी क्षेत्रको मात्र समस्या नभई सिंगो अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्रीको रुपमा आएकाले उनको कार्यकाल निकै राम्रो हुने आशा व्यक्त गरे। ‘निजी क्षेत्रका लागि अर्थमन्त्री खनालको कार्यकाल स्वर्णिम युग हुन सक्छ,’ उनले भने, ‘हामीले पनि धेरै माग्ने हैन, उहाँले पनि धेरै कस्नु भएन।’
विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षण गर्नका लागि नीतिगत निर्णयहरु अर्थमन्त्री खनालले गर्ने आशा महासंघका पूर्वअध्यक्ष राणाको विश्वास छ।
एमएस ग्रुपका अध्यक्ष शशीकान्त अग्रवालले अर्थमन्त्री खनालको व्यक्तिगत छविको कारण विश्वसामु बिग्रिदै गएको नेपालको अर्थतन्त्रको सम्बन्ध सुध्रिदै जाने विश्वास व्यक्त गरे।
‘विदेशी दातृ निकायसँग पनि अर्थमन्त्री खनालको राम्रो सम्बन्ध रहेकाले पूर्ण निर्माणका लागि आवश्यक आर्थिक सहयोग जुटाउनेदेखि व्यापार व्यवसाय विस्तारका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास हामीलाई छ,’ अध्यक्ष अग्रवालले भने, ‘पर्यटन क्षेत्रको समस्यामा पनि उहाँले साथ दिनु हुनेछ।’
अर्थ प्रशासनका करिब सबै क्षेत्रमा काम गरेको अनुभव, आन्तरिक उत्पादन, अन्तर्राष्ट्रिय व्यापारलगायतका क्षेत्रमा पछिल्लो समय खनालले अध्ययन अनुसन्धानलाई निरन्तरता दिइरहेका बेला अर्थमन्त्रीकै कार्यभार सम्हाल्ने मौका पाउनु आफैमा खुसीको विषय रहेको महासंघका पूर्वअध्यक्ष भवानी राणाको भनाइ छ। विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षण गर्नका लागि नीतिगत निर्णयहरु अर्थमन्त्री खनालले गर्ने आशा महासंघका पूर्वअध्यक्ष राणाको विश्वास छ।
यति ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले निराश भएको निजी क्षेत्रलाई लगानी गर्ने मनोबल आउने खालका नीतिगत निर्णयहरु गरिदिनुपर्ने बताउँछन्। सबैभन्दा बेतिथि कर्मचारी लेभलमा रहेकाले कर्मचारीलाई चुस्त रुपमा काम गर्न लगाए पनि निजी क्षेत्र उत्साहित भएर काम गर्ने उनको भनाइ छ।
कर्मचारीहरुले विभिन्न बाहनामा दुःख दिने गर्दा लगानीकर्ता हैरान भइरहेको बताउँदै लगानी बोर्डलाई खारेज गरी सीधै उद्योग मन्त्रालयबाट मात्र काम गर्ने वातावरण मिलाउन अनुरोध गरे। लगानी बोर्डसहित विभिन्न निकायले गरेको निर्णय कार्यान्वयन नहुने गरेको र प्रतिबद्धता पूरा नहुने भएकाले लगानी बोर्ड खारेज गरी उद्योग मन्त्रालय मातहतको उद्योग विभागबाटै सबै काम गर्ने वातावरण मिलाउन आवश्यक रहेको बताए।
यता अर्थमन्त्री खनालले कार्यभार सम्हाल्दै गर्दा निजी क्षेत्रलाई लखेट्ने भन्दा समन्वयन गरेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिएका छन्।
एवि होल्डिङ्गसका अध्यक्ष एवं महासंघअन्तर्गतको पर्यटन समितिका सभापति देशबन्दु बस्नेत (अजित)ले जेनजी आन्दोलनको क्रममा पर्यटन क्षेत्रमा ठूलो क्षति भएकाले त्यसमा अर्थमन्त्रालयको तर्फबाट राहतको अपेक्षा गरिएको जानकारी दिए।
‘हिल्टनसहितको अन्तर्राष्ट्रिय ब्राण्डमा भएको आगलागीले अन्तर्राष्ट्रिय रुपमा लगानीकर्ता एवं ब्राण्डमा नकरात्मक सन्देश गएकाले त्यसलाई चिर्न अर्थमन्त्री खनालले विषेश भूमिका निर्वाह गर्नु हुनेछ भन्ने आशासमेत गरिएको छ,’ अध्यक्ष बस्नेतले भने।
यता अर्थमन्त्री खनालले कार्यभार सम्हाल्दै गर्दा निजी क्षेत्रलाई लखेट्ने भन्दा समन्वयन गरेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिएका छन्। राजश्वको सबैभन्दा ठूलो श्रोत निजी क्षेत्र भएकाले कडा रुपमा प्रस्तुत नभई आवश्यक समन्वयकारी भूमिका निर्वाह गरी काम गर्न निर्देशन दिँदै आफ्नो निर्णयहरु पनि त्यही खालको हुने सन्देश दिएका छन्।