काठमाडौं । चैत मसान्तमा बुझाउनु पर्ने बैङ्कको ब्याज र कर तिर्ने समयलाई सरकारले पछि सारेका बेला नेपाल विद्युत् प्राधिकरण भने चैत महिनामा पनि फागुन महिनामा बुझाएको विद्युत् महशुल सरह भुक्तानी गर्न उद्योग–उद्योगका पत्राचार गरेको छ ।
देशभरका उद्योगमा पत्र पठाउँदै फागुन महिनाम जति भुक्तानी गरेको छ । सोही अनुसार भुक्तानी चैत मसान्तभित्र नै गर्न पत्राचार गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गरेको निर्णयमा थ्री फेज तथा सिंगल फेज ग्राहकको हकमा ती ग्राहकले टिपाएको २०७६ चैतको वास्तविक खपत अंकको आधारमा वा गत २०७६ फागुनको खपत अंक बराबर मिटर रिडिङ वा विलिङ गर्ने उल्लेख छ ।

सरकारले आफैले उद्योगीलाई राहत दिन भन्दै मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउने चैत २५ गतेको समयसीमालाई एक महिना पछि सारेर बैशाख २५ मा पुर्याइसकेको छ । त्यसैगरी बैङ्कको ब्याज बुझाउने चैत मसान्तको समयसीमालाई असार मसान्तमा पुर्याइसकेको छ । तर, सरकारी स्वामित्वको प्राधिकरणले फागुन महिना असुल उपर गरेको महशुल सरह भुक्तानी गर्न उद्याेगीलाई पत्राचार गरिरहेको छ ।
लक डाउनका कारण विगत १४ दिन देखि नेपालमा उद्योग बन्द छन् । तर, प्राधिकरणले फागुन महिना सरह महशुल भुक्तानीका लागि उद्योगीलाई ताकेता गरिरहेको छ ।

‘एकातिर उद्योग चलेका छैनन्, चलेका उद्योग पनि २० प्रतिशत क्षमतामा चलेका छन् । चैत महिनामा उद्योगहरु ८० देखि ९० प्रतिशत क्षमतामा चलेका थिए । त्यो बेला जुन महशुल उठेको छ । अहिले त्यसको ८० देखि ९० प्रतिशत कम उठेको छ । तर, प्राधिकरणले फागुन महिनासरह भुक्तानी गर्न पत्राचार गर्नु अत्यन्तै गैरजिम्मेवार काम हो,’ एक उद्योगीले भने, ‘सरकार कसरी उद्योग बचाउने तर्फ लागेको छ । तर, सरकारी स्वामित्वको प्राधिकरणको नेतृत्व उद्योगधन्दा सिध्याउनेतर्फ उन्मुख छ ।’
प्राधिकरणले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको कारण देखाउँदै मिटर रिडिङ गर्न जान नसकेकाले फागुन महिनामा जुन महशुल लिएको छ । सोही अनुसार लिने निर्णय गरेको हो ।
उद्योगीले आफ्नो मिटर रिडिङमा देखिएको अंक, ग्राहक नम्बर वा आइडि सहित विहान १० बजेदेखि साझ ५ बजेसम्म वितरण केन्द्रमा भुक्तानी गर्न आउन पनि निर्देशन दिएको छ ।
त्यसैगरी, टीओडी मिटर जडान भएका ग्राहकको एएमआर विधिद्वारा मिटर रिडिङ÷विलिङ गरी सो को जानकारी ग्राहकलाई टेलिफोन, एसएमएस, वा इमेलबाट जानकारी गराउने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको २०७६ चैत १४ गते को ८२९ औं बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमणको डरले मिटर रिडिङका लागि प्राधिकरणका कर्मचारी उद्योगमा आउन नसक्ने भए पछि फागुन महिनासरह भुक्तानी तिर्न निर्देशन दिनु गलत भएको विराटनगरका एक उद्योगीले बताए ।
‘आफू मिटर रिडिङ गर्न नआउने अनी उद्योगीलाई फागुन महिनाको सरह महशुल तिर्न ताकेता गर्ने?’ एक उद्योगीले भने, ‘उद्योग उद्योगमा आउने मिटर रिडिङ गर्ने, जति उठेको छ, त्यो हामी तिर्न तयार छौं । तर, प्राधिकरणलाई जे मन लाग्यो त्यही गर्न पाइँदैन । ‘उद्योगीहरु पनि अहिले उद्योगमा जाने वातावरण छैन । कर्मचारी पनि उद्योगमा छैनन्, त्यहाँ गएर मिटर कति उठेको छ भन्ने हामीलाई कसरी थाहा हुन्छ,’ भैरहवाका एक उद्योगीले भने ।