काठमाडौं। दसैंको छेको पर्खेर मदिरा व्यवसायीले आफ्ना गोदाममा आकर्षक बक्स, सुनौलो प्याकिङ र ‘प्रिमियम’ ट्याग बोकेका महंगा ब्राण्ड सजाएर राखेका थिए। हरेक वर्षजस्तै कर्पोरेट सेक्टरबाट ठूलो मात्रामा अर्डर आउने अपेक्षा थियो। तर, यसपटक त्यो दृश्य उल्टो भयो, गोदाममा बोतल चम्किए, बजारमा भने चमकिएनन्।
दसैं नजिकिँदै गर्दा सामान्य उपभोक्ताले मध्यम तथा सस्तो ब्राण्ड रोजे। तर, ‘लक्जरी’ क्याबिनेट ओझेलमै परे। ‘विगत वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी मदिराको व्यापार खस्किएको छ,’ नेपालमा प्रिमियम ब्राण्डको मदिरा बिक्री गर्दै आएको एक व्यवसायीले भने, ‘जेनजी आन्दोलनपछिको परिदृष्यले दसैंको माहोल उल्टो बनाइदियो।’
चालू आर्थिक वर्षको बजेटमा प्रिमियम मदिरामा भ्याट बढाएपछि महंगिएको मदिराको व्यापार खस्किरहेको बेला दसैंको मुखमा भएको जेनजी आन्दोलन र त्यसपछि भएको विध्वंसको कारण कर्पोरेट सेक्टरले मदिरा उठाउन छोड्दा समस्यामा परेको ती व्यवसायीको भनाइ छ।
प्रायः दसैं र तिहारको बेला कर्पोरेट हाउसले ठूलो मात्रामा मदिरा गिफ्टको रुपमा दिन खरिद गर्ने गरेका थिए। तर, यो पटक जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमा ठूलो क्षति भएपछि कर्पोरेट हाउसले गिफ्ट दिन बन्द गरेपछि त्यसको प्रत्यक्ष असर मदिरा व्यापारमा देखिएको व्यवसायीको भनाइ छ।
सधै प्रिमियम स्कच, ह्विस्की वा वाइनको थोक खरिद गर्ने ठूला कम्पनी र कर्पोरेट ग्राहकले यो पटक हात ताने। खर्च कटौती, कर व्यवस्थापन र ‘गिफ्टिङ कल्चर’मा आएको फेरबदलले उनीहरूलाई महंगा ब्राण्डतर्फ आकर्षित गर्न सकेन।
दसैंको मुखमै देशमा ठूलो दुर्घटना घटेकाले सर्वसाधारण समेत सेलिब्रेट गर्ने मुडमा नरहेको कारणले पनि महंगा मदिराको बजार खुम्चिएको हुन सक्ने एक मदिरा व्यवसायीको भनाइ छ।
एकातिर कर्पोरेट सेक्टरले मदिरा महंगा मदिरा गिफ्ट दिन बन्द गरेको र अर्कोतर्फ होटलमा पर्यटक आगमण न्यून हुँदा मदिराको माग घटेको मदिरा उत्पादक संघका पूर्वअध्यक्ष रवि केसीको भनाइ छ। महंगा मदिराको तुलनामा बियरको माग भने केही मात्रामा बढी रहेको उनले बताए।
दसैंको मुखमै देशमा ठूलो दुर्घटना घटेकाले सर्वसाधारण समेत सेलिब्रेट गर्ने मुडमा नरहेको कारणले पनि महंगा मदिराको बजार खुम्चिएको हुन सक्ने एक मदिरा व्यवसायीको भनाइ छ। एकातिर नेपालको तुलनामा भारतमा धेरै सस्तोमा मदिरा पाइने भएकाले चोरी तस्करीबाट तराईको जिल्लामा धेरै मदिरा आएकाले नेपालको व्यवसायीबाट कम किनेको उनको भनाइ छ।
यता, महंगा मदिराको तुलनामा वाइनको व्यापार पनि केही मात्रामा चम्किएको छ। वाइन उत्पादक संघका अध्यक्ष आश्रय रञ्जितकारका अनुसार गत वर्षको तुलनामा यो वर्ष वाइनको माग धेरै रहेको बताए। मनाङ वाइनका उत्पादकसमेत रहेका रञ्जितकारले मागअनुसारको वाइनसमेत पुर्याउन नसकेको उनको भनाइ छ।