काठमाडौं। निम्बस समूहको ४३ प्रतिशत लगानी रहेको केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडको व्यापार आधा अर्ब रुपैयाँ पुगे पनि कम्पनीको वित्तीय स्थिति भने कमजोर देखिएको छ। इक्रा नेपालले कम्पनीलाई 'बी' रेटिङ प्रदान गर्दै ऋण चुक्ता गर्ने क्षमतामा उच्च जोखिम रहेको औंल्याएको छ।
कुखुराको प्रशोधन व्यवसायमा संलग्न यो कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ४८ करोड ५० लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो। तर, व्यापार बढे पनि कम्पनीको मुनाफा भने नगण्य रहेको इक्रा नेपालको प्रतिवेदनले देखाएको छ।
मङ्सिर २०७७ मा स्थापना भएको यो कम्पनीले पुस २०८१ देखि मात्र व्यावसायिक उत्पादन सुरु गरेको हो। पशु दाना र उपभोक्ता वस्तु क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बटुलेको निम्बस समूहले कुखुरा प्रशोधन व्यवसायमा अगाडि बढ्न फ्रान्चाइज र खुद्रा वितरणमार्फत एकीकरण गर्ने रणनीति लिएको छ।
कम्पनीको वित्तीय स्थिति कमजोर देखिएको छ। कम्पनीको ऋण सेवा क्षमता शून्य दशमलव दुई गुणा मात्र रहेको र कुल ऋणको तुलनामा सञ्चालन आम्दानी निकै कम छ। यसले गर्दा कम्पनीले ऋणको ब्याज तथा साँवा तिर्न नियमित रूपमा सेयरधनीतर्फबाट पुँजी थप्नुपरेको छ।
कम्पनीको तरलता स्थिति पनि चिन्ताजनक छ। बैंकबाट लिएको ड्राइङ पावरको एक सय नौ प्रतिशतसम्म उपयोग भइसकेको छ भने कार्यशील पुँजीको आवश्यकता पनि चालू वर्ष ४४ प्रतिशत रहेको छ। यद्यपि, कम्पनीसँग साउन महिना सम्ममा करिब आठ करोड ५० लाख रुपैयाँ नगद उपलब्ध रहेकाले केही राहत मिलेको इक्राकाे रिपाेर्टमा उल्लेख छ।
धादिङमा रहेको कम्पनीको उत्पादन इकाईमा ५५० टन र बालाजु औद्योगिक क्षेत्रमा रहेको वितरण केन्द्रमा १० टन क्षमताको कोल्ड चेन सुविधा छ। तर, स्थानीय वधशालाहरूसँगको तीव्र प्रतिस्पर्धाले गर्दा मूल्य निर्धारणमा भएकाे गढबडीले मुनाफामा घटेकाे कम्पनीले जनाएको छ।
गत जेठ २०८१ मा निजी कम्पनीबाट लिमिटेडमा रूपान्तरण भएको यो कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पुँजी जुटाउने योजना बनाएको छ। आईपीओबाट प्राप्त रकमबाट ऋण घटाउने योजना रहेको कम्पनीले जनाएको छ, जसले पुँजीकरणमा सुधार आउने अपेक्षा गरिएको छ।
कम्पनीले आन्तरिक नगद प्रवाहबाट ऋण व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नु अत्यावश्यक रहेको रेटिङ एजेन्सीले जनाएको छ।