काठमाडौं। नेपालीको श्रम गन्तव्यको रुपमा परिचित दुबई र साउदी अरबमा कामदारका लागि भिसा यथावत राखिएको छ। अर्थात, दुबई र साउदी अरबले कामदार (वर्किङ) भिसा बन्द नगरी कायमै राखेको हो।
भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै जेनजीहरुले गरेको आन्दोलनका कारण दुबई र साउदी अरबले भिजिट मात्र हैन वर्किङ भिसासमेत बन्द गरेको हल्ला चलिरहेको बेला नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले यसबारे जानकारी दिएका हुन्।
उनले पछिल्लो १० दिनमा दुई सयभन्दा बढी युवाहरु रोजगारीका लागि गएको बताए। ‘१० दिनको बीचमा दुई सयभन्दा बढी युवाहरु दुबईमा रोजगारीका लागि गएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘बुधबार पनि केही युवाहरु रोजगारीका लागि गएका छन्, वर्किङ भिसा रोकिएको भन्ने हल्ला मात्र हो।’
हल्ला गरिएको मुलुक साउदी र दुबईमा नियमित रुपमा कामदार रोजगारीका लागि गइरहेको उनको भनाइ छ। मलेसियामा केही वर्षअघि समस्या आएको र हाल नियमित रुपमा कामदार गइरहेको उनले बताए।
‘श्रम गन्तव्यको रुपमा रहेको कुनै पनि मुलुकले हालसम्म नेपालबाट कामदार नलिने भनेर घोषणा गरेको छैन,’ एक मेनपावर व्यवसायीले भने, ‘नियमित रुपमै युवाहरु कामका लागि गइरहेका छन्।’
भ्रमणमा जानेहरुलाई भने दुबईले भिसा दिन कडाई गरेको छ। जेनजी आन्दोलनपछि भएको विध्वसंलाई मध्यनजर गर्दै तत्कालका लागि नेपालीहरुलाई भिजिट भिसामा कडाई गरेको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आधिकारीक रुपमा हालसम्म कुनैपनि मुलुकले रोजगारीका लागि कामदार नलिने भनेर पत्र नआएको बताए। सुरक्षाको कारण देखाउदै केहि मुलुकले रोजगारीमा आउनेहरुलाई समेत नलिने हल्ला चलिरहेको बेला विभागमा भने कुनै पनि जानकारी नआएको उनको भनाइ छ।
‘श्रम गन्तव्य मुलुकहरुले परराष्ट्र मन्त्रालय मार्फत जानकारी आउछ’, महानिर्देशक भट्टले भने, ‘हालसम्म रोजगारी जानेहरुलाई रोकेको कुनै औपचारिक जानकारी छैन, नियमित काम भैरहेको छ।’
विगतको तुलनामा वर्किङका लागि भिसा लगाउन भने केही समस्या भएको व्यवसायीहरुको भनाइ छ। ‘सायद आफ्नो मुलुकको नागरिकहरुको सुरक्षाका लागि हो या कुनै अपराधिक घटनाहरु नघटोस भनेर भिसा दिन केहि कडाई गरेको जस्तो देखिन्छ,’ दुबईमा रोजगारीका लागि पठाउने एक म्यानपावर व्यवसायीले भने, ‘तर, हालसम्म रोकिएको भने छैन।’
भिजिट भिसामा कडाई
भ्रमणमा जानेहरुलाई भने दुबईले भिसा दिन कडाई गरेको छ। जेनजी आन्दोलनपछि भएको विध्वसंलाई मध्यनजर गर्दै तत्कालका लागि नेपालीहरुलाई भिजिट भिसामा कडाई गरेको हो।
यसअघि बंगलादेशमा भएको युवाहरुको आन्दोलनको बेला पनि त्यहाँका नागरिकलाई भिजिट भिसामा कडाई गरेको थियो।