काठमाडौं। यस वर्षको दसैंमा फलफूल व्यापारी निराश बनेका छन्। हरेक वर्ष दसैंमा फलफूल खपत बढ्ने भए पनि यो वर्ष माग घटेकाले व्यापारी निराश भएका हुन्। दसैंको अवसरमा फलफूलको माग घट्दा व्यापारमा भारी गिरावट आएको छ।
चिनियाँ नाकाबाट सामान्य अवस्थामा दैनिक आउने फलफूलका कन्टेनर यसपालि सहज रुपमा आउन सकेनन्। जसका कारण व्यवसायीहरुलाई करोडौं घाटा परेको हो।
दसैंको समयमा नेपाली बजारमा स्याउ, अनार, नास्पातीलगायतका फलफूलको मागको ठूलो हिस्सा उत्तरी छिमेकी मुलुक चीनबाट आयात हुने गर्दछ। तर, विभिन्न कारणले उत्तरी नाकाहरू पूर्ण रुपमा सहज सञ्चालनमा आउन नसक्दा आयातमा भारी कटौती भएको छ।
उत्तरी छिमेकी चीनसँगका मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी सहज रुपमा संचालन नहुँदा व्यवसायीहरुले करोडौंको घाटा बेहोर्नु परेको हो। दसैंमा फलफूलको राम्रो व्यापार हुने आशमा रहेका व्यवसायीले यस पटक विगतका वर्षहरूको तुलनामा आधाभन्दा कम व्यापार गरेको व्यवसायीहरु बताउँछन्।
कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले यो वर्ष फलफूलको व्यापार विगतको तुलनामा अत्यन्तै नाजुक भएको बताउँछन्।
विशेष गरी चिनियाँ नाकामा आएको अवरोध, बाटोको समस्याका कारण सामान बिग्रिनु र आम उपभोक्तामा देखिएको आर्थिक संकटका कारण फलफूल व्यवसायको व्यापार कम भएको छ।
कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले यो वर्ष फलफूलको व्यापार विगतको तुलनामा अत्यन्तै नाजुक भएको बताउँछन्। ‘यस वर्ष फलफूलको व्यापारको अवस्था नाजुक छ। बाटो बन्द हुँदा कुहिने, सड्ने भएको छ,’ उनले भने, ‘यो दसैंमा सोचेजस्तो व्यापार भएन। यस वर्ष विगतको तुलनामा आधा पनि व्यापार छैन।’
अध्यक्ष बानियाँका अनुसार यस वर्ष बाढी पहिरोका कारण चिनियाँ नाका बन्द हुँदा समयमा नै सामान आयात गर्न नसक्दा धेरै असर पुगेको छ। साथै, अहिले मानिसमा उत्साह र खर्च गर्ने क्षमता पनि निकै घटेको देखिएको छ।
‘नेपाली किसानले उत्पादन गरेको केरा बजारमा बिक्री नहुँदा फाल्नुपर्ने स्थिति आएको छ,’ अध्यक्ष बानियाँ भन्छन्, ‘मैले टीकापुरबाट पाँच गाडी केरा ल्याएको थिए। यहाँ ल्याउँदा पाकेर सबै बिग्रियो। पाँच लाख रुपैयाँ घाटा भयो। भारतबाट आयातित केराको अवस्था पनि उस्तै छ। गुणस्तर कमजोर भएका कारण बजारमा माग कम छ।’ चाडपर्वको बेलामा जुन हिसाबले फलफूल बिक्थ्यो त्यो हिसाबले केही पनि नबिकेको बानियाँको भनाइ छ।
यस वर्ष कुनै पनि सामानको मूल्य बढ्ने भएन बरु घट्यो। केही मात्रामा नेपालको मुस्ताङ स्याउले भने जस्तो रेट पाएको बानियाँले बताए। व्यापारको हिसाबले कोही पनि व्यवसायी खुसी नभएको उनको भनाइ छ।
त्यसको सीधा असर व्यवसायमा पर्यो। दसैंको समयमा बजारमा आइपुग्नु पर्ने फलफूलका सयौँ कन्टेनर समयमा ल्याउन नसक्दा अघिकांश फलफूल कुहियो।
नेपालले ठूलो परिमाणमा स्याउ, किबी, नस्पाती, ड्रागन फुडजस्ता फलफूल चीनबाट आयात गर्छ। तर, यस वर्ष रसुवागढी र तातोपानी जस्ता मुख्य नाकाहरू बाढी, पहिरोका कारण बारम्बार अवरुद्ध हुँदा व्यवसायीहरुले भनेको समयमा सामान ल्याउन सकेनन्। त्यसको सीधा असर व्यवसायमा पर्यो। दसैंको समयमा बजारमा आइपुग्नु पर्ने फलफूलका सयौँ कन्टेनर समयमा ल्याउन नसक्दा अघिकांश फलफूल कुहियो।
यस वर्षको दसैंमा फलफूल व्यवसायमा करोडौं रुपैयाँ डुबेको कुलेश्वर फलफूल बजारका उपाध्यक्ष माधव चौलागाई बताउँछन्। ‘यो वर्ष फलफूलमा करोडौं डुबेको छ। यस वर्षको दसैंमा फलफूल व्यापार ठप्प भयो,’ उनले क्यिापिटल नेपालसँग भने, ‘मैले काम गरेको ३० वर्षको इतिहासमा सबैभन्दा व्यापार नभएको वर्ष यही नै हो।’ सडकको खराब अवस्था, नाका बन्द र लामो ढुवानीका कारण आयात गरिएका फलफूल ठूलो मात्रामा कुहिएर फाल्नु परेको उनले बताए।
चौलागाईका अनुसार व्यपारीहरुले तातोपानी केरुङको बाटो बन्द हुँदा सबै सामान सिपबाट हाले सिपबाट आउँदा कुनै सामान १५ दिन र कुनै २ महिना लाग्यो। त्यति लामो समय लगाएर फलफूल आउँदा सबै कुहिएर काम नलाग्ने भएको उनको भनाइ छ।
तातोपानी नाका कहिलेकाही बिचबिचमा खुल्दा एउटा गाडीलाई एक डेढ लाख रुपैयाँ बढी तिरेर भारी बोकाएर ल्याए पनि सबै बिग्रयो। त्यसका कारण यस वर्ष फलफूल व्यवसायीहरु धेरै पीडामा रहेको जानकारी उनले दिए। यस वर्ष नेपालको मुस्ताङ स्याउले मात्रै राम्रो रेट पाए पनि समग्रमा व्यापारको हिसाबले कोही पनि व्यवसायी खुसी नभएको व्यवसायीहरू बताउँछन्।
नेपालमा हरेक वर्ष करोडौं रुपैयाँ बराबरको स्याउ चीनबाट आयात हुन्छ। यसको ठूलो हिस्सा उत्तरी नाका हुँदै भित्रिने गरेको थियो। तर, नाकाहरू पटक-पटक बन्द हुने र आंशिक रूपमा मात्र खुल्ने समस्याले व्यापारीले फलफूल आयात गर्न समुन्द्री मार्ग प्रयोग गर्न बाध्य भएका छन्।