काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी प्रर्दशनकारीले कुल १४ सयभन्दा बढी घर तथा भवनमा क्षति पुगेको छ। प्रदर्शनकारीको तोडफोड र आगजनीले १४ हजार ४ वटा निजी घर, व्यवपारिक भवन, संघसंस्था तथा राजनीतिक पाटी कार्यालय क्षतिग्रस्त भएको हो।
प्रर्दशनकारीले आगलागी गर्दा १४२ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन्। यस्तै, एक हजार २६६ वटा आंशिक रुपमा क्षतिग्रस्त बनेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।
‘राजनीतिक पाटीसँग सम्बद्ध व्यक्ति, विभिन्न निकायका उच्च पदस्थका व्यक्ति र सरकारमा रहेका व्यक्तिहरुसँगै निजी व्यापारिक भवन गरेर ३८९ वटा घर तथा भवनहरु क्षतिग्रस्त भएका छन्,’ प्रहरी प्रवक्ता घिमिरेले क्यापिटल नेपालसँग भने, ‘जसमा ९७ वटा पूर्ण र २९२ वटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन्।’
उनका आन्दोलनमा विभिन्न राजनीतिक दलका पाटी कार्यालय र संघ संस्थाको मात्रै एक हजार १९ वटा घर तथा भवन क्षतिग्रस्त भएका छन्। जसमा ४५ वटा पूर्ण र ९७४ वटामा आंशिक क्षति पुगेको छ। प्रदर्शनकारीले देशभर रहेका नेकपा एमाले र कांग्रेसको अघिकांश पार्टी कार्यालयमा तोडफोड गरेका थिए।
जेनजी प्रर्दशनकारी सर्वोच्च अदालत, संसद भवन र सिंहदरबारभित्रका मन्त्रालयसहित देशका महत्वपूर्ण सरकारी संरचनामा ठूलो क्षति पुर्याएका छन्। निजी क्षेत्रका भाटभटेनी स्टोर, सिजी इलेक्ट्रोनिक पार्क, विभिन्न गाडीका शोरुम, होटल र एनसेल कार्यालय जस्ता व्यावसायिक प्रतिष्ठानमा पनि नोक्सानी भएको छ। आन्दोलनमा सार्वजनिक र निजी दुवै क्षेत्रका सम्पत्तिमा आगजनी र तोडफोड गरी ठूलो क्षति पुगेको छ।
जसमा निजी क्षेत्रको मात्रै करिब ८० अर्ब रुपैयाँ बढीको क्षति पुगेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन्। उनले महासंघले प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलको क्रममा देशभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको दाबी गरेका हुन्।
यता, नेपाल बिमा प्राधिकरणले समेत जेनजी प्रदर्शनको क्रममा बिमा गरिएका करिब २१ अर्ब रुपैयाँ बढीको सम्पत्ति क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरिसकेको छ। उक्त तथ्यांक गत भदौ ३१ गतेसम्मको हो।