काठमाडाैं। जेनजी प्रदर्शनका क्रममा जिल्लाको दुईवटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ।
गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक र अनारमनी (विर्तामोड) बाट ९९ थान हतियार लुटिएका थिए। अब २४ थान हतियार फिर्ता हुन बाँकी छ। विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।
दमक र झिलझिले इलाकाबाट चार थान एसएलआर, १० थान इन्सास राइफल, १२ थान थ्रीनटथ्री राइफल, तीन थान सट गन, दुई थान ग्यास गन, तीन थान चाइनिज रिभल्भर र एक थान नाइन एमएम रिभल्भर आन्दोलनकारीले फिर्ता गरेका हुन्। त्यसैगरी, विर्तामोड, दुर्गापुर र शनिश्चरे इलाकाबाट सात थान एसएलआर, १६ थान इन्सास राइफल, छ थान थ्रीनटथ्री राइफल, दुई थान सट गन, चार थान ग्यास गन, तीन थान एसएमजी र दुई थान रिभल्भर आन्दोलनकारीले फिर्ता दिएको उनले जानकारी दिए।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो। त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए। अनारमनी इप्रका (विर्तामोड)बाट लुटिएका अधिकांश हतियार आन्दोलनकारीले तत्कालै मानवअधिकारवादीको रोहवरमा नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीलाई फिर्ता गरेका थिए।
विर्तामोडबाट लुटिएका हतियारमध्ये अब दुई थानमात्र फिर्ता हुन बाँकी छ। तर दमकका धेरै हतियार फिर्ता हुनसकेको छैन। “लुटिएका हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेका छौँ”, सूचना अधिकारी खड्काले भने, “अटेर गरेर नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुन्छ।”