काठमाडौं। पछिल्लो समय बैंकहरूमा लकरको माग ह्वात्तै बढेको छ। गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनपछि बैंकहरूमा बहुमूल्य वस्तु लकरमा राख्ने ग्राहकको संख्या बढ्दा आपूर्तिमा समस्या हुन थालेको हो।
दसैं-तिहारजस्ता चाडपर्वमा चोरी डकैतीका घटनासँगै प्रदर्शनमा लुटपाट हुँदा नागरिकमा असुरक्षा भावना बढाएको छ। यसैले बैंकमा लकर लिनेको संख्या बढ्न थालेको छ।
यस पटक चाडपर्व नजिकिएसँगै प्रदर्शनमा देशभरका विभिन्न कारागारबाट हजारौँको संख्यामा कैदीहरू फरार भएपछि घरमा सुन चाँदीलगायतका बहुमूल्य वस्तुहरू राख्दा असुरक्षित हुने सम्भावना बढेको छ। त्यसैले बहुमूल्य वस्तुहरू घरमा नराखेर बैंकमा राख्न थालेपछि लकरको अभाव हुन थालेको बैंकर्सहरू बताउँछन्।
अघिल्ला वर्षमा चाडपर्व नजिकिएसँगै घरमा भएका बहुमूल्य सामान चोरी डकैती हुने भयमा बैंकको लकर प्रयोग गर्ने ग्राहक बढ्ने गरेको थियो। तर, यस पटक चाडपर्वसँगै आन्दोलनले पनि बढी असुरक्षा महसुस गराएर बैंकहरूमा लकर खोज्ने ग्राहक बढेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘पछिल्लो पटकको प्रदर्शनपछि अहिले बैंकमा लकर खोज्ने ग्राहक बढेको छ। सानो लकर लिनेहरू पनि ठूलो लिन खोज्नुहुन्छ,’ संघका अध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘बैंकहरूलाई ग्राहकको मागअनुसार पूर्ति गर्न सकस छ। यदि, एउटा शाखामा उपलब्ध नभए अन्य शाखामा भएको लकर उपलब्ध गराएर भने ग्राहकलाई सेवा दिइरहेका छौँ।’
अन्य समयमा चाडपर्वमा गरगहना लगाउनेले यस पटकको चाडपर्वमा देखाउनेभन्दा गहना सुरक्षित राख्न खोज्दा माग ह्वात्तै बढेको हो।
घरमा भएका बहुमूल्य सामान बैंकको लकरमा राख्ने ग्राहकहरूको संख्या बढ्दै जाँदा लकरहरूको मागसमेत बढेको उनको भनाइ छ। साथै, काठमाडौं उपत्यकामा घर भएर वा डेरा गरेर बस्ने तर चाडपर्व मनाउन बाहिरी जिल्लामा जानेहरूले पनि घरमै सुनचाँदीको गहना राख्दा असुरक्षित हुने भयमा बैंकमा लकर खोज्न थालेका छन्। अन्य समयमा चाडपर्वमा गरगहना लगाउनेले यस पटकको चाडपर्वमा देखाउनेभन्दा गहना सुरक्षित राख्न खोज्दा माग ह्वात्तै बढेको हो।
लकरको माग विकास बैंकमा समेत बढेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका उपाध्यक्षसमेत रहेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली बताउँछन्।
‘प्रदर्शनपछि लकर लिने ग्राहक केही हदसम्म बढेको छ। सामान्यतया अघिल्लो वर्षमा चाडपर्वको समयमा नयाँ लकर लिने त्यति धेरै हुँदैन थिए। तर, अहिले लकर लिन खोज्ने ग्राहक बढेका छन्,’ संघका उपाध्यक्ष थकालीले क्यापिटल नेपालसँग भने।
लकर सुविधाको प्रयोगले बहुमूल्य सामानको सुरक्षाको जिम्मेवारी बैंकलाई दिन्छ। यसले घरमा चोरी हुने वा सामान हराउने जोखिमबाट मुक्त भइन्छ। बैंकको लकरमा बहुमूल्य गहना, महत्वपूर्ण कागजात र अन्य बहुमूल्य वस्तुहरू सुरक्षित राख्न उपयोगी हुन्छ। यसले आकस्मिक क्षति वा चोरीबाट हुने ठूलो नोक्सानीबाट बचाउँछ।
पछिल्लो पटकको प्रदर्शनमा निजी घरहरूमा तोडफोड गर्नेहरूले त्यहाँ भएका गहना, पैसा चोरी गर्नुका साथै महत्वपूर्ण कागजात जलाएका थिए। यस्ता प्रदर्शन भोलिका दिनमा पनि हुने र आफ्नो घरसमेत आक्रमण भएर चोरी तथा आगजनी भएमा ठूलो नोक्सानी हुने भयमा अहिले बैंकमा लकर लिने ग्राहक बढ्न थालेका हुन्।
लकर खोल्नका लागि दुई वटा साँचोहरू आवश्यक पर्छ। एउटा साँचो ग्राहकसँग हुन्छ भने अर्को बैंकका जिम्मेवार कर्मचारीसँग हुन्छ।
बैंकहरूले कम्पनीको लकर प्रयोग गर्छन्। यी कम्पनीहरूको एक सेटमा ७५ देखि ९० वटासम्म ठूला, मझौला र साना लकर हुन्छन्। जसको मूल्य ३ लाख रुपैयाँदेखि १० लाख रुपैयाँको बीचमा पर्छ।
बैंकहरूले लकरको आकारअनुसार ग्राहकसँग वार्षिक शुल्क लिन्छन्। बैंकहरूमा लकरको वार्षिक शुल्क १५ सयदेखि ७ हजार रुपैयाँसम्म छ। साथै बैंकहरूले लकरको वार्षिक शुल्क ग्राहकको खाताबाट स्वतः काटिने व्यवस्था गरेका हुन्छन्।
यसबाहेक, बैंकको नियमअनुसार लकर लिँदा १० हजारदेखि ३० हजार रुपैयाँसम्म मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट)का रूपमा राख्नुपर्ने हुन्छ, जुन लकर बन्द गर्दा फिर्ता हुन्छ।
नेपालका वाणिज्य बैंक र विकास बैंकह रूले आफ्ना ग्राहकका सामान, गरगहना र महत्वपूर्ण कागजात सुरक्षित राख्न लकर सुविधा प्रदान गर्दै आएका छन्। बैंकहरूले प्रयोगमा ल्याएका लकरको वरिपरी आगो प्रतिरोधी धातु कोट हुँदा एक सय घण्टासम्म आगो लाग्दा पनि केही हुँदैन।
बैंकले लकरको सुरक्षाका लागि उच्च प्रविधि प्रयोग गरेको हुन्छ। यसका साथै लकरमा दोहोरो साँचो प्रणाली, सिसिटीभी निगरानी, अलार्म प्रणाली, २४ घण्टा सुरक्षा गार्ड र ग्राहकको सामानको गोपनीयता कायम गरिएको हुन्छ।
लकर खोल्न दुई वटा साँचो आवश्यक पर्छ। एउटा साँचो ग्राहकसँग हुन्छ भने अर्को बैंकका जिम्मेवार कर्मचारीसँग हुन्छ। ग्राहक र बैंकका कर्मचारी दुवै उपस्थित भएपछि मात्र लकर खोल्न सम्भव हुन्छ।
बैंकले ग्राहकको व्यक्तिगत सामान र विवरणलाई पूर्ण रूपमा गोप्य राख्छ। लकरमा के सामान राखिएको छ? भन्ने कुरा बैंकका कर्मचारीलाई समेत थाहा हुँदैन।
बैंकको लकर कोठा सधैं सिसिटीभी क्यामेराको निगरानीमा हुन्छ। यसले हरेक गतिविधि रेकर्ड गर्छ र कुनै पनि अनधिकृत प्रवेशलाई रोक्न मद्दत गर्छ। बैंकका लकरमा सेन्सरयुक्त अलार्म जडान गरिएको हुन्छ। यसले कुनै पनि अनधिकृत प्रयास वा तोडफोडको अवस्थामा तत्काल सुरक्षाकर्मीलाई जानकारी दिन्छ।
लकर कोठाको सुरक्षाका लागि विशेष तालिम प्राप्त सुरक्षा गार्डहरू खटाइएको हुन्छ। उनीहरूले लकर क्षेत्रमा निगरानी राख्ने र अनधिकृत व्यक्तिलाई प्रवेश गर्नबाट रोक्ने काम गर्छन्।
बैंकले ग्राहकको व्यक्तिगत सामान र विवरणलाई पूर्ण रूपमा गोप्य राख्छ। लकरमा के सामान राखिएको छ? भन्ने कुरा बैंकका कर्मचारीलाई समेत थाहा हुँदैन। यसैले बैंकको लकरको बीमा भने हुँदैन।