काठमाडौं। भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको छ।
क्षतिको विवरण संकलनका क्रममा यो बराबरको क्षति भएको देखिएको हो। बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्ण रुपमा आगजनी गरिएको छ।
१२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ। स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए। भवनभित्र रहेका सबै सामग्री पूर्ण रुपमा आगजनी गरिएको थियो।
त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको छ। नौ वटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ। यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले १२ वटा स्टोर पूर्ण रुपमा जलाइएको, बाँकी नौ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए।
प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक-पटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि ‘टार्गेट’ गरिएको बताएका थिए।
उनले भाटभटेनीमा कार्यरत दश हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए। ‘सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ,’ गुरुङले भने।
प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक-पटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि ‘टार्गेट’ गरिएको बताएका थिए। भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका नौ वटा गरी १९ वटा स्टोरमा चार अर्ब ४० करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्ण रुपमा जलाइएको छ। ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ।