चितवन। नारायणगढ हुँदै काठमाडौं जाने सवारीसाधनलाई चितवनमै रोकिएको छ। शुक्रबार साँझदेखि परेको वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’अनुसार सवारीसाधन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौँ जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकिएको हो।
नारायणगढ मुग्लिन सडक खण्डमा अहिले सञ्चालनमा रहेको छ। केही स्थानमा ढुंगा खसे पनि तत्काल पन्छाउने गरिएको उनले जानकारी दिए।
उनका अनुसार काठमााडौं जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपतकालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार र मुग्लिनमा, भरतपुर महानगरको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएका छ।
सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या हुने भएकाले विभिन्न स्थानमा ‘स्टपिङ प्लान’ बनाएर सवारी साधन रोकिएको हो। बाटो पूर्ण रुपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।
पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन्। आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार आँबुखैरेनीमा करिब दुई/तीन सय सवारीसाधन रोकिएका छन्।
वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे।
कान्ति लोकपथ बन्द
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गरेको उक्त सूचनामा यात्रु तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।