भोजपुर। दसैं नजिकिएसँगै यहाँको बजारमा चहलपहल बढेको छ। केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ।
गाउँगाउँबाट दसैंका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन्।
बजारमा चहलपहल बढेसँगै पसल व्यवसायी पनि व्यस्त भएका छन्। व्यापारीले दसैंलक्षित छुट योजना, नयाँ सामानको भण्डारण र सजावट गरेर ग्राहक आकर्षित गर्ने प्रयास गरेका छन्। दसैंका लागि आवश्यक पर्ने चामल, मासु, मसला, कपडा तथा मिठाइका पसलमा विशेष भीड देखिएको छ।
यससँगै घर फर्कनेको आवतजावत पनि बढेको छ। लामो समयदेखि रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका मानिसहरू आफ्ना परिवारसँग दसैँ मनाउन घर फर्कन थालेका छन्। सार्वजनिक यातायातमा यात्रु चाप बढेको छ भने टिकट अभाव हुने अवस्थासमेत देखिन थालेको छ।
स्थानीयवासीले दसैंले आपसी भेटघाट, मेलमिलाप र खुसीको माहोल ल्याउने भएकाले बजारमा चहलपहल बढ्नु स्वाभाविक भएको बताएका छन्।
भोजपुर सदरमुकामसँगै टक्सार, दिङला, हतुवागढीलगायतका स्थानीय बजारमा पनि हाल चहलपहल बढेको देखिन्छ। दसैंको नजिकिँदै गर्दा गाउँटोलमा पिङ बनाउने, घरसफाइ गर्ने र नयाँ कपडा खरिद गर्ने क्रमले पनि उत्सवको रौनक थपेको छ।