काठमाडौं। जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गतेमा काठमाडौंमा सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट संघको नयाँ कार्य समिति गठन गरिएको छ।
सभाले सर्वसम्मत रूपमा प्रवीण रमण पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्य समितिको गठन गरेको हो। पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत छन्।
संघको विधानअनुसार गठित नयाँ कार्य समितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्य ज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बिमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) छन्।
संघको नयाँ कार्य समितिले आफ्नो कार्यकालमा नेपाली बिमा क्षेत्रको विकास, बिमा सचेतना अभियान, जीवन बिमा कर्मचारीको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बिमा सेवाको सर्वसुलभ विस्तार, बिमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नुपर्ने प्रभावकारी भूमिकामा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।
सभामा संघका सदस्य तथा विभिन्न बिमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा जीवन बिमा क्षेत्रमा देखिएका हालका चुनौती, सम्भावना र संघको भावी रणनीतिबारे छलफल गरिएको थियो।