कठमाडौं। आजदेखि नवरात्र सुरु भएको छ। बडादसैंको पहिलो दिन घटस्थापनासँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहान प्रकाशित गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा मात्रै ४३ हजार बढी मानिस दसैं मनाउन उपत्यका छाडेर थातथलो लागेका हुन्।
आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको अवधिमा ४३ हजार यात्रु बाहिरिएका हुन्। सोही अवधिमा २८ हजार यात्रु उपत्यका भित्रिएका छन्। घटस्थापनादेखि उपत्यका छाड्नेको संख्या अझ बढ्ने अनुमान गरिएको छ।
अधिकांश शैक्षिक संस्था तथा निजी कार्यालयमा दसैं बिदा सुरु भइसकेकाले गाउँ फर्किनेको चाप बढ्ने ट्राफिक प्रहरीको अनुमान छ। सरकारी कार्यालयमा भने फूलपातीको दिनदेखि औपचारिक बिदा सुरु हुनेछ।
ट्राफिक प्रहरीका अनुसार हालसम्म बसपार्क तथा उपत्यकाका नाकामा अवस्था सामान्य छ।
यद्यपि काठमाडौंबाट पश्चिम जाने मुख्य सडक मुग्लिन–नारायणगढ खण्ड शुक्रबारदेखि आइतबार बेलुकी ४५ घन्टासम्म अवरुद्ध यात्रुले बीच बाटोमै कष्ट सहनुपरेको थियो। यद्यपि, आज बिहानदेखि भने उक्त खण्ड सुचारु रहेको छ।
मुग्लिन–नारायणगढसहितका सडक निरन्तर चलाउन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले शनिबार मात्रै सरोकारवालानिकायलाई बोलाएर निर्देशन दिइसकेका छन्।
यस्तै, यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। रुट परमिट खुला गरेसँगै अब रुट नलिईकनै सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन्। यसले पनि यात्रु चाप बढ्ने देखिएकाे हाे।