काठमाडौं। भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ।
काठमाडौंबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौं आउने छ। यद्यपि, यात्रु संख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ।
निगमले आरए १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याउन लागिएको हो।
वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ।
उक्त उडानमा काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार भाडादर तोकिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए।
उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य संख्याका यात्रु उडानको प्रतीक्षामा छन्।
‘विमानस्थलमा धरै यात्रु छन्। विमानको सिट सीमित छ। केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ। उडान थपेर यात्रुलाई गन्तव्यमा पुर्याउन विमानस्थल लागिपरेको छ,’ महाप्रबन्धक तिवारीले भने।