काठमाडौं। पहिले दसैं सुरु हुनासाथ काठमाडौंको सडकदेखि गाउँको चौतारीसम्म उत्साह झल्किन्थ्यो। बजारमा भीड, बुबाआमाले छोराछोरीलाई नयाँ कपडा किनिदिने होड, घर-आँगनमा पिङ ठड्याउने धपेडी-यही दसैंको रौनक हुन्थ्यो। तर, यसपटकको दसैं अर्कै छ।
भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै जेनजीहरुले भदौको तेस्रो साता गरेको आन्दोलनले देशलाई दिएको घाउ अझै ओभाउन सकेको छैन। आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त भएको संरचनाहरुलाई देखावटी रुपमा छोपछाप गरेर चुस्तदुरुस्त देखाए पनि मनभित्रको पीडा कसैले भुल्न सकेका छैनन्।
आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुको परिवारको आखा अझै ओभाएको छैन। सयौंको संख्यामा घाइते भएकाहरुको घाउ थाक्न सकेको छैन। अझै धेरै विरामी अस्पतालकै बेडमा छन्। केही घरमा गएर आलो घाउलाई उपचार गरिरहेका छन्। आन्दोलनका कारण धेरै आमा बुबाको काख रित्तिएको छ भने धेरैको शरीर चोटले भरिएको छ।
मुलुकनै पीडामा परेको कारण यो वर्षको दसैंमा खास रौनक देखिएको छैन। आन्दोलनपछिको विध्वंसले परिवेश बदलिएको छ। अघिल्ला वर्षमा यो बेला न्यूरोडदेखि असनसम्म हिँड्नै गाह्रो हुने खालको भीड हुन्थ्यो। तर अहिले पसलहरू खाली–खाली छन। अटो क्षेत्र सुनसान बनेको छ। नयाँ सवारी साधन किन्ने होडमा हुने ग्राहकहरु यो पटक पर्ख र हेरको अवस्थामा पुगेका छन्।
जेनजी आन्दोलनले ल्याएको मानसिक दबाब पनि कम छैन। तर सबै निराशाभन्दा पनि केही उज्यालो छ।
लक्ष्मी ग्रुपका निर्देशक निराकर श्रेष्ठले जेनजी आन्दोलनपछिको अवस्थालाई नियाल्दा यो पटकको दसैंमा कोही कसैमा पनि खुसीयालीको मुड नदेखिएको बताउँछन्। ‘चाडबाड आउदा खुसीको सेलिब्रेसन हुन्छ,’ निर्देशक श्रेष्ठले भने, ‘दुईसाता अघि मात्र घटेको ठूलो घटनाको घाउ मानसपटलमा घुमिरहेको छ, खुसीयाली गर्ने माहोलनै छैन।’
निर्देशक श्रेष्ठको नजरमा मात्र हैन, उनि जस्तै अधिकांशको नजरमा यो वर्षको दसैंको रौनक हराएको उल्लेख गरेका छन्।
मनोबलमा असर
जेनजी आन्दोलनले ल्याएको मानसिक दबाब पनि कम छैन। तर सबै निराशाभन्दा पनि केही उज्यालो छ। समाजशास्त्रीहरू भन्छन्, दसैं अझै पनि परिवारलाई जोड्ने महत्वपूर्ण पर्व हो। उत्साह घटे पनि परम्पराले बाँध्ने नाताले नेपाली मनभित्र ‘दसैंको अनुभूति’ जोगाइरहेको छ। फेस्टिभ मुडमा धेरै नेपालीहरु नरहेकै कारण विगतको तुलनामा सामान खरिद घटेको खुद्रा व्यापार संघका एक पदाधिकारीको भनाइ छ।
अन्य समयको तुलनामा दसैंको बेला नयाँ सवारी खरिद गर्ने प्रचलन थियो। तर, यो वर्ष जेनजी आन्दोलनपछि भएको तोडफोड र आगजनीको कारण धेरैले अर्डर गरिसकेको गाडी समेत तत्कालका लागि रोकेका छन्। जसको कारण अटो व्यवसायीहरुको दसैं खल्लो भएको टोयोटा गाडी बेच्दै आएको युनाइटेड ट्रेडर्सका अध्यक्ष सुरज वैद्यको भनाइ छ। ‘अहिले माहोलनै खुसी मनाउने खालको नभएकोले गाडी किन्नेहरुको संख्या घटेको हुनसक्छ,’ अध्यक्ष वैद्यले भने, ‘आशा गरौँ अबका बाँकी दिन राम्रो हुनेछ।’
मदिरा उत्पादक संघका पूर्व अध्यक्ष रवि केशीले विगतको तुलनामा यो वर्ष प्रिमियम मदिराको व्यापार खस्किएको बताए।
सवारी साधान मात्र हैन, दसैंको बेला नयाँ मोबाइल समेत खरिद गथ्र्ये। तर, यो दसैंमा धेरैले नयाँ मोबाइल खरिद गर्ने मुड नबनाएको कारणले मोबाइलको व्यापार ओरालो लागेको व्यवसायीहरुको भनाइ छ।
नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष एवं सामसुङ मोबाइलका आधिकारीक बिक्रेता आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राका अनुसार विगतको तुलनामा मोबाइल खरिद गर्नेहरुको संख्या धेरैनै घटेको छ।
‘दसैं तिहारमा नयाँ मोबाइल किन्ने ट्रेण्ड पहिला थियो, व्यवसायीले पनि चाडबाडमा राम्रो हुन्छ भन्ने अपेक्षा राख्ने गरेका थिए,’ अध्यक्ष मल्होत्राले भने, ‘तर, यो पटकको परिदृष्यनै फेरियो, मोबाइल पसहरु सुनसान जस्तै भएको छ।’
मदिरा उत्पादक संघका पूर्व अध्यक्ष रवि केशीले विगतको तुलनामा यो वर्ष प्रिमियम मदिराको व्यापार खस्किएको बताए। ‘रमाईलो गर्ने माहोलनै नभएकोले पनि महंगा मदिरा किन्नेहरुको संख्या घटेको हुन सक्छ,’ पूर्व अध्यक्ष केशीले भने, ‘निजी क्षेत्र पनि सुस्ताएकोले कर्पोरेटहरुले पनि खरिद नगर्दा यो समस्या आएको हो।’