काठमाडौं। गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ। मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दिएर प्रहरीले जाँचबुझ आयोगमा पठाएसँगै राजनीति फेरि तातिएको छ। यद्यपि जेनजी प्रदर्शनका क्रममा भएको क्षतिसँग सम्बन्धित कारबाहीबारे गृह मन्त्रालय र न्यायिक जाँचबुझ आयोगबीच मतभेद बाहिर आएको छ।
फौजदारी कसुरमा संलग्नमाथि तत्काल कारबाही अघि बढाउने विषयमा मन्त्रालयले आयोगको प्रतिवेदन कुर्नुपर्ने भनेको छ भने आयोगले प्रतिवेदन नपर्खी अनुसन्धान गर्न सकिने बताएको छ। जेनजी आन्दोलनका बेला विध्वंस मच्याउनेमाथि प्रहरीले कारबाही गरिरहेको, गौरीबहादुर कार्की नेतृत्वको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा फौजदारी कसुरमा संलग्नलाई सरकारका संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने भनिरहेका बेला गृह मन्त्रालयले ९ असोजमा विज्ञप्ति जारी गर्दै ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अघि नबढाइने’ भनेको थियो।
गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार, संसद्, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतलगायत संरचना जलाउनेमाथि कारबाही नगर्न प्रहरीले आदेश दिएपछि छानबिन आयोगसँगै प्रहरी संयन्त्रसमेत निष्क्रिय देखिएका छन्। आगलागी र लुटपाटमा संलग्नलाई कारबाही नगर्न गृहमन्त्रीले निर्देशन दिएसँगै जेनजी आन्दोलनबाट सत्ताच्युत हुन पुगेको एमालेले भ्रातृ संगठनलाई सडकमा ल्याएर नाराबाजी गर्न लगाएपछि राजनीति झनै अन्योलनमा पर्ने देखिएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएको भनिए पनि मंगलबार रातैभर चार वटा सुरक्षा निकालय प्रमुखले हालका पक्राउ गर्नुअघि सुरक्षा विश्लेषण हुनुपर्ने र यसले थप राजनीतिक अस्थिरता निम्ताउने सुझाएको बुझिएको छ।
जेनजी आन्दोलनमा पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्रीले सत्ता बचाउन गरेको हर्कतका कारण करिब ६ दर्जन निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको घटनालाई चटक्कै बिर्सिन सकिँदैन। तर, भीडले कानुन बनाउने र राजनीति लहडमा अपराधकर्ममा लागेकालाई कारबाही गर्न थालिए त्यसले झनै जोखिम निम्ताउने निश्चित छ।
जेनजी प्रदर्शनको अगुवाई गरेको दाबी गर्ने ‘हामी नेपाली’ गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङसहितको समूह सोमबार ओली र लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित उजुरी लिएर प्रहरी कार्यालय पुगेको थियो। तर, प्रहरीले उनीहरूको उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो।
ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब बढेपछि चारै सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन्। जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गर्दा उत्पन्न हुन सक्ने परिस्थितिबारे छलफल भएको थियो।छलफलमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।
स्रोतका अनुसार करिब बिहान ३ बजेसम्म चलेको बैठकमा ओली र लेखक पक्राउ पर्दा थप रक्तपात हुन सक्ने र स्थिति नियन्त्रण बाहिर जाने ब्रिफिङ सुरक्षा प्रमुखले गरेको बुझिएको छ। सरकारले जेनजी प्रदर्शनका क्रममा भएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। तर, जेनजीको दबाबका कारण सरकारले आयोगको प्रतिवेदन बुझ्नुअघि नै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने अवस्थासम्म पुगेको छ।
आन्दोलनका क्रममा प्रमुख प्रशासनिक निकाय सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत सयौँ सरकारी तथा निजी संरचनामा आजगनी, तोडफोड र लुटपाटबाट भएको क्षतिको पूर्ण विवरण अझै तयार हुन सकेको छैन। आयोगले आन्दोलनका क्रममा सरकारी दमनसँगै अराजक र आपराधिक समूहले सुरक्षार्थ तैनाथ हतियारविहीन प्रहरीमाथि गरेको क्रूर हत्या, आगजनी, तोडफोड र लुटपाटबारे छानबिन सुरु गरिसकेका बेला गृहमन्त्रीको अड्कोले अन्योल सिर्जना भएको छ।
जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका नेताका घरसहित उद्योग, व्यवसाय प्रतिष्ठानमा आगजनी हुँदा अर्बौं रुपैयाँ क्षति अनुमान गरिएको छ। लुटपाटमा संलग्नलाई कारबाही नगर्न गृह मन्त्रालयले यसअघि जारी गरेको सूचनाले प्रहरीलाई थप अन्योलमा पारेको छ ।
पछिल्लो समय एमाले अध्यक्ष ओलीसहित भ्रातृ संगठनले जेनजी आन्दोलनलाई आतंककारी समेत भनेका छन्। यसले पनि राजनीति झनै अन्योल दिशामा जाने संकेत गरेको छ। एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध आगजनीमा संलग्न रहेको दाबीसहित प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएर राजनीतिलाई झनै धमिल्याएको छ।
आगामी फागुनमा चुनाव गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरणको जिम्मेवारी पाएको वर्तमान सरकारले राजनीतिक दलसँग वार्ता गरेर सहमतिमा जानुका साटो मुठभेडतिर जाने संकेतले अस्थिरता निम्ताउनुबाहेक अन्य काम गर्ने छैन।
ओली सत्ताच्युत हुनुपरेको पीडामा कांग्रेस भने मौन छ। कांग्रेसले लोकतान्त्रिक विधिबाट मात्रै चल्न कार्की नेतृत्वको सरकारलाई सुझाएको छ। सभापति शेरबहादुर देउवा र पत्नी आरजुले कुटाए खाए पनि कांग्रेसले जेनजी प्रदर्शनमा भएको हत्याहिंसा, आगजनी र लुटपाटमा संलग्न जोसुकैलाई कारबाही गर्न आग्रह गर्दै आएको छ। यसमा तत्कालीन गृहमन्त्री रमेश लेखककाे बचाउ गरेकाे देखिँदैन।